कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी शुरुआत गरिएको छ । लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी शुरू गरिएको हो ।
लोकाहा क्षेत्रमा करीब १८० बिगाहा जग्गा रहेको र सो जग्गा औद्योगिक क्षेत्रका लागि छुट्ट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका अधिकृत धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले आठजना कर्मचारी खटिएर जग्गाको नापी गरिरहेका छन् । औद्योगिक क्षेत्रका लागि भनिएको जग्गाको स्रेस्ता, फिल्डबुक, नक्सा र पुर्जा तयार गरी सरकारको नाममा ल्याउने गरी काम चलिरहेको नापी अधिकृत श्रेष्ठले बताए । ‘अहिले नेपाल सरकारको नाममा जग्गा प्राप्तिका लागि नापीको काम चलिरहेको छ,’ उनले भने, ‘अबको दुई हप्तामा नापीको काम सक्छौं ।’ गण्डकी प्रदेशकै तराईको जिल्लाका रूपमा रहेको नवलपुरमा अहिले पनि उल्लेख्य राजस्व संकलन हुने गरेको छ । रासस