असार ८, बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष धन बहादुर विकले सोमवार दोस्रो गाउँसभा पहिलो अधिवेशनमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, उद्योग, पर्यटन, आर्थिक विकास र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएका छन् ।
गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको छ । अध्यक्ष विकले पालिकामा व्यावसायिक पशुपालनलाई वृद्धि गरी दुग्ध संकलन केन्द्र स्थापना गर्ने, दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गर्ने, नर्सरी निर्माण गरी आवश्यक बीउ तथा बिरुवा उत्पादन गरिने, बाँझोे जग्गालाई खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, फलफूलको बिरुवा रोपण गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
गाउँपालिकाले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने प्रतिवद्धता गरेको छ । यस्तै शिक्षातर्फ नै एक शिक्षण संस्था एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।
गाउँपालिकाले जनप्रतिनिधि तथा सरकारी सेवामा कार्यरत कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा अध्यापन गराउनु पर्ने, गाउँपालिका स्तरीय सामुदायिक पुस्तकालय स्थापना गरिने कोरोनाका कारण पढाइ अबरुद्ध भएका बालबालिकालाई परिपुरक शिक्षा कार्यक्रम सञ्चालन गरिने र गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा शैक्षिक सुदृढीकरण कार्यक्रम र कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
उद्योग वाणिज्यतर्फ नेपाली कागज अल्लो, धागो तथा निगालोबाट निर्मित वस्तुहरु उत्पादनका लागि सिप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै संघ तथा प्रदेश सरकारसँगको समन्वयमा निजी तथा सार्वजनिकस्थल तथा सामुदायिक क्षेत्रमा रहेका स्ल्याप ढुंगा उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गाउँपालिकाले ग्रामीण पर्यटकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एक वडा एक पर्यटकीय गन्तव्य विकास गर्ने, करीमेलालाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्ने, स्थानीय मेला पर्वहरुलाई पर्यटन प्रवर्द्धनसँग आबद्ध गर्ने कार्यक्रम ल्याइएको छ ।
निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाइने प्रत्येक स्वास्थ्य चौकीमार्फत कार्यक्षेत्रमा घरदैलोमा पुगेर स्वास्थ्य बीमा गराउने, सबै स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर स्थापना र आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउने र सेन्टरमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिइने व्यवस्था छ । पूर्वाधारमा चक्रपथ निर्माणदेखि सडक सञ्जाल निर्माण गर्ने र पर्यटन विकासका लागि सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइएको छ ।