ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घट्यो पर्यटक आगमन

व्यवसायी भने यसलाई निराशाजनक मान्दैनन्

२०७९ असार, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन् २०२२ लागेपछि निरन्तर बढेको पर्यटक आगमन पछिल्ला महीना भने घटेको देखिएको छ । यो वर्षको अप्रिलमा सर्वाधिक पर्यटक नेपाल आएकोमा मे र जुनमा संख्या घटेको देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार गत अप्रिलमा ५८ हजार ३४८ पर्यटक हवाई मार्गबाट यहाँ आएका थिए । त्यसयताको मे र जुनमा क्रमशः ५३ हजार ६०८ र ४६ हजार ९५७ पर्यटक भित्रिएको तथ्यांक छ । हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या यो वर्षको ६ महीनामा २ लाख ३७ हजार ६६० पुगेको छ । कोरोना भाइरसको संक्रमण घटेपछि पर्यटक आगमनले सन् २०१९ को प्रवृत्ति पछ्याइरहेको थियो ।

मार्च र अप्रिललाई नेपालमा पर्यटकीय सिजन मान्ने चलन छ । जुनमा भने भारतीय पर्यटक धेरै आउँछन् । मार्च र अप्रिलमा ट्रेकिङ र पर्वतारोहणमा जाने पर्यटक बढी आउने हुँदा यी महीनामा बढी आगमन देखिन्छ । पर्यटन व्यवसायी भने मे र जुनको आगमन संख्या पनि नकारात्मक नभएको बताउँछन् । होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले मे र जुनको आगमनलाई सकारात्मक बताए ।

यी महीनामा भारतीय पर्यटक बढी आउने तर अन्य देशका कम आउने तथा सिजन पनि नभएकाले संख्या कम देखिएको उनको भनाइ छ । उनले आउँदो सिजनका लागि ट्राभल कम्पनीहरूले शोधखोज गरिरहेको र कोटेशन माग्न थालेको पनि जानकारी दिए । यद्यपि बढ्दो महँगी र सञ्चालन खर्च उच्च हुँदा कोभिडपूर्वको अवस्थामा जस्तै सस्तोमा सेवासुविधा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

बोर्डका अनुसार यो जुनमा पनि भारतबाटै बढी पर्यटक आएका छन् । भारतबाट मात्रै जुनमा २३ हजार २४८ पर्यटक आएका छन् । सबैभन्दा बढी पर्यटक आउनेमा सार्क मुलुक नै अग्रपंक्तिमा छन् । सार्क मुलुक भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाबाट गरी  २६ हजार ३० पर्यटक जुनमा नेपाल आएका छन् । सन् २०१९ को जुनमा भने यस्तो संख्या २४ हजार ५५७ थियो ।

दोस्रो स्थानमा अमेरिकी मुलुक क्यानडा र अमेरिकाबाट ८ हजार ९८० पर्यटक आएका छन् । यूरोपका विभिन्न १७ देशबाट जुनमा ४ हजार ७८७ पर्यटक नेपाल आएका छन् । यी मुलुकमध्ये बेलायतबाट २ हजार २ जना नेपाल भ्रमणमा आएका छन् । एशियाली महादेशका चीन, जापान, थाइल्यान्ड, मलेसिया, सिंगापुर, म्यानमारलगायत देशबाट २ हजार ३६९ पर्यटक आएका छन् । सन् २०१९ को जुनमा यो संख्या १३ हजार ४६६ थियो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement