ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नीतिगत स्थिरता भए कार मात्र होइन, ब्याट्री, लुब्रिकेन्ट सबैको उद्योग खोल्न तयार छौं

२०७९ साउन, ४  
अन्तरवार्ता
Image Not Found

राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत र नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका उपाध्यक्ष पनि हुन् । सर्वाधिक करदाता कम्पनीमध्ये पर्ने सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा गाडीको अधिकृत विक्रेता हो । साथै यसले गाडी सम्बन्धी अन्य व्यवसाय पनि गर्दै आएको छ । प्रस्तुत छ, नेपालमा गाडी व्यवसायको वर्तमान अवस्था, भविष्य, सिप्रदीको विशेषता लगायत विषयमा श्रेष्ठसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सम्पादित अंश :

सिप्रदी ट्रेडिङले गर्ने व्यवसायमा कुन - कुन ब्राण्डले कस्तो गर्दै छ ?

हाम्रो अहिले मुख्य व्यवसाय टाटा गाडी नै हो । यसमा अहिले नयाँ पोर्टफोलियो थपिएको विद्युतीय गाडी हो । त्यससँगै टाटाको स्पेयर पार्ट्स र टाटाकै ‘जेनभोल्ट’ ब्रान्डको जेनेरेटरको विक्री पनि शुरू गरेका छौं । शुरूदेखिकै हाम्रो सोच ग्राहकलाई सन्तुष्टि कसरी दिने भन्ने हो । त्यही अनुसार व्यापार विस्तार गर्न थाल्यौं । ग्राहकले जुन उद्देश्यले गाडी लिन्छन्, त्यो उद्देश्य पूरा हुनुपर्छ । यसरी हाम्रो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो । हाम्रो गाडीको ब्याट्रीमा समस्या हुँदा ब्याट्री निर्माण गर्ने कम्पनी एक्साइडमै गयौं र त्यो ब्याट्रीको डिलरशिप लिएर विक्री गर्न थाल्यौं । त्यो बेला पनि व्यवसायको विस्तारभन्दा पनि ग्राहकको सन्तुष्टिको बारेमा सोच्यौं । 

त्यसपछि लुब्रिकेन्टको व्यापार शुरू गर्‍यौं । यसरी सिप्रदी ट्रेडिङको व्यवसाय बढाउँदै गयौं । ग्राहकले एक्सचेञ्ज हाउसको पनि माग गरेकाले त्यो पनि शुरू गर्‍यौं । त्यसपछि जुन ग्राहक एकदमै राम्रा छन्, जोसँग तिर्नेे क्षमता छ, तर कागजात पेश गरेर बैंकबाट फाइनान्स गराउन सक्दैनन्, उनीहरूलाई सहयोग गर्न सिप्रदी हायर पर्चेज कम्पनी खोलेर फाइनान्स सुविधा पनि दिएका छौं । ‘मिशलान’ टायरको डिलरशिप पनि यही सिद्धान्त अनुसार शुरू गरेका हौं ।

सेग्मेन्ट अनुसार कुन कुन गाडीले राम्रो गरिरहेका छन् ? कुन कुनले त्यति राम्रो गरेका छैनन् ?
व्यापारिक गाडीको व्यवसाय सामान्यतया साइक्लिकल (चक्रीय उतारचढावपूर्ण) हुन्छ । एक वर्ष एउटा सेग्मेन्टले राम्रो गर्छ, अर्को वर्ष अर्कोले । यात्रु गाडीको भने स्थिर हुन्छ । महामारीको समय अर्थात् विगत २ वर्ष गाडी विक्रीमा समस्या भयो । पहिले बैंकले पनि धेरै राम्रो सहयोग गरेकाले गाडी किन्न सहज थियो र गाडीको व्यवसाय पनि राम्रो थियो । महामारीमा विशेषगरी बस, माइक्रोबसको विक्री शून्यजस्तै भयो । अहिले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । त्यसको प्रभाव स्वरूप इन्टर्नल कम्बशन इन्जिन (आईसीई) भएको गाडीभन्दा विद्युतीय गाडीतर्फ अहिले मानिसको रुचि बढिरहेको छ । 

तपाईंको कुल व्यवसायमा व्यापारिक प्रयोजनका गाडी वा यात्रु कार, लुब्रिकेन्ट, ब्याट्री र टायरको योगदान अंकमा बताउन सकिन्छ ?

मुख्य योगदान व्यापारिक प्रयोजनका गाडीको नै छ । त्यसपछि यात्रु गाडीको छ । त्यसपछि ब्याट्री र लुब्रिकेन्टको रहेको छ । व्यापारिक प्रयोजनका गाडीको र यात्रु गाडीको योगदान ८० प्रतिशतभन्दा माथि रहेको छ ।

 

 

बजार हिस्साको अवस्था कस्तो छ ? केही वर्षअघि तपाईंले बजार हिस्सा ७२ प्रतिशत पुर्‍याउने लक्ष्य राख्नुभएको थियो । त्यो पूरा गर्नुभयो कि भएन ?

हामीले लक्ष्य होइन, योजना बनाएका थियौं । त्योे योजना बनाएको ३ वर्ष पहिला हो । तर २ वर्षको महामारीका कारण गर्न सकेनौं । तर अहिले बढाउँदै गएका छौं । अहिले पनि हेर्ने हो भने व्यापारिक प्रयोजनका गाडीमा ६३–६४ प्रतिशत बजार लिइसकेका छौं । त्यही अनुसार हामी वर्षैपिच्छे कसरी विक्री बढाउने भन्ने योजना बनाइरहेका छौं । अबको २ वर्षपछि ७५ प्रतिशतभन्दा बढी पुर्‍याउने योजना बढाएर अघि बढ्दै छौं । 

व्यापारिक प्रयोजनका गाडीमा २ वर्षपछि बजार हिस्सा ७५ प्रतिशतभन्दा बढी पुर्‍याउने लक्ष्य छ ।

केही वर्ष अघिदेखि सिप्रदीले यात्रु कारको पनि विक्री शुरू गर्‍यो । तर अझै पनि इन्ट्री लेभलको कार ल्याएन भन्ने गुनासो छ । यसका लागि केही योजना छ ?

इन्ट्री लेभल केलाई भन्ने ? इन्ट्री लेभलमा पनि ड्राइभिङ कम्फर्ट, टेक्नोलोजी र आधारभूत फिचर चाहिन्छ । हाम्रो परिभाषामा इन्ट्री लेभल भनेको त्यस्तो गाडी हो, जसमा एउटा सानो अर्थात् पाँच जनासम्मको परिवार सजिलैसँग जान सक्छ । त्यो हामीसँग छँदै छ । अहिले टियागो भन्ने गाडी बेचिरहेका नै छौं । 

 

गाडीको सबैभन्दा कम मूल्य कतिबाट शुरू हुन्छ ?

२३–२४ लाख रुपैयाँबाट शुरू हुन्छ । 

तपाईंको प्राथमिकता एसयूभीमा हो कि सेडानमा हो ? यी दुईओटाको सम्भावना कस्तो देख्नुहुन्छ ? 

हामी ग्राहकको आवश्यकतामा केन्द्रित छौं । ग्राहकले के खोज्छन्, त्यो हामीले दिने हो । 

के खोजिरहेका छन् त ग्राहकले ?

अहिले नेपालको सडकको अवस्था ठीक छैन । ग्राहकले धेरै ग्राउन्ड क्लियरेन्स भएका खाडी खोजिरहेका छन् । रफ रोडमा पनि हाँक्न सकिने गाडीको रूपमा एसयूभी नै खोजिरहका हुन्छन् । 

प्रतिस्पर्धा केमा छ ? मूल्यमा छ कि सुविधामा ? मार्केटिङ ब्रान्डिङले फरक पार्ने हो कि के हो ?

प्रतिस्पर्धामा सबैको आफ्नै रणनीति हुन्छ । हाम्रो रणनीति अर्कै छ भने अरू कम्पनीको रणनीति अर्कै हुन्छ । त्यो रणनीतिलाई कसरी लिएर जाने भन्ने कुरा हो । प्रतिस्पर्धात्मक फाइदा केमा बनाउन सकिन्छ, जसले गर्दा ग्राहकले हाम्रो उत्पादनको मूल्य महसूस गर्छन् भन्नेमा ध्यान दिएका छौं । हामी जति पनि रणनीति बनाउँछौं, त्यसैका आधारमा बनाएर अघि बढिरहेका छौं । 

अहिले सिप्रदी ट्रेडिङ मार्केट लिडर छ । मार्केट लिडर हुन के कुराले योगदान दियो ? तपाईंहरूको नाम नेपालमा सबभन्दा राम्रो व्यवस्थापन भएको कम्पनीको रूपमा छ । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

सबैभन्दा ठूलो कुरा फिलोसोफी हो । हामी मिशन, भिजन के लिएर हिँडिरहेका छौं र हाम्रो कोर भ्यालू के छ, त्यसमा भर पर्छ । हाम्रो संस्कृति त्यसअनुसार बनाइरहेका छौं कि छैनौं ? संस्कृति त्यो अनुसार विकास भइसकेपछि त्यसमा सम्झौता नगरी गयो भने कम्पनी नराम्रो हुन्छ भन्ने नै छैन । कामदार कर्मचारीको पहिलो रोजाइ कसरी बन्ने, ग्राहकको पहिलो रोजाइ कसरी बन्ने, हाम्रो स्टेक होल्डरको पहिलो रोजाइ कसरी बन्ने भन्नेमा हामी केन्द्रित हुन्छौं । यही हाम्रो एउटा फिलोसोफी हो । त्यसको आधारमा कोर भ्यालू विकास हुन्छ । त्यो कोर भ्यालूमा हामी एकदमै कडाइ गर्छौं, कुनै सम्झौता गर्दैनौं ।

त्यसैले गर्दा संस्कृति राम्रो बनेको छ । हाम्रो संस्थाको संस्कृतिको आधारमा ‘विश्वास’ छ । विश्वास जित्न पारदर्शी हुनुपर्‍यो । जति पारदर्शी भयो, ग्राहक, स्टेक होल्डरले त्यति विश्वास गर्छन् । अर्कोे ‘एकता’ हो । एकतामा टिमको संलग्नताबारे हेर्छौं । हामी टप डाउन अप्रोच, अर्थात् माथिबाट यो गर भन्ने भन्दा पनि हामी मानिसलाई नै निर्णय प्रक्रियामा संलग्न गराउँछौं । त्यसपछि उनीहरूले स्वामित्व लिन्छन् र स्वामित्व लिनेबित्तिकै नतीजा त आउँछ नै । अर्को हामी नवप्रवर्तनमा केन्द्रित गर्छौं । बजार एकदमै गतिशील छ, ग्राहकको अपेक्षा दिनप्रतिदिन बढिरहेको छ । त्यसमा ग्राहकले के खोजिरहेका छन्, मार्केट कता गइरहेको छ भन्ने हेर्छौं । त्यहाँ धेरै सानो सानो नवप्रवर्तनको आवश्यकता पर्छ । त्यसपछि हामी पद्धद्धि र प्रक्रिया हेर्छौं । कुनै पनि संस्था व्यवस्थित तरीकाले चल्यो भने लामो समयसम्म चलिरहन्छ । पद्धति र प्रक्रिया एकदमै बलियो छ भने कुनै पनि संस्था राम्रोसँग चल्न सक्छ ।  

हाम्रो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो । ग्राहकले के खोज्छन्, त्यो हामीले दिने हो ।

सिप्रदीको प्रिन्सिपल कम्पनी टाटा ग्रुप इन्डिया छ । उनीहरूको भिजन, फिलोसोफी अनुसार तपाईंहरू हो कि तपाईंहरूको छुट्टै मिशन, भिजन छ ?
सामान्यतया जुनसुकै संस्थामा पनि प्रिन्सिपल कम्पनी र प्रतिनिधि कम्पनीको रणनीतिमा तालमेल भएन भने त्यहाँ काम हुन सक्दैन । त्यसैले हामी टाटा मोटरको रणनीति र हाम्रो रणनीतिलाई कसरी तालमेल गर्दै लिएर जाने भन्ने कुरा हेर्छौं । त्यसको आधारमै रणनीति बनाएर र त्यसको कार्यान्वयन योजना बनाएर काम गर्ने हो । त्यसैले गर्दा धेरै कुरा प्रिन्सिपल कम्पनीसँग मिल्छ । नेपालको वास्तविकता अनुसार कति कुरा भने आफैले विकास गर्नुपर्ने पनि हुन्छ । त्यो निरन्तर प्रक्रिया हो । 

तपाईंहरूले नेपालभर उच्चस्तरको सर्भिस सेन्टर खोल्नुभएको छ । त्यो सर्भिस सेन्टरको रूपमा मात्र रहन्छ कि अरू सुविधा पनि थपिन्छन् ?
अहिलेसम्म त्यो सोच छैन । हाम्रो नेपालका ग्राहकको आवश्यकता अनुसार वर्कशप विकास गर्दै लैजाने हो । अहिले नेपालभर ५६ ओटा विन्दुबाट ग्राहकलाई सेवा दिइरहेका छौं । 

पूर्वाधारको विकास नभई देशको विकास हुन सक्दैन । 

कस्तो प्रकारको सेवा दिनुहुन्छ ?
गाडीको मर्मत सम्बन्धी सम्पूर्ण सेवा, स्पेयर पार्ट्सको सेवा दिन्छौं । साथै गाडी विक्री पनि नेपालका थुप्रै ठाउँबाट गर्न थालेका छौं । अहिले ३६ ओटाजति सेल्स पोइन्ट पनि खोलिसकेका छौं । 

विद्युतीय गाडी त ल्याउनुभयो । त्यसका लागि ब्याट्री चार्जर स्टेशन कतिओटा बनाउनुभयो ?
हामीले आजभन्दा ३ वर्षअघि विद्युतीय गाडी नेपालमा ल्याएर परीक्षण गर्‍यौं । तर त्यतिबेरै बेच्न शुरू गरेनौं । त्यो बेला हामीले के महशुस गर्‍यौं भने विद्युतीय सवारीसाधन बेच्ने मात्र होइन, त्यसको इको सिस्टम (वातावरण) पनि बनाउनुपर्छ । चार्जिङ, रिपेयर, मेन्टिनेन्स लगायतको व्यवस्था नभईकन विद्युतीय गाडी मात्र ल्याएर सफल हुँदैन । हामीले विद्युतीय गाडी ल्याएर त्यो सफल नभएको भए मानिसलाई विद्युतीय गाडी कामै नलाग्ने रहेछ भन्ने लाग्न सक्थ्यो । मानिसले त्यो रूपमा हेर्न थालेपछि विद्युतीय गाडीको व्यवसाय नै धराशयी हुन्थ्यो । त्यहीकारण हामीले सबैभन्दा पहिला हामीले इको सिस्टम बनाउनुपर्छ भन्ने सोच्यौं । त्यसका लागि सबैभन्दा शुरूमा चार्जिङ पोइन्ट बनाउनुपर्छ र त्यसपछि वर्कशप चाहिन्छ । त्यसपछि राजमार्गमा ६० देखि ७० किलोमिटरभित्र एउटा फास्ट चार्जिङ स्टेशन हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । त्यही अनुसार पूर्व मेचीदेखि पञ्चिम महाकालीसम्म १६ ओटा डीसी फास्ट चार्जर राखिसकेका छौं, जसले १ घण्टामा गाडी फुल चार्ज हुन्छ । त्यसबाहेक एसी चार्जर हामीले देशभरि नै राखिरहेका छौं । 

कोर भ्यालूमा एकदमै कडाइ गर्छौं, कुनै सम्झौता गर्दैनौं ।

भविष्य कसरी जान्छ, व्यवसाय कसरी जान्छ भन्ने आकलन गर्न सिप्रदीको छुट्टै डिपार्टमेन्ट छ भन्ने सुनिन्छ । यो साँचो हो ?
हाम्रो संस्थाकोे ढाँचा हेर्ने हो भने अपरेशन हेर्ने र रणनीति तथा उत्कृष्टता हेर्ने डिभिजन छुट्टै छन् । रणनीति तथा उत्कृष्टता हेर्ने डिभिजनले निरन्तर बजार अध्ययन गर्ने र बजार कसरी जान्छ, त्यस अनुसार हाम्रो रणनीति के हुनुपर्छ भन्ने कुरा हेर्छ ।

त्यसोभए गाडीको बजारको भविष्य कस्तो देख्नुहुन्छ त ? 
नेपालमा व्यापारिक गाडीको बजार बढ्दै जान्छ । किनभने हाम्रो देशमा विकाससँगै भौतिक पूर्वाधारको विकास भइरहेको छ । पूर्वाधारको विकास हुनेबित्तिकै गाडीको माग बढ्छ । अर्को कुरा के हो भने जति आधुनिकता बढ्दै जान्छ, त्यही अनुसार सवारीसाधनको आवश्यकता बढ्दै जान्छ । अहिले सरकारले भनिरहेको पनि छ हाम्रो देशको यातायातको मेरुदण्ड भनेको नै सडक यातायात हो । देश जति विकास हुँदै जान्छ, सवारीको माग त्यति बढ्दै जाने हो । यात्रु गाडी हेर्ने हो भने मान्छेको कमाउने क्षमता बढेसँगै अहिले कार पनि आवश्यकताको वस्तु बन्दै गएको छ । कार मानिसको आवश्यकतामा बनिसकेपछि स्वाभाविक रूपमा त्यसको उद्योग पनि बढ्छ ।  

अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढेको छ । त्यसको प्रभाव पेट्रोल/ डिजेल हालेर चलाउने साधनको विक्रीमा परेको नै होला । कति परेको छ ?
परेको त छ । तर पेट्रोलियम पदार्थको मूल्य वृद्धिभन्दा पनि तरलता संकटको प्रभाव बढी परेको छ । किनभने गाडी भनेको सबै नगद तिरेर किन्ने होइन । प्रायः गाडी फाइनान्समा किनिन्छ । त्यसका लागि बैंकले फाइनान्स गर्नुपर्‍यो । बैंकले अहिले फाइनान्स नगरेको अवस्था छ । माग हुँदाहुँदै पनि फाइनान्स नगरेको स्थिति भएकाले ठूलो प्रभाव परेको छ । त्यसपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धिले पनि प्रभाव परेको छ । 

पछिल्ला तरलता संकटहरूमा सिप्रदीले कुशलतापूर्वक व्यवस्थापन गरेको थियो । अहिले पनि केही न केही व्यवस्थापन गर्नुभएको होला । कसरी गरिरहनु भएको छ ?
उद्योग नै खुम्चिएको स्थितिमा हामीले मात्र बढाउँछौं भन्न सम्भव छैन । अहिले हाम्रो मुख्य फोकस एउटा कुनै संख्या कसरी पु¥याउने भन्नेमा छ । त्यसका लागि बैंकसँग पनि अनुरोध गरेर अलिअलि फाइनान्स गराइरहेका छौं । त्यससँगै आफ्नो हायर पर्चेज कम्पनीबाट पनि अलिअलि फाइनान्स गरिरहेका छौं । त्यसले केही संख्यामा गाडी विक्री गरिरहेका छौं । हाम्रोमा कर्मचारीको संख्या ठूलो छ । हामी सधैं के भन्छौं भने उनीहरू हाम्रो सम्पत्ति हुन् । जबसम्म कामदार राम्रो हुन्छ, तबसम्म मात्र कम्पनीले राम्रो गर्छ । त्यसैले हामीले जहिले पनि कामदारको बारेमा सोचिरहेका हुन्छौं । हाम्रा त्यति धेरै कामदार छन् । ती सबैको परिवार पाल्नुपर्ने हुन्छ । अहिले विक्रीको संख्या कम हुँदा कसरी धान्ने भन्ने भएको छ । यसले गर्दा हामी कसरी लागत घटाउने भन्ने सोचिरहेका छौं । कसरी कुशल रूपमा स्रोतको, चालू पूँजीको व्यवस्थापन गर्न सकिन्छ, त्यतातिर पनि ध्यान दिइरहेका छौं । 

‘लोन टु भ्यालू रेशियो’ बढाएर कम्तीमा पनि ७०/८० प्रतिशत बनाउनुपर्छ ।

अहिले सरकारले ल्याएको बजेटबारे नाडाको उपाध्यक्ष भएको नाताले तपाईं के भन्नुहुन्छ ?
सिप्रदीको सीईओ भएर होस् अथवा नाडाको उपाध्यक्ष भएर होस् म सरकारसँग के भन्न चाहन्छु भने सडक यातायातलाई देशको मेरुदण्ड हो भनेर पनि यसलाई उत्पादक क्षेत्रका रूपमा लिन किन नसकेको हो ? अहिलेको प्रमुख मुद्दा नै यही हो । धेरैजसो गाडीमा बैंकले फाइनान्स गर्ने हो । तर त्यसमा ‘लोन टु भ्यालू रेशियोे’ ५०/५० गरिएको छ । मानिसलाई ५० प्रतिशत डाउन पेमेन्ट हालेर गाडी किन्न धेरै गाह्रो छ । अर्को कुरा, यात्रु गाडीको आयात नै बन्द छ । त्यो छिटोभन्दा छिटो खुलाउनुपर्‍यो भन्ने माग हाम्रो छ । लोन टु भ्यालू रेशियो बढाएर कम्तीमा पनि ७०/८० प्रतिशत बनाउनुपर्छ । करको संरचना पनि सुधार गर्नुपर्छ ।


अहिले व्यापारिक गाडी र यात्रु गाडीमा कर कति छ ? 
व्यापारिक गाडी व्यापारिक नै प्रयोजनको भएको हुनाले यसमा सरकारसँग केही भनिरहेका छैनौं । यात्रु गाडीमा २४०/२५० प्रतिशतदेखि शुरू भएर ३१० प्रतिशतसम्म कर लागिरहेको छ । त्यो घटाउनुपर्छ ।

नाडाको माग कति प्रतिशतले घटाउनुपर्ने भन्ने छ ? २४० देखि ३०० सम्म सबैलाई समान रूपमा घटाउने भन्ने हो कि, कस्तो ?
त्यस्तो होइन । विलासिताको र आवश्यकताको सामानमा त फरक हुनुपर्छ नै । आवश्यकताको गाडीमा घटाउनुपर्छ । हाम्रो भनाइ के हो भने अहिले जति छ, त्यसमा ५० प्रतिशत घटाउनुपर्‍यो ।

तपाईंले अटो मोबाइललाई उत्पादक क्षेत्र हो भनेर सरकारले पहिचान गरिदिनुपर्छ भन्नुभयो । उत्पादक क्षेत्र घोषित भयो भने के के सुविधा पाइन्छ ?
सबैभन्दा मुख्य कुरा त बैंकले दिने कर्जा नै हो । उत्पादक क्षेत्र भनियो भने यसमा बैंकको लगानी प्राथमिकतामा पर्छ । हामीले यसमा थप प्रोत्साहन पाउनुपर्छ भन्दा पनि प्राथमिकतामा पर्नुपर्‍यो, ता कि बैंक कर्जा लिँदा ग्राहकलाई दुःख नहोस् । उत्पादक क्षेत्रलाई जुन सुविधा दिइरहेको छ, यसलाई पनि दिनुपर्‍यो । उत्पादक भन्नेबित्तिकै ब्याजदर पनि कम हुन्छ । यसले ग्राहकलाई बोझ कम हुन्छ ।

गाडीका डिलर साथीहरू सरकारले पूर्वाधारमा खर्च गरेन भन्नुहुन्छ । शहर बजारमा बाटो बढाउने ठाउँ नै छैन । ग्राहकको अधिकारको रूपमा मैले जुन मन लाग्यो, त्यो गाडी चढ्न पाइरहेकै छु । अब यो दुईओटा कुरालाई कसरी हेर्ने ?
पूर्वाधारको विकास नभई देशको विकास हुन सक्दैन । त्यसकारण पूर्वाधारको विकास हुन जरुरी छ । मानिसको जीवनस्तर पनि बढ्दै गएको छ । त्यही अनुसार ग्राहकको आवश्यकता पनि परिवर्तन हुँदै जान्छ । हिजो जुन कुरा विलासिताको रूपमा थियो, भोलि त्यो आवश्यकता हुन्छ । त्यही आधारमा कर लगाउनुपर्छ । 

संसारमा जति पनि राम्रा र मह“गा गाडी छन् ती नेपालका सडकमा देख्न सकिन्छ । देश गरीब छ, पैसा छैन भनिन्छ । तैपनि गाडी यस्तो चलाइरहेको छ भन्ने कुरा पनि सुनिन्छ । यस विषयमा के भन्नुहुन्छ ?

त्यस्तो गाडीको शेयर कति छ भन्ने हेर्नुपर्छ । हाम्रोमा त्यसको शेयर एक–डेढ प्रतिशत मात्र हो । हाम्रो नेपालमा धनी मानिसहरू १/२ प्रतिशत पनि नभएको हो र ? अर्बपतिहरू पनि हुनुहुन्छ । उहाँहरूले त्यो किन्न सक्नुहुन्छ । तर अहिले पनि ठूलो संख्यामा ग्राहकले किन्ने भनेको त्यही २०/३०/४० लाखकै गाडी हो । १ करोड माथिको गाडीको मार्केट हेर्ने हो भने यो धेरै सानो छ । 

अहिले सरकारले बजेटमा विद्युतीय गाडीमा लगाएको करलाई कसरी हेर्नुभएको छ ?

नेपाल मात्र होइन, विश्व नै विद्युतीय गाडीको प्रयोग बढाउनेतर्फ गइरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो अझै समय सान्दर्भिक हुन्छ । किनभने हाम्रो अहिलेको सबैभन्दा बढी व्यापार घाटा पेट्रोलियम पदार्थले गर्दा भएको छ । हामीले आफै बिजुली उत्पादन गर्न सक्छौं, गरिरहेका छौं । अहिलेको तथ्यांक हेर्ने हो भने अर्को वर्षदेखि नै विद्युत् धेरै उत्पादन हुन थाल्छ । त्यसको खपत गर्नुपर्ने हुन्छ । विद्युत् खपत हुन सकेन भने खेर जान्छ । हामीले प्रतिव्यक्ति विद्युत् खपत बढाउनुपर्ने हुन्छ । त्यो गर्नेबित्तिकै व्यापारघाटा सन्तुलनमा आउँछ । मलाई सरकारले राम्रो सोच लिएर अगाडि बढे जस्तो लाग्छ ।

सिप्रदीले विद्युतीय गाडी टाटा नेक्सनको व्यापार कस्तो गरिरहेको छ ?

हामीले आपूर्ति गर्न सकिरहेका छैनौं । सिप्रदी र टाटालाई जसरी ग्राहकले विश्वास गर्छन् । कस्तोे देखियो भने ग्राहक  नेक्सनका लागि ७/८ महीना पनि कुर्न तयार छन् । अहिले हामीले दिन सकिरहेका छैनौं ।

टाटाले पहिले सबैभन्दा सस्तो कार ‘नानो’ ल्याएको थियो । त्यो प्रोजेक्ट त फेल भयो होइन ?
प्रोडक्टकै कुरा गर्ने हो भने त्योभन्दा राम्रो र समस्या नभएको प्रोडक्ट मैले अहिलेसम्म देखेको छैन । मार्केटिङको समस्या भयो । पोजिशनिङ ठीक भएन । हामीले बेचेका नानो कारहरू अहिले ९/१० वर्षसम्म मजासँग चलिरहेका छन् । कसैको इन्जिन खोल्नुपरेको छैन ।

हाम्रो देशमा विद्युतको आपूर्ति बढ्न थालेको छ । तपाईंको विचारमा आईसीई गाडी र विद्युतीय गाडीको भविष्य कसरी हेर्नुभएको छ ? 
सरकारले यसलाई कसरी हेर्छ भन्नेमा भर पर्छ । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्छ भन्ने यो बढ्छ । अहिलेको जस्तै नीति निरन्तर भयो भने विद्युतीय गाडीको व्यापार बढेर जान्छ । अहिले विद्युतीय गाडीको पहुँच निकै बढेको छ । तर नेपालमा नीति स्थायी हुँदैन । विगत दुई वर्षमा विद्युतीय गाडीको कर तीनपटक परिवर्तन भइसक्यो । अहिलेको जुन नीति छ, त्यही अगाडि बढ्यो भने अर्को ३ वर्षमा २८/३० प्रतिशत हिस्सा विद्युतीय गाडीको नै हुन्छ । तर विद्युतीय गाडीलाई प्रोत्साहन गरे पनि त्यसलाई चाहिने एडप्टर, चार्जरमा भने कर उस्तै छ । डीसी चार्जरलाई नै २५ लाख रुपैयाँ पर्छ ।

विद्युतीय गाडीको ठूलो चुनौती भनेको यसको ब्याट्री कसरी थान्को लगाउने भन्ने हो । त्यसको कसरी व्यवस्थापन हुन्छ ? 
अहिले प्रविधि यति धेरै परिवर्तन भएको छ । नयाँ नयाँ इन्नोभेशन र अनुसन्धान भइरहेको छ । अहिले यसको वैकल्पिक प्रयोग के हुन सक्छ भनी खोजी भइरहेको छ । सबैभन्दा पहिला यसलाई विद्युतीय टेम्पोमा प्रयोग गर्न सकिन्छ कि भनेर हेरिँदै छ । त्यस्तै यसलाई अफ पिक आवरमा चार्ज गरेर पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ होला । अर्को कुरा, हामीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइरहेका छौं भने कम्तीमा पनि ९/१० वर्ष त चलि नै हाल्छ । यसैबीच यसबारे थप अनुसन्धान पनि भइरहेका छन् । त्यसैले पछि गएर समस्या हुन्छ जस्तो लाग्दैन । 

प्यासेन्जर कार, विद्युतीय गाडीमा सिप्रदीका योजना के के छन् ? विद्युतीय गाडीको एसेम्बली यहीँ गर्न सकिने सम्भावना कति छ ?
यो गाडी एसेम्बलीको कुरा गर्दा हामी सधैं सकारात्मक छौं । हामीलाई एकमात्र समस्या के हो भने सरकारको नीति स्थायी भएन । लगानीको सुरक्षा के त ? कुनै पनि उत्पादन ल्याउने हो भने सानो लगानीले त आउने भएन । त्यसको सुरक्षा हुन सक्छ भने कारको मात्र के कुरा, ब्याट्री, लुब्रिकेन्ट सबैको उद्योग राख्न हामी तयार छौं । यस अनुसार गृहकार्य पनि गरिरहेका छौं । सरकारको नीति परिवर्तन भएन भने हामी एसेम्बली यहीँ गर्ने सोचमा छौं ।

यात्रु गाडी, कार्गो गाडीमा योजना के छ ?
विद्युतीयमा कसरी जाने सोचिरहेका छौं । त्यस विषयमा टाटाले पनि गृहकार्य गरीरहेको छ । त्यही अनुसार हामी पनि अगाडि बढिरहेका छौं ।

अब सीएसआरबारे कुरा गरौं । सिप्रदीयन सहायता संस्था भनेर तपाईंहरूले शुरू गर्नुभएको थियो । अहिले सिप्रदीयनले कहाँ कहाँ के के गरिरहेको छ ?

व्यवसाय त गर्नुपर्छ, तर यससँगै समाजलाई पनि केही गर्नुपर्छ भन्नेमा हामी एकदमै प्रतिबद्ध छौं । हामीले सामाजिक उत्तरदायित्व (सीएसआर)का जति पनि काम गरीरहेका छौं, त्यसमा कुनै पूर्वाग्रहविना व्यवसायको सामाजिक दायित्व पूरा गरिरहेका छौं । एउटा त नाफाकोे केही प्रतिशत सीएसआरका लागि छुट्ट्याएका छौं ।  त्यो मात्र होइन, हामीले टाटा ट्रस्टको सहयोगमा पनि धेरै काम गरिरहेका छौं । जस्तै– स्कुलहरू बनाउने, स्कुलको पुनर्निर्माण गर्ने गरिरहेका छौं । पुरानो खालको होइन, एकदम आधुनिक स्कूल । स्वास्थ्य चौकी पनि बनाइरहेका छौं । अर्को वाश भन्ने प्रोजेक्ट चलाइरहेका छौं । यसबाट विद्यार्थीका लागि सफा, सुग्घर वातावरण बनाउन काम गरिरहेका छौं । 
 
कतिओेटा प्रोजेक्ट छन् अहिले ? कहाँ कहाँ छन् ?
देशभरि नै हाम्रो प्रोजेक्ट चलिरहेको छ । ६/७ ओटा स्कुल त बनाइनै सक्यौं । दुईओटा स्वास्थ्य संस्था बनाइसकेका छौं । अर्को महिला सशक्तीकरणका लागि काम गरिरहेका छौं । चेपाङ समुदायका केही मानिसलाई चितवनमा सहयोग गरिरहेका छौं । हामीले ड्राइभिङ सेफ्टीको विषयमा काम पनि गरिरहेका छौं । यसमा चालकहरूलाई सुरक्षित ड्राइभिङको तालीम दिइरहेका छौं । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement