असार १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । २०८१ “ङ” नामक विकास ऋणपत्र दुई वर्षको लागि रू. १० अर्ब बराबरको, २०८१ 'च' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे र २०८३ “छ” नामक विकास ऋणपत्र चार वर्षको लागि रू. १५ अर्ब गरेर कुल रू. ३५ अर्ब विकास ऋणपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकले २०८१ “ङ” नामक विकास ऋणपत्र वार्षिक ९ दशमलव १४ प्रतिशत ब्याजदरमा जेठ ६ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८१ जेठ ६ गते हुनेछ । त्यसैगरी २०८१ “च” नामक विकास ऋणपत्रको वार्षिक ९ दशमलव १३ प्रतिशत ब्याजदरमा जेठ १३ गते निष्कासन भएको थियो ।
ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ १३ गते हुनेछ । त्यसैगरी २०८३ 'छ' नामक ऋणपत्रको वार्षिक ९ दशमलव २० प्रतिशत ब्याजदरमा जेठ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ २५ गते हुनेछ ।
*२०८१ 'च' नामको १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र सूचीकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।