ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पोखरा महनगरपालिकाको नीति तथा कार्यक्रम : बजार क्षेत्रका तारलाई भूमिगत गर्ने योजना

२०७९ असार, ९  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार ९, कास्की । पोखरा महनगरपालिकाले आगामी दुई वर्ष भित्र मुख्य सहरी क्षेत्रका बिजुली र टेलिफोनका तार हटाएर भूमिगत बनाउने भएको छ ।

मेयर धनराज आचार्यले पोखरा महानगरको ११ औं नगरसभामा आर्थिक बर्ष २०७९/ ०८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दुई वर्ष भित्र पोखरा क्षेत्रका अव्यवस्थित तारलाई हटाएर भूमिगत बनाउने बताए ।

यसअघि पनि २०७४ सालमा पोखराको तत्कालिन मेयरमा मानबहादुर जिसी निर्वाचित भएपछिको नीति तथा कार्यक्रममा बिजुली र टेलिफोनका तार हटाएर भूमिगत बनाउने उल्लेख गरिएको थियो ।तर, उनले पाँच वर्षको कार्यकाल सकिएर बिदा हुँदासमेत पोखरा क्षेत्रका तार यत्रतत्र अस्तव्यस्त अवस्थामा रहेका छन् । अहिले नबनिर्वाचित मेयर आचार्यले पनि निवर्तमान मेयर जिसीको तार भूमिगत गर्ने योजनालाई निरन्तरता दिएका छन् । 

मेयर आचार्यले आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्यूनिकरण गरिने बताए ।

त्यसैगरी उनले महानगरले प्रत्येक आर्थिक वर्षको पहिलो ६ महीनाभित्र ३ हजार जनालाई रोजगार दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले प्रत्यक बर्ष प्लस टु तह अध्ययन सकेका युवालाई लक्षित गर्दै इलेक्ट्रिसियन, भेटेनरी, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, कृषि स्रोत व्यक्ति, जडीबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इम्ब्रोइडरी, वेबपेज डिजाइन, भिडियो एडिटिङ, वेटरलगायतका सीप तथा तालिम दिइने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । 

त्यसैगरी मेयर आचार्यले पोखरामा व्यवस्थित बसपार्क निर्माण गर्नका लागि अव्यवस्थित बसोबासलाई उचित व्यवस्था गरेर प्रक्रिया अगाडी बढाउने बताएका छन् । उनले आर्थिक वर्ष २०७९/ ०८० मा बसपार्कको क्षेत्रफल यकिन गरेर अव्यवस्थित बसोबासीलाई बहुतले भवन बनाएर स्थानान्तरण गर्ने उल्लेख गरे ।

उनले पोखरा ३३ लामेआहालमा रहेको बसपार्कलाई पोखरा बसपार्क र पृथ्बीचोकमा रहेको पुरानो बसपार्कलाई सिटी बसपार्कका रुपमा अगाडी बढाउने घोषणा गरे ।
मेयर आचार्यले पोखराको अर्को बागलुङ बसपार्कलाई बिन्ध्यवासीनी बसपार्कका रुपमा नामाकरण गरिने बताए ।  

त्यसैगरी मेयर आचार्यले पोखराका मुख्य र साँघुरा चोकहरुमा फ्लाई ओभर, अन्डरपास बनाउने लगायतका योजना नीति तथा कार्यक्रममा समाबेश गरेका छन् । उनले जनगुनासो सुन्न र समाधान गर्नका लागि हेल्लो मेयर कार्यक्रम एक महीनाभित्र सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । त्यस्तै उनले प्रत्येक सामुदायिक बिद्यालयहरुले आफ्नो प्राङगणमा अनिवार्यरुपमा फलफूलकाका विरुवा रोप्नु पर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । 

त्यसैगरी नीति तथा कार्यक्रममा दीगो पर्यावरणमैत्री विकास, सामाजिक न्याय, सुशासन र प्रविधिमा जोड दिइएको छ । ५ वर्षभित्र पोखरालाई दूध,अण्डा, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउने मेयर आचार्यले उल्लेख गरे ।

उनले पशु उत्पादन बढाएर पशु हाटबजारमार्फत बेच्ने वातावरण बनाइने पनि बताएका छन् । महानगरका ३३ ओटै वडामा कम्तिमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति रहेको छ । नीति तथा कार्यक्रमा पोखराको ब्राण्डका रुपमा स्थापित जेठोबुढो चामललाई प्याकिङ गरेर बजार प्रवर्द्धन गर्ने उल्लेख छ । पोखरामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउनेदेखि प्याराग्लाइडिङको वैकल्पिक ब्यवस्था गर्ने हिमागृह र रत्नमन्दिरलाई खुला गर्न पहल गर्ने महानगरको योजना रहेको छ । 

नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान, गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, चार वर्षभित्रमा सुविधासम्पन्न मेट्रो अस्पताल सञ्चालन गर्ने समेत नीति तथा कार्यक्रमा बताइएको छ । ४० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने र स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने मेयर आचार्यले बताए । 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x