ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तथ्यांकमा मनपर्दी

२०७९ असार, १०  
सम्पादकीय
Image Not Found

जुनसुकै योजनाको आधार तथ्यांक हो । तथ्यांक आपैmले देशको प्रगति गर्ने होइन, तर देशलाई कसरी अघि बढाउने भन्नेतर्फ यसले मार्गनिर्देशन गर्न सघाउ पुर्‍याउँछ । तथ्यांकको महत्त्व बढ्दै गएकाले नै २१औं शताब्दीलाई सूचना र प्रविधिको समय भन्ने गरिन्छ ।

कुनै पनि मुलुकले निर्धारित लक्ष्य प्राप्त गर्न सही तथ्यांक हुनुपर्छ । यसको संकलनदेखि प्रशोधनसम्म सही पद्धतिको उपयोग भएको हुनुपर्छ । 

विश्वका थुप्रै देशले सूचना र प्रविधिलाई निकै महत्त्व दिएका छन्, जसले गर्दा आर्थिक रूपमा प्रगति गरेका छन् । तर, नेपालमा भने अझै पनि तथ्यांकको महत्त्व बुझेको देखिँदैन । नेपालको तथ्यांक प्रणालीमा समस्या रहेको लामो समयदेखि प्रश्न उठ्दै आए पनि अझै सुधार गरिएको छैन भन्ने पछिल्लो उदाहरण कृषिको तथ्यांकलाई लिन सकिन्छ ।

 नेपालको कुल गार्हस्थ्य उत्पादनमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रको तथ्यांक अविश्वसनीय देखिन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने तथ्यांक हचुवा देखिएको छ । उक्त मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा मुख्य खाद्यान्न बालीमा आत्मनिर्भर जस्तो देखिने गरे पनि वास्तविकता त्यस्तो छैन ।

 यस्तो समस्या कृषिक्षेत्रमा मात्र नभई अन्यमा पनि पाइन्छ । यसले गर्दा नेपालको अर्थतन्त्रको भविष्यवाणी गर्न नसक्ने खालको बनाएको छ भने नीति निर्माणमा पनि अस्पष्टता थप्ने गरेको छ । भरपर्दाे तथ्यांकको अभावमा अर्थतन्त्र समस्याको खाडलमा जाकिन लाग्दा पनि नीतिनिर्माताले पत्तो नै नपाउने अवस्था नआउला भन्न सकिँदैन ।

नेपालको अर्थतन्त्र विस्तारमा कृषिक्षेत्रको योगदान निकै ठूलो छ । तर, कृषि उत्पादन र उत्पादकत्वको तथ्यांक नै मिथ्यांक हुँदा कृषि उत्पादन बढाउने वा कस्ता नयाँ प्रविधिको प्रयोग गर्ने भन्नेबारे अन्योल हुन्छ । यसले गर्दा सरकारले लिएका नीति तथा लक्ष्यहरू पूरा हुँदैनन् । साथै यसले समाजमा द्वन्द्व सृजना हुने अवस्था ल्याउँछ । सही तथ्यांकको अभावमा मूल्यवृद्विलाई नियन्त्रण गर्न असम्भव हुन्छ । अहिले नेपालमा यही भइरहेको हो ।  

नेपालमा कृषिक्षेत्रको तथ्यांक संकलन विधि पनि भरपर्दो छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका एक जना उच्च अधिकारीले कृषि तथ्यांकमा राज्यले लगानी नगरेको बताएका छन् । कृषि ज्ञानकेन्द्रमा काम गर्ने कर्मचारीले दिएको सूचनाको भरमा देशको कृषि तथ्यांक बन्ने गरेको छ । यस्तो अनुमानको तथ्यांक कृषि विभाग, मन्त्रालयसम्म पुग्छन् । मन्त्रालयले यसकै आधारमा हरेक वर्ष कृषि उत्पादन केकस्तो भयो भन्ने तथ्यांक सार्वजनिक गर्छ । मन्त्रालयले हरेक वर्ष देशभरि उत्पादन भएका खाद्यान्न बालीदेखि, गाईभैंसी, कुखुराका अन्डासम्मको तथ्यांक सार्वजनिक गर्छ । सोही तथ्यांकलाई सरकार, दाता एवं गैरसरकारी क्षेत्रले उपयोग गर्ने गर्छन् र त्यसकै आधारमा नयाँ योजना पनि बन्ने गर्छन् ।

यस्तो अभ्यास हेर्दा नेपालका नीति निर्माणका लागि तथ्यांकको महत्त्व नबुझेको देखिन्छ । वास्तविक तथ्यांकका आधारमा योजना तथा कार्यक्रम निर्धारण गर्ने प्रणाली बस्न सकेको छैन । कुनै पनि मुलुकले निर्धारित लक्ष्य प्राप्त गर्न सही तथ्यांक हुनुपर्छ । यसको संकलनदेखि प्रशोधनसम्म सही पद्धतिको उपयोग भएको हुनुपर्छ । आखिर जुनसुकै क्षेत्रमा भए पनि तथ्यांकमा मनपर्दी गर्नेबित्तिकै समस्या सृजना भई नै हाल्छ । यस्ता तथ्यांकले कुनै पनि बेला मुलुकलाई दुर्घटनामा पुर्‍याउन सक्छ ।  

गलत तथ्यांकको आधारमा काम गर्नुपर्दा राज्यको स्रोत बालुवामा पानी हालेसरह हुन्छ । जति लगानी गर्दा पनि नतिजा देखिँदैन । पछिल्लो समयमा कृषिक्षेत्रमा ठूलो लगानी भइरहेको देखिन्छ, यस्तो हुँदाहुँदै पनि नतिजा नदेखिनु कतै गलत तथ्यांककै कारणले पो हो कि ?

 त्यसैले राज्यको स्रोत सही ठाउँमा उपयोग गर्नदेखि देशलाई आर्थिक समृद्धितर्फ लैजान तथ्यांकको महत्त्वपूर्ण भूमिका हुन्छ भन्नेतर्फ ध्यान जान आवश्यक हुन्छ । जतिसक्दो बढी गुणस्तरीय तथ्यांक लिने व्यवस्था मिलाउनु राज्यको दायित्व हो । देखाउनकै लागि तथ्यांक सार्वजनिक गर्नुको कुनै अर्थ हुँदैन ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x