असार ८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा गणपति झाले जागिर अवधिमा ४ करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार उक्त रकममध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गाविस सचिवबाट सार्वजनिक सेवा प्रवेश गरेका झाले २०७८ सम्म आइपुग्दा ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेको अख्तियारले दावी गरेको छ । जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।
उनको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचारमार्फत आर्जन गरेको भन्दै अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न पनि माग गरेको छ ।
उनले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो । अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनका लागि खर्च गरेको अख्तियारको भनाइ छ ।