ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२१००  विन्दुमाथि नेप्से, वित्त समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

२०७९ साउन, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार १११ दशमलव ९९ विन्दुमा पुगेको हो । बुधवार बजार शुरुमा भने विक्रेता हावी भएपनि बजार बन्द हुने समयसम्ममा खरीदकर्ता आकर्षित भएका छन्। यो बेला भनेको  लाभांशको लागि शेयर खरीद गर्ने अवसर रहेको विश्लेषकहरु बताउँछन् ।

हालसम्म गत आवको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुले नाफामूलक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । बजार बढिरहँदा लगानीकर्ताको आकर्षण कम भोलुम भएका कम्पनीमा परेको देखिन्छ ।  सोही कारण उनीहरुको आकर्षण बढ्दा बुधवार कम भोलुम भएका वित्त र लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले वृद्धि भएको हो । 

पछिल्लो समय बजारमा समान्य करेक्सन हुदै बढ्दै गएको छ । त्यसोत लगानीकर्ताले प्रोफिट बुक गर्दै पुन लगानी गरेका छन् । आइतवार र सोमवार बजार ११५ अंकले बढेको थियो भने मंगलवार भने लगानीकर्ताले प्रोफिट बुक गरेका थिए ।

पुन : बुधवार बजारमा खरीदकर्ता आएका छन् । यद्यपि लगानीकर्ताले बजारको ट्रेण्ड र आफूले लगानी गर्ने कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गर्न आवश्यक छ ।  यसो भएमा मात्र प्रतिफल प्राप्त गर्न सकिन्छ । अरुले भनेको र बजारिया हल्लाको भरमा शेयर खरीदविक्री गर्न हुँदैन ।

यस दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ५० हजार २९७ पटकमा रू.३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ मा खरीदविक्री भएको छ । कारोबारमा आएका २२७ ओटा धितापत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्स,युनाइटेड मोदी हाइड्रोपावर  र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

बुधवार सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन । इकाई मूल्य प्रतिइकाई रू.९ मा झरेको छ । त्यसैगरी ८ दशमलव ५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ५ दशमलव १९ प्रतिशत घटेर रू.८२० कायम भएको छ । 

बुधवार पनि सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ। यस दिन कम्पनीको रू. १७ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१६ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ । उक्त कम्पनीको रू. १२ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये ब्यापार समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ४ दशमलव १३ प्रतिशतले बढेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement