ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क        

२०७९ असार, ९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ९, काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ ।

कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६०० रुपैयाँ मात्र कायम गरिएको छ । यसअघि २ हजार रुपैयाँ शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँ घटाएको हो ।     
     
यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर २ हजार ३०० रुपैयाँ रहेकामा १ हजार ६०० रुपैयाँ बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको २ हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १ हजार ९०० रुपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर १ हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस ब्यान्डविथको महसुल २ हजार ७०० रुपैयाँ रहेकामा २ हजार ४०० रुपैयाँ बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको २ हजार ४०० रुपैयाँ रहेकामा २ हजार १०० रुपैयाँ, १०० एमबिपीएसभन्दा बढीको २ हजार १०० रुपैयाँ रहेकामा १ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।     

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर रहनाका साथै २४ सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x