ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संघीय संसद्को चुनाव महँगो हुने

२०७९ साउन, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय तहको भन्दा संघीय संसद्को आसन्न चुनाव खर्चिलो हुने भएको छ । संघीय संसद्को चुनाव आगामी मङ्सिर ४ गते हुन सक्ने संकेत गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो महँगो हुने संकेत गरेका हुन् । उनले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए । निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ । उनका अनुसार अगामी मन्त्रिपरिषद्बाटै चुनावको मिति तोकिने सम्भावना छ । ‘आउँदो क्याबिनेट बैठकबाट मङ्सिर ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ,’ मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने । स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने भएकाले संघीय चुनाव महँगो हुने उनको भनाइ छ । थपलियाका अनुसार स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा आयोगको खर्च बढ्न सक्नेछ । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदोमा ८ करोड छाप्नुपर्नेछ ।

यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले बताए । ‘मतपेटिकासँगै कर्मचारी पनि थप्नुपर्ने हुन्छ र स्वाभाविक रूपमा खर्च बढ्छ,’ उनले भने । तर, मितव्ययी निर्वाचनमा आयोग प्रतिबद्ध रहेको थपलियाले बताए । आउँदो निर्वाचनको आन्तरिक तयारीमा आयोग लागिसकेको उनले जानकारी दिए । आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च पनि सार्वजनिक गरेको छ । आयोगका अनुसार उक्त निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रूपैयाँ खर्च भएको छ ।

निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रूपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको ३ अर्ब ६ लाख ८६ करोड रूपैयाँ फिर्ता गरेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार सचिवालयमा १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रूपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रूपैयाँ खर्च भएको छ ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा प्रतिमतदान केन्द्र २ लाख २९ हजार ५७८ रूपैयाँ र प्रतिमतदाता २८४ रूपैयाँ खर्च भएको बताए । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च संघीय मोडेलमा तल्ला तहबाट भएको आयोगले जनाएको छ ।

लोकप्रिय मत कांग्रेसको
स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा एमालेभन्दा नेपाली कांग्रेस करीब लाख मतले अघि देखिएको छ । आयोगले सार्वजनिक गरेको आधिकारिक मत विवरणअनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले वडाहरूमा पाएको मत ३८ लाख ११ हजार ६०२ छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ । चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत पाएको छ । छैटौं स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौं स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement