ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ब्रोकरले आफ्नै टीएमएस चलाउन सक्ने, नेप्सेले जारी गर्‍यो कार्यविधि

२०७९ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज NEPSE ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ स्वीकृत गरेसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो ।

हाल ब्रोकरले नेप्सेको भेन्डर कम्पनी वाइकोले तयार पारेको टीएमएस सञ्चालन गर्दै आएका छन् । नेप्सेको टीएमएसमा बारम्बार समस्या देखिएपछि ब्रोकरहरूले आफैले विकास गरेको वा खरीद गरेको टीएमएस चलाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।

नेप्सेले पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्दाको समयमै ब्रोकरलाई नेप्सेको बाहेक अर्को टीएमएस नेप्सेको प्रणालीसँग जोडेर चलाउन सकिने बताएको थियो । तत्काल अन्य विकल्पमा नगई ब्रोकरहरूले नेप्सेकै टीएमएस सञ्चालन गर्दै आएका हुन् ।

नेप्सेले टीएमएस प्रणालीलाई व्यवस्थित बनाउन कार्यविधिसमेत जारी गरेको छ । नेप्सेले अनलाइन तथा अफलाइनमार्फत धितोपत्रको कारोबार गर्न विकास गरेको कारोबार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको हो । धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १(ग) बमोजिम नेप्सेले यो कार्यविधि बनाएको हो ।

उक्त कार्यविधिमा ब्रोकरले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्न नेप्सेको प्रणालीसँग जडान गर्न विवरण खुलाई निवेदन दिनुपर्ने उल्लेख छ ।

यो कार्यविधि लागू हुँदाका बखत नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले कार्यविधि लागू भएको ३० दिनभित्र तोकिएबमोजिमको दस्तुरसहित निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरीद परियोजनाको विस्तृत विवरण पेश गर्नु पर्नेछ । ब्रोकरले पेश गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा त्यससम्बन्धी विवरण ३० दिनभित्र निरीक्षण तथा चेकजाँच गर्ने व्यवस्था कार्यविधिमा छ ।

निरीक्षण सम्पन्न भएपछि तथा नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई १ महीनाभित्र प्रणाली खरीद वा विकास गर्न सैद्धान्तिक सहमतिको साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ । आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्ने कारोबार सदस्य र उक्त प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीच सम्झौता गरी नेप्सेलाई जानकारी गराउनु पर्नेछ ।

आफ्नै कारोबार व्यवस्थापन प्रणाली खरीद वा विकास गरी कारोबार सञ्चालन गर्न चाहने ब्रोकरले प्रणाली विकास भइसकेपछि वा खरीद गरिसकेपछि नेप्सेको प्रणालीमा जडान गर्नुपूर्व उक्त प्रणाली मान्यताप्राप्त तेस्रो पक्षबाट परीक्षण (अडिट) सम्पन्न गराउनुपर्नेछ । 

अडिटपछि उपयुक्त देखेमा नेप्सेले उक्त प्रणाली परीक्षणका रूपमा जडान गर्न एपीआई प्रदान गर्नेछ । एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपीआई अर्को सदस्यले प्रयोग गर्न पाउने छैन । कम्तीमा १ महीनाको परीक्षणपछि प्रणालीमा कुनै समस्या नदेखिए नियमित सञ्चालन अनुमति दिइनेछ ।

ब्रोकरले जडान गरेको कारोबार व्यवस्थापन प्रणालीमा परिवर्तन गर्नुपरेमा नेप्सेलाई अग्रिम जानकारी गराउनु पर्नेछ । त्यस्तै ब्रोकरले डाटा रिकभरी साइटको व्यवस्थापन गर्नु पर्नेछ भने टीएमएसलाई अनलाइन भुक्तानी प्रणालीमा आबद्ध गराउनु पर्नेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement