ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वीरगञ्ज नाकाबाट सवा ७ खर्बको वैदेशिक व्यापार, सबैभन्दा बढी निकासी भारतमा

२०७९ असार, ८  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को ११ महीनामा करीब सवा ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापार परिमाणका आधारमा देशकै ठूलो नाका वीरगञ्जबाट ७ खर्ब १८ अर्ब रुपैयाँको व्यापार भएको हो । 

वीरगञ्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार आयात करीब साढे ६ खर्ब रुपैयाँको भएको छ । यो अवधिमा ६ खर्ब ४१ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात ७६ अर्ब रुपैयाँ पुगेको तथ्यांक छ । 

यो नाकाबाट मात्रै ५ खर्ब ६५ अर्ब रुपैयाँको व्यापारघाटा देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । यो वर्षको असारदेखि जेठसम्ममा अघिल्लो वर्षको सोही अवधिको भन्दा ४३ प्रतिशतले व्यापार बढेको छ । 

अघिल्लो आवको ११ महीनामा ५ खर्ब रुपैयाँबराबर व्यापार भएको भन्सारको तथ्यांकले देखाएको छ । यस वर्ष आयात ४१ र निर्यात ७३ प्रतिशतले बढेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । अघिल्लो वर्षमा आयात ४ खर्ब ५६ अर्ब र निर्यात ४४ अर्ब रुपैयाँको थियो । वीरगञ्ज भन्सारबाट यो अवधिमा इन्धन, औद्योगिक कच्चा पदार्थ र सवारीसाधनको आयात बढी छ । यो नाकाबाट तयारी कपडा पनि उल्लेख्य परिमाणमा भित्रिएको छ । 

निर्याततर्फ प्रशोधित खानेतेलको वर्चस्व छ । अन्तरराष्ट्रिय बजारमा मूल्यको उतारचढाव र तेल आयातमा भारतले शुल्क घटाए पनि खानेतेल निकासी सूचीको अग्रस्थानमै छ । बारा र पर्साका १ दर्जनभन्दा बढी तेल उत्पादकले यो नाकाबाट निकासी गर्दै आएका छन् । तेलका अलावा जुस, कपडा, धागो, पिना, जुत्ता, दन्तमञ्जन, गलैैंचा, कार्पेट, छालालगायत वस्तु पनि यो नाकाबाट निर्यात हुन्छ । 

यो भन्सारबाट बितेको ११ महीनामा सबैभन्दा बढी निकासी भारतमा भएको छ । भारतमा ७२ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको तथ्यांक छ । यो अवधिमा भारतबाट ४ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु भित्रिएको छ । 

व्यापार परिमाणका आधारमा दोस्रो ठूलो साझेदार चीन हो । चीनबाट ४० अर्ब रुपैयाँको मालसामान ल्याएको देखिन्छ भने चीनतर्फको निकासी २ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x