साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (बिहीवार)देखि फोहोर संकलन गर्ने भएको छ । डम्पिङ साइटसम्म पुग्ने बिग्रिएको बाटो मर्मत गरे पछि बिहीवार बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि सवारी साधन आउने महानगरले जनाएको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको भन्दै साउन ३ गते शहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो ।
बैठकले ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो । त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।
।
महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहोर्याएको छ ।