ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्त्री बन्ने शुभकामना !

२०७९ असार, १७  
तीतो मीठो
author avatar मदन लम्साल

मन्त्री अर्थात् अगाडि पछाडि सुरक्षाकर्मीका गाडीसहित बत्ती पिलिक पिलिक पार्दै महँगो गाडीमा सरर्र हुइँकिन पाउने पद । तलब, भत्ता, सुरक्षा गार्ड, सलामी । मन्त्रीबाट हटे पनि जिन्दगीभरि सरकारी सुविधा, ‘मन्त्रीजी’ नामले सम्बोधन । विदेश भ्रमण । संसद्मा प्रश्न सोध्ने होइन, जवाफ दिने ठाउँमा प्रमोशन । यी त भए देखिने कुरा । भिजन केही नभए पनि नदेखिने गरी के के मिशन र के कति कमिशन प्राप्त हुन्छ, अख्तियार जानोस्, स्वीस बैंकहरू जानून्, नत्र ‘राम जाने ।’

भन्दा देश स्वीट्जरल्यान्ड बनाउँछु भन्ने हो, बन्दा सोमालिया, श्रीलंका, अफगानिस्तान वा तुर्कमेनिस्तान जे बन्छ बनोस्, छु मतलब ! मतलब त आफ्नो कुर्सीको पो हो त ।

त्यसैले त मन्त्री पद पाउँदा कत्रो हाँसो, जाँदा कत्रो रुवावासी ! त्यही भएर पो मन्त्री पद पड्काउन पेट्रोल, डिजेल किन्न लाग्ने जनताको लाइनभन्दा लामो लाइन लाग्न परेको, मरिहत्ते गर्ने गरेको । फेरि मन्त्री पद पड्काउन चप्पल पड्काउँदै आए पनि पुग्छ, बम पड्काउँदै आए पनि हुन्छ । यो थोडै लोकसेवा हो र पढेर पास गर्न ? निजीक्षेत्रको जागीर हो र योग्यता देखाउन ?

मन्त्री पद पाउन एउटै मात्र योग्यता भए पुग्छ । पद बाँड्ने हैसियतमा पुगेका नेताका नजिक हुनु वा मोटो ब्रिफकेस नेताका चरणकमलमा चढाउन सक्नु । भक्त बन्न सक्नुपर्छ भगवान्ले उद्धार नगर्ने त कुरै आउँदैन । सच्चा भक्त त्यही हुन्छ, जसले चाहिएको बेला ब्रिफकेस चढाउन सक्छ वा फोड्न पनि सक्छ । देख्नुभएन नेताका हलीहरू संसद्मा बाहुबली बनेका ? त्यस्तै बाहुबली नभए नेता त के जनताले समेत पत्याउन गाह्रो छ अचेल ।

त्यही भएर नैतिकता छाडेर वा इमान फाडेर धनबली बन्नुस् कि बाहुबली । तपाईंलाई मन्त्रीको कुर्सीले बोलाइहाल्छ । कुर्सीमा बस्नेबित्तिकै पिर्के सलामीदेखि गुलामीसम्मको मीठो स्वादमा तपाईं भुल्न थालिहाल्नुहुन्छ । त्यसैले त राजनीति गरेपछि जीवनमा एकपटक भए पनि मन्त्री बन्नैपर्छ भनेर मान्छे लागेका । मन्त्री बन्न नसके प्रधानमन्त्रीको सन्त्री बने पनि काम चल्छ । नत्र त जीवन अधुरै रहन्छ ।

भन्नलाई त जनताको सेवा भन्नैपर्‍यो । तर मन्त्री बनेपछि भित्रभित्रै ‘मेवा’ आफैले खाने हो । सरकारी सम्पत्ति आफ्नै पेवा बनाउने हो । जनता भनेको भीड हो । भीड भर्‍याङ चढोस् वा भँड्खालोमा परोस्, बालै भएन नि । तिनलाई त जसले भर्‍याङ बनाउन सक्यो, त्यही सफल । भन्दा देश स्वीट्जरल्यान्ड बनाउँछु भन्ने हो, बन्दा सोमालिया, श्रीलंका, अफगानिस्तान वा तुर्कमेनिस्तान जे बन्छ बनोस्, छु मतलब ! मतलब त आफ्नो कुर्सीको पो हो त ।

तर मन्त्रीको कुर्सी यस्तो हुँदोरहेछ कि त्यसमा बस्ने मान्छेलाई नशा चढ्न थाल्ने । नशा लगेपछि अरू कसैलाई मान्छे नदेख्ने, अनि ब्रह्माण्डभरिका सबै विषयमा ज्ञान फुर्ने । अर्ती–उपदेश दिन ज्ञानको गंगा नै कहाँबाट सरर्र जिब्रोमै आएर बस्ने । कस्तो दिव्य जादुई शक्ति छ हो यो मन्त्री पदमा ! त्यसैले त धम्क्याएर, धक्याएर, घुक्र्याएर, रोएर, रुवाएर, छकाएर, फकाएर जसरी हुन्छ मन्त्री बन्नैपर्ने । मन्त्री बन्नासाथ सालीतिरको सात पुस्तालाई पुग्ने जोहो गर्न नसके मन्त्री बनेको के काम ?

तर समस्या कहाँबाट शुरू हुने रहेछ भने मन्त्री पदको स्वप्नलोकमा शयर गर्दा गर्दै अचानक ब्रह्मरूपी पार्टी नेताबाट ‘फिर्ती बोलावट’ । सुन्दरीसँग नाचिरहेका बेला राक्षस आएर सपनाबाट ब्युँझाइदिएजस्तो । झसंग बिउँझेपछि रुनु सिवाय उपाय नहुने ।

तर के गर्नु ? आफूलाई मन्त्री बनाइदिने ब्रह्मको पनि आफ्नै खाले समस्या छन् । आफूमुनिका सबै नेता, कार्यकर्ताहरूलाई मन्त्री नै बनाइदिनुपर्ने । मन्त्री नबनाउने हो भने सबै नेता दल छाड्न तयार । त्यसैले पार्टी अध्यक्षले फकाई फुल्याई सबैलाई आलोपालो मन्त्री बनाइदिने आश्वासन दिनैपर्ने । पार्टी अध्यक्षको यो गहिरो मर्का कस्ले र कहिले बुझिदिने ? त्यसैले स्रोत जुटाएर हुन्छ कि पार्टी वा मन्त्रालय फुटाएर, कार्यकर्ता फकाएर हुन्छ कि भाषणबाजीको खिचडी पकाएर हुन्छ, धेरैभन्दा धेरै मन्त्री बनाउन सक्नु नै अहिलेका पार्टी अध्यक्ष नेताहरूको सफलता हो ।

म एक दिन पूर्वमन्त्री बस्ने घरतिरबाटै मर्निङ वाक गइरहेको थिएँ । पूर्वमन्त्रीजीको घर अगाडि भैंसी बाँधिएको थियो । मन्त्री हुँदा उनका घर अगाडि गाडीका लावालस्कर हुन्थे । उनका कार्यकर्ताका मोटरसाइकल पनि लहरै राखिएका हुन्थे । अहिले ती दुवै छैनन् । त्यसो त २/४ ओटा गाडी त छन् नै । आयोजनाहरूले उपहार दिएका होलान् । पूर्वमन्त्रीसँग मेरो आँखा जुधिहाल्यो । अभिवादनका लागि हात उठाएँ ।

मलाई देख्नासाथ भूपू मन्त्रीले भने, ‘तपाईं पनि मेरो जलेको हृदयमा नुनचुक छर्कन आउनुभयो हैन ?’

‘तपाईंहरूको शासनकालमा नुन पनि यति सस्तो छैन कि नष्ट गर्नलाई,’ मैले भनेँ ।

उनले जिकीर गरे, ‘महँगीको दोष हाम्लाई किन दिनुहुन्छ ? यो त पूर्व सरकारको बिरासत हो नि । त्यसमा पनि अझै मन्त्री बनिरहेको भए म देशका सबै समस्याको हल गरिदिन्थेँ त । योजना बनाउँदा बनाउँदै हटाइहाले । हाम्रो भावना माथिकाले बुझ्दै बुझेनन् ।’

मैले भनेँ, ‘तर तपाईंको नीति, काम गर्ने तरीका र बोल्ने शैली केही पनि त ठीक थिएन भन्थे सबैले । त्यसैले पनि तपाईंलाई मन्त्रीबाट हटाइएको भन्छन् नि त ।’

‘यो सबै म र राज्यविरुद्ध समेत षड्यन्त्र भएको हो । मैले जति धेरै काम कस्ले गरेको छ ? मन्त्री बन्न सजिलो छ र ? उनले यस्तो दाबी गरेपछि म एकछिन प्रश्नविहीन भएँ । र, फेरि सोधेँ, ‘मन्त्री पद छाडेपछि कस्तो छ, के छ हालखबर ?’

‘कस्तो हुनु नि, देख्नुभएन घर सुनसान भएको ? अहिले त पानीविनाको माछाजस्तो भएको छु । मन्त्री हुँदा सबै भेट्न आउँथे । अझ कोसेलीपात, नजरानाको त के हिसाब । अहिले त हिजो खुट्टा ढोगुँला जस्तो गर्नेहरू देखे पनि टाउको अर्कोतिर फर्काउँछन्, भलाइको त जमाना नै रहेन नि,’ निराश हुँदै उनले भने ।

‘अनि अब के गर्नुहुन्छ त ?’ मैले सोधेँ ।

‘मन्त्री हुँदा कार्यकर्ता पाल्थेँ, अहिले भैंसी पाल्न शुरू गरेको छु । कार्यकर्ता थारो भए, तर भैंसीले त दूध दिन्छ नि । डेरीको बिजनेश गरेर गेडी कमाउँछु अनि टेडीको राजनीति गरेपछि फेरि मन्त्री कसो नभइएला ? फेरि पनि मन्त्री चैं बन्छु बन्छु ।’

यसो भन्दै उनी आफ्नो स्रोतको दोहन गर्न भैंसी पछाडि गए । म पनि भूपू मन्त्रीलाई फेरि पनि मन्त्री बन्ने शुभकामना दिएर आफ्नो बाटो तताएँ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement