असार १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूच ९४ अंकले बढेर बन्द भएको छ । सूचकसँगै कारोबार रकममा समेत दोब्बर वृद्धि भएको छ ।
नेप्से परिसूचक ९४ दशमलव ९२ अंक अर्थात ५ दशमलव १० प्रतिशत वृद्धि भएसँगै १९५६ दशमलव ९८ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३० धितोपत्रको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर ४४ हजार ३४१ पटकमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।
गत बिहीवार १ अर्ब ४९ करोड र शुक्रवार १ अर्ब १५ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको थियो । शुक्रवारको तुलनामा आइतवार १ अर्ब रुपैयाँभन्दा धेरैले कारोबार रकम बढेको छ ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको पक्षमा केही न केही निर्णय गर्ने आश्वासन पाएकाले आइतवार शेयर बजार फराकिलो अंकले बढेको लगानीकर्ता छोटेलाल रौनीयारले बताए । राष्ट्र बैंकले ४/१२ को नीति संशोधन गर्न सक्ने, अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउन सक्ने र धितोपत्र बोर्डले एनआरएनलाई भित्र्याउन पहल गर्ने आश्वासन दिएकाले बजार बढेको रौनीयारको भनाइ छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचक सबैमा हरियाली छाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्ने प्रतिबद्धता गरेसँगै आइतवार शेयर बजारमा हरियाली छाएको हो । गत शुक्रवार बजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्रबोर्ड बीच पूँजीबजारका समस्या समाधान गर्ने सहमति भएको थियो ।
बोर्डले लगानीकर्ताहरूको मागको सम्बन्धमा काम गर्न कार्यान्वयन समिति नै गठन गरेको छ । उक्त समितिले आइतवारदेखि काम शुरु गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता छ । सोही कारण पनि आइतवारको बजारमा सकारात्मक सकारात्मक प्रभाव परेको हो ।
कारोबारमा आएका २३० धितोपत्र मध्ये २३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर,नागरिक लगानी कोष,हिमालयन डिष्टिलरी,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स,कर्पोरेट डेभलपमेण्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी,सिनर्जी पावर डेभलपमेण्ट कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी,स्वाभिमान लघुवित्त,युनियन हाइड्रोपावर,सप्तकोशी डेभलपमेण्ट बैंक,सबैको लघुवित्त,नेपाल पुनर्बीमा कम्पनी,एनआरएन इन्फ्रास्ट्रक्चर,जनरल इन्स्योरेन्स,सानिमा जनरल इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स, सिवाईसी नेपाल लघुवित्त,हिमाल दोलखा हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री कुमारी बैंकको भएको छ । कम्पनीको ८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता २०३ रुपैयाँ कायम भएको छ ।, त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको ८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
सूचक र कारोबार रकम दुबै बढ्नुको अर्थ के हो ?
शेयर बजार बढ्दा आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक भएकाले बजारमा कारोबार रकम पनि बढेको रौनीयारको भनाइ छ । उच्च बिन्दुबाट धेरै तल आइसकेको बजारमा अब घट्ने भन्दा बढ्ने सम्भावना तुलनात्मक रुपमा बढी भएकाले पनि लगानीकर्ताहरू सक्रिए भएको उनको बुझाइ छ ।
'नयाँ लगानीकर्ताहरू कुन विन्दुमा प्रवेश गर्ने भनेर कुरेका थिए । उनीहरूलाई यो विन्दु उपयु्क्त लागेको हुन सक्छ', रौनीयारले भने, '३ हजार २ सयमा शेयर बेचेका लगानीकर्ताहरू हातमा पैसा राखेर बसेका थिए । उनीहरू पनि अहिले पुनः बजार प्रवेश गरेका छन् । त्यसैले कारोबार रकम पनि बढेको हो ।'
सूचक सँगै कारोबार रकम पनि वृद्धि हुँदा यसले बजार सकारात्मक दिशामै जाने संकेत गर्ने पनि उनले बताए ।
शेयर बजारकाे एक हप्ताकाे ट्रेण्ड नहेरी अहिले नै बजार यसै दिशामा जान्छ भन्न नसकिने विश्लेषक अनलराज भट्टराईले बताए । तर, सराेकारवाला सबै निकायकाे मनाेविज्ञान बजार सकारात्मक दिशातर्फ जाओस् भन्ने रहेकाे उनकाे भनाइ छ ।