ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

११ महीनामा १७ सय बिजुली गाडी आयात

२०७९ असार, ९  
समाचार
Image Not Found

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढ्न थालेको छ । गतवर्षसम्म न्यून रहेको विद्युतीय गाडीको आयात चालू आर्थिक वर्ष (आव) मा उल्लेख्य बढेको हो । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ११ महीनामा १७ सय थानभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागका अनुसार गत साउनदेखि जेठसम्ममा १ हजार ७०४ विद्युतीय गाडी नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको ११ महीनाको तुलनामा चालू आवमा विद्युतीय सवारीसाधनको आयात ७०० प्रतिशतले बढेको छ । गत आव २०७७/७८ को ११ महीनामा २१३ विद्युतीय सवारीसाधन आयात भएका थिए ।

विभागको तथ्यांकअनुसार चालू आवमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएको छ । यस्तै यूकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८ गाडी नेपाल आएका छन् । यूकेबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र यूकेबाटै ३०० किलोवाटभन्दा बढी क्षमताका २ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

पाँच अर्बका गाडी भित्रिए

चालू आवको ११ महीनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म १ हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा ५ अर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ विदेशिएको छ । उक्त संख्याको विद्युतीय गाडी आयातबाट सरकारले १ अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।

मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारीसाधन आयात खुला राखेको थियो । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x