ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महँगीले आक्रान्त अमेरिकीको दिनचर्या  : घरमै  खाना खाने, साथीभाइकोमा पाहुना लाग्ने !   

२०७९ असार, ३२  
स्वास्थ्य र जीवन शैली अन्तरराष्ट्रिय
Image Not Found

असार ३२, वासिङटन । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्त तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् ।

उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् ।   घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नजाने, घरमै बस्ने अनि खाना पकाउने। छोटो दुरीको मात्र यात्रा गर्ने । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि ।  

उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोनले खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन् । आफ्नो पहिलो नाममात्र उद्धरण गर्न चाहने उनी विरलै रेष्टुरातिर जान्छन् ।

सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पँखेटाको मूल्य उस्तै भएको बताउँछन् ।  दशकौं पछि अमेरिकामा महँगी अचाक्ली बढेको छ । खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन् । अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चारदशकपछि पहिलोपटक गत जेठमा ९ दशमलव १ प्रतिशतले बढेको थियो ।

त्यसयता खाद्य सूचकाङ्क १० दशमलव ४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुखजोर्न धौधौ भएको छ । मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन् । १० औं लाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन् ।  चर्को मूल्य चुकाएर हवाईजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन । न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाईजहाज नचढेको धेरै भयो ।

भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन् । पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन् । उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ ।  उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन् ।

हरेकपटक कारको इन्धनट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ । पाएसम्म र भ्याएसम्मसार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए । 

घरभाडा पनि अनपेक्षितरूपमा बढेको छ । त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ । केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन् ।

बढ्दो आवास भाडाले घरबारविहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ । देशको विद्यमान अर्थतन्त्रको अवस्थासँग पनि अमेरिकी नागरिक खुशी नभएको अन्तरराष्ट्रिय मुद्रा कोषका एकजना पूर्व अधिकारीले बताएका छन् ।  रासस/  सिन्ह्वा

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement