काठमाडौं । सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा त्यसको पैठारीमा खर्च हुनेभन्दा आठ गुणा बढी विदेशी मुद्रा आम्दानी गर्ने बाटो थुनिएको सम्बद्ध व्यवसायीले बताएका छन् ।
नेपाल मदिरा पैठारीकर्ता संघले मंगलवार राजधानीमा एक पत्रकार सम्मेलन गरी तयारी मदिरा आयात गर्दा प्रतिलिटर १५ अमेरिकी डलर विदेशिने तर त्यही मदिरा होटेल, रेस्टुराँ वा बारमा राखेर विदेशी पर्यटकलाई विक्री गर्दा प्रतिलिटर १२० अमेरिकी डलर आम्दानी हुने दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलकुमार अग्रवालले भने, ‘मदिरा आयात गर्दा प्रतिलिटर औसत १५ अमेरिकी डलर बाहिरिन्छ । तर जब त्यसलाई होटेल, रेस्टुरेन्ट र बारमा बेचिन्छ, तब १२० अमेरिकी डलर आर्जन हुन्छ । स्पिरिटबाट बनेका मदिरा (ह्विस्की, भोट्का, जिन, रम)बाट उक्त मात्रामा आम्दानी हुने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले तयारी मदिरा आयात गर्दा वार्षिक करीब १ करोड २० लाख अमेरिकी डलर (१ अर्ब ५० करोड रुपैयाँ) विदेशिने र त्यसबाट सरकारलाई ३ अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त हुने तथ्यांक पनि प्रस्तुत गरे । अहिले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएर सरकारले अवैध पैठारीलाई प्रोत्साहन गरिरहेको उनको दाबी छ । अध्यक्ष अग्रवालका अनुसार तयारी मदिरा आयातमा बाहिरिने रकम एक वर्षमा विभिन्न वस्तु आयातका लागि बाहिरिने कुल विदेशी मुद्राको शून्य दशमलव १० प्रतिशत मात्र हो ।
सरकारले गत वैशाख १३ देखि तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका कारण आधिकारिक बाटोबाट आउने विदेशी मदिराको आपूर्ति घटेसँगै अन्तरराष्ट्रि«य ब्रान्डका नक्कली सामान बजारमा आउन थालिसकेको संघको भनाइ छ ।
संघका महासचिव गौरव शारदाले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएर सरकारले तस्करका लागि बाटो खोलिदिएको आरोप लगाए । मदिरा उच्च दरमा कर लाग्ने वस्तु भएकाले कर छलेर ल्याउँदा धेरै नाफा हुन्छ, जसले गर्दा सीमावर्ती बजारमा यसको तस्करी बढेको उनको भनाइ छ । ‘आयातमा प्रतिबन्ध नलागेको बेला पनि भारतबाट त्यहाँ राजस्व तिरेको मदिरा चोर बाटोबाट नेपाल ल्याएर बेचेको हामीले देखेकै हो,’ शारदाले भने, ‘अहिले त यहाँ प्रतिबन्ध लागेको छ । एक लिटर मदिरा राजस्व छलेर भित्र्याउँदा साढे ३ हजार नाफा हुन्छ ।’ गत माघमा भारतबाट अवैध रूपमा आयात गरिएको २१६ कार्टोन विदेशी ब्रान्डका मदिरा राजधानीको कपन, बानेश्वरलगायत ठाउँबाट प्रहरीले बरामद गरेको थियो ।
महासचिव शारदाले तयारी मदिरा आयातका विषयमा गलत तथ्यांक प्रचार भइरहेको भन्दै सही तथ्यका आधारमा समाचार बनाइदिन सञ्चारकर्मीलाई आग्रह गरे । उनले तयारी मदिरा आयातमा वार्षिक १ करोड २० लाख अमेरिकी डलर बराबर रकम विदेशिइरहेको बताए । ‘तर, मदिरा उद्योगको कच्चा पदार्थ आयातको रकमसमेत जोडेर धेरै बाहिरिएको गलत प्रचार भइरहेको छ,’ उनले भने, ‘यसले आयातमा प्रतिबन्ध लगाएर वैधानिक कारोबार सिध्याउने खेल भयो ।’ मदिरा आयातमा कति विदेशी मुद्रा बाहिरिएको छ र त्यसबाट कति राजस्व र विदेशी मुद्रा आर्जन भएको छ भनेर सामान्य हिसाब निकाले पनि प्रतिबन्ध औचित्यहीन ठहरिने उनको भनाइ छ ।
नेपालमा उच्च भन्सार र अन्तःशुल्कका कारण यहाँको अधिकतम खुद्रा मूल्य र भारतीय बजारको अधिकतम खुद्रा मूल्यबीच ठूलो अन्तर भएकाले भारतको उत्तरप्रदेश र पश्चिम बंगालबाट लोकप्रिय ब्रान्डका मदिरा ठूलो परिमाणमा तस्करी हुन थालेको संघको भनाइ छ ।
मदिरा आयातमा प्रतिबन्ध लाग्दा होटेल, रेस्टुराँ र बारको आयआर्जन घट्ने र उनीहरू कर्मचारी कटौती गर्न बाध्य हुने हुँदा यसले रोजगारीमा समेत प्रतिकूल असर पर्ने अध्यक्ष अग्रवालले दाबी गरे ।
सोही पत्रकार सम्मेलनमा नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पर्यटकलाई विदेशी मदिरा बेचेर फाइदा लिनुपर्नेमा आयातमा प्रतिबन्ध लगाएर सरकारले तस्करीलाई बढावा दिएको आरोप लगाए । ‘सरकारले आयातमा प्रतिबन्ध लगाएपछि लुकिछिपी आउँछ, राजस्व गुम्छ र जनस्वास्थ्यमा पनि नकारात्मक असर पर्छ,’ उनले भने, ‘मदिरामा निर्भर व्यवसायमा आश्रितको रोजगारी गुम्छ ।’
नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा नेपाल आएका विदेशी पर्यटकलाई बढीभन्दा बढी खर्च गराउने सरकारको योजनामा पनि उल्टो असर पर्ने बताउँछन् । ‘सरकार एकातिर विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढाउने भन्छ, अर्कोतिर खर्च गर्ने बाटो नै बन्द गरिदिन्छ,’ सिंखडाले भने, ‘मदिरामा प्रतिबन्ध लगाएपछि पर्यटकले केमा खर्च गर्ने त ?’
सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा व्यावसायिक प्रयोजनका गाडी, गोदाम जस्ता पूर्वाधारमा गरेको ठूलो लगानी खेर जाने जोखिम बढेको उनले बताए । आयातित मदिरा विक्रीका लागि भनेर फर्म दर्ता गरेका व्यवसायी अप्ठ्यारोमा परेको र बजारमा नक्कली सामान आएको सिंखडाको भनाइ छ ।
मदिरा पैठारीकर्ता संघका सदस्य अमित शर्माले पनि आयातमा लगाइएको प्रतिबन्धले अन्तरराष्ट्रिय स्तरको मदिरा खपत हुने पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने र चोरी पैठारी बढ्ने बताए । खुला सिमानाबाट एक व्यक्तिले २–४ बोटलका दरले ल्याउँदा पनि ठूलो परिमाणमा विदेशी मदिरा भित्रिने उनले बताए ।
नेपाल सरकारले निजी प्रयोजनका कार, तयारी मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ सम्मका लागि थप गरेको छ ।