ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हराउँदै जुजु धौको मौलिकता 

२०७९ असार, १३  
समाचार फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

असार १३, काठमाडौं । गत शुक्रवार भक्तपुर दरवार क्षेत्र प्रवेशद्वार नजिकैको दही पसलमा जुजु धौ बनाउन व्यस्त थिए, विनय हाडा । उनी दूधलाई ठूलो डेक्चीमा राखेर दाउराको आगोमा तताउँदै थिए । जुजु धौ बनाउने परम्परागत प्रक्रियाअन्तर्गतकाे यो पहिलो प्रक्रिया हो । 

‘दही बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ । र, उक्त दूधलाई बाक्लो हुनेगरी चलाउँदै उमाल्नुुपर्छ’, उनले दूधलाई चलाउनुको कारण प्रष्ट्याए । विनय दूध उमाल्न व्यस्त भइरहँदा उनकी आमा यमुना भने भुस सम्याएर त्यसमाथि माटोको कटारो मिलाउँदै थिइन् । दही बनाउन उमालिएको दूधलाई सोही माटोको कटारोमा राखेर जमाउने गरिएको छ । 


त्यसपछि यमुनाले उम्लिएको दूधमा चिनी, मसला राखिन् । र, केही समय दूध उमालियो । 

त्यसपछि आमा–छोराले उम्लिएको दूध सोही माटोको कटारोमा राखे । र, उक्त दूध सेलाएपछि फेरि उक्त भाडोमा थोरै दूध राखे । दूध सेलाउन राखियाे । त्यसपछि दूधमा जोरन (दही) मिसाए । 

त्यसपछि उक्त कटारोलाई कटारोले नै छोपे । र, कटाराेलाई बोरा, सिरकलगायतले छोपेर राखे । कटाराेलाई छोपेर राखेको कम्तीमा चार घण्टामा जुजु धौ तयार हुन्छ । यो जुजु धौ बनाउने परम्परागत प्रक्रिया हो । 

तर, पछिल्लो समय परम्परागत तरिकाबाट जुजु धौ बनाउने चलन घट्दै गएको छ । पछिल्लो समय दुई–तीन ठाउँमा मात्रै परम्परागत तरिकाले जुजु धौ बनाउने गरिएको विनय बताउँछन् । ‘अधिकांशले परम्परागत तरिकाले जुजु धौ बनाउन छाडिसके,’ उनी भन्छन् । 

उनका अनुसार पछिल्लो समय ग्यासमा दूध उमाल्ने गरिएको छ । यस्तै, दूध जमाउन फ्रिजमा राख्ने गरिएको छ । यही कारण जुजु धौको स्वादसमेत फेरिएको उनको भनाइ छ । ‘दाउरामा तताएको दूधको दही स्वादिलो हुन्छ । तर, दाउरा अभावले अधिकांश ग्यासमै दूध तताउन बाध्य छन्,’ उनले कारण खुलाए । 

पछिल्लो समय अधिकांशले माटोको सानो भाँडो (सलीं) मा दही जमाउने गरेको उनी बताउँछन् । अहिले बजारमा कप जुजु धौको माग बढी भएकाले जुजु धौ बनाउने व्यावसायीले यसो गरेको उनको भनाइ छ ।

तर, आफूहरूले परम्परागत तरिकाले जुजु धौ बनाउने भएकाले पसल प्रख्यात रहेको उनको दाबी छ । उनका हजुरबुवा विश्वनाथले त्यतिबेला बनाएको दहीसँगै गुँदपाक र पुष्टकारीको चर्चा भक्तपुरका गल्ली गल्लीमा रहेको उनी बताउँछन् ।  

भक्तपुरमा जुजु धौ बनाउनका लागि नगरकोट, पनौती, सुडाल, ताथली, बागीश्वरी, काभ्रे, झौखेललगायत ठाउँबाट दूध ल्याउने गरिएको छ ।

जुजु धौलाई नेपालीमा ‘दहीको राजा’ भन्ने गरिन्छ । विनयका अनुसार माटोको कटारोमा राखिएको जुजु धौ घोप्ट्याए पनि पोखिँदैन । यसलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्छ ।

भक्तपुरमा जुजु धौ बनाउन दूधलाई कालो माटाको भाँडोमा राखेर जमाइन्छ । उक्त कालो भाँडोलाई नेवारी भाषामा ‘भिंटी’ भन्ने गरिन्छ । 

असार १५ मा पनि यसको प्रयोग बढ्ने गरेको छ । उक्त दिन घरघरमा दही–चिउरा खाने परम्परा छ । नेवारी परम्पराअनुसार जन्मोत्सव, भोज, शुभकर्मलगायत अवसरमा दहीको प्रयोग बढ्दै गएको छ । 

जाडो र जात्राका बेला जुजु धौको माग निकै बढ्ने गरेको उनले सुनाए । ‘भक्तपुरको बिस्केट जात्राका बेला करिब ८०० कप जुजु धौ बिक्री हुने गरेको छ,’ उनले भने । 

जुजु धौ नेपालमा मात्र होइन, विदेशमा समेत परिचित रहेको स्थानीयको दाबी छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेरै मात्र जाने गरेको उनीहरू बताउँछन् । 

अहिले १ लिटर दही प्लास्टिक डब्बाको रू. २२०, भ्यगट कटाराेको रू. २५० तथा कपको रू. ५० मा विक्री हुने गरेको विनयले बताए । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

इन्द्र बास्ताेला

[Jun 27, 2022 03:36pm]

दरवार स्वायर छेउछाउमा जुजुद्याैकाे नामबाट जुन दहि बेचिदाे रहेछ त्याे माटाेकाे भाडाेमा जमाएकाे मात्र भेटिन्छ तर त्याहा स्वाद दूध र चिनीकाे मात्रा छ । अब जुजुद्याैलाई नक्कलीले खायकाे हाे कि गुणस्तर घटेकाे हाे त्याहाका निर्माताले निगारानी गर्नु पर्ने र आफ्नाे पहिचान कायम राख्नु पर्ने देखियाे नत्र जुजुद्याै ईतिहासमा थियाे भनी पढ्न मात्र पाइन्छ ।



   

Nepali PatroRiddhi Siddhi Cement