साउन ११, कञ्चनपुर । हिजोआज ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीहरुलाई मुस्किल भएको छ । केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फलको अहिले बजारमा उच्च माग छ ।
बढ्दो बजार मागका कारण ड्रागन फलको व्यावसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् । सिउँडी जस्तो देखिने ड्रागन फलबारे अझै पनि कतिपय त अनविज्ञ नै छन् ।
सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यावसायिक खेती शुरू भएको छ ।
वलीले सुदूरपश्चिम प्रदेशमै २०७७ साउनदेखि पहिलोपटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिघा जग्गा भाडामा लिएर एक वर्षअघि यो खेती शुरू गरेका हुन् । ‘युट्युब हेरेर ड्रागन खेती शुरू गरेको हुँ,’ वलीले बताए ।
‘बजारमा ड्रागन फलको माग अत्यधिक छ,’ उनले थपे, ‘ड्रागन खोज्न फर्ममा आउनेको माग पनि पूरा गर्न सकिएको छैन ।’ उत्पादित फल फर्मबाटै बिक्ने भएकाले बजारसम्म लैजान नपाएको उनले बताए ।
१८ महीनामा फल्ने भनिए पनि छिट्टै फलेकाले उनले एक वर्षमै ५ सय किलो ड्रागन फल बेचिसकेका छन् । उनले दाङ र सिन्धुलीबाट बिरुवा ल्याएर डेढ बिघामा ३ हजार ५ सय बिरुवा रोपेका हुन् ।
ड्रागन खेतीभित्र लगाइएको अन्तर बालीको आम्दानीबाट उनले जग्गा भाडा तिर्ने गरेका बताए । उनले आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य पनि राखेका छन् ।
‘मैले हालसम्म ३२ लाख रूपैयाँ लगानी गरेर दुई जनालाई रोजगारी पनि दिएको छु, ‘उनले भने, ‘अहिले फल किन्न मात्र नभएर हेर्न मात्र पनि धेरै आउने गरेका छन् ।
‘लगाएको तीन वर्षमा ड्रागनले राम्रो उत्पादन दिन्छ,’ उनले भने, ‘२०७७ साउनमा लगाएको ड्रागनका केही बोटमा २०७८ असारमै फल लागेको थियो ।’ यसबाट खास उत्पादन १८ महीनापछि हुने उनी बताउँछन् । बोटमा फलेका एक–दुई दाना प्रतिकेजी ६ सयका दरले फर्मबाटै बेचेको उनी बताउँछन् ।
‘सुदूरपश्चिम प्रदेशमै पहिलोपटक स्थापना भएको गोदावरी ड्रागन फल खेतीलाई प्रदेश सरकार अन्तरगतको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रूपैयाँ अनुदान दिएको छ,’ कृषि विकास निर्देशक यज्ञराज जोशीले भने । कृषि अनुसन्धान टोलीले ड्रागन खेतीको निरीक्षण गरिरहेको पनि उनले बताए ।
जेशीले उक्त फार्ममा बोक्रा गुलावी र गुदी सेतो, अर्को बोक्रा गुलावी र गुदी रातो हुने दुई प्रजातिका ड्रागन रहेको बताए । यस फलको नियमित सेवन गर्ने मानिसको मुटु स्वस्थ रहने बताइन्छ । यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्ने उनले जानकारी दिए ।
ड्रागन खेतीका लागि प्राविधिक सल्लाह र सहयोग आवश्यक परेमा कृषि विकास निर्देशनालय वा मातहतका कार्यालयमा सम्पर्क राख्न निरीक्षक जोशीले अनुरोध गरे ।
‘ड्रागन फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ,’ जोशीले थपे, ‘जेठदेखि कात्तिकसम्म यसको उत्पादन हुन्छ ।’ यसले २० वर्षसम्म उत्पादन दिने उनले बताए ।