असार ८, काठमाडौं । नेपाल आयल निगम NOC का कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरे ।
उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचीत गर्नुपर्ने बताए ।
कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत् महसुल तिरेर कसैले इन्डक्सन चुलो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताए ।
उनले नेपाल विद्युत् प्राधिकरण NEA को महसुलभन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए। उनले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको र यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताए । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सृजना भइरहेको पनि उनले बताए।
उनले नेपाल आयल निगम प्रतिसिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास विक्री गर्न बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।