ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटन विकासको सम्भावना

नेपालले ध्यान नदिएका पक्षहरू

२०७९ साउन, १२  
लेख | दृष्टिकोण
Image Not Found
author avatar कमलराज ढुंगेल

नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा छ । हिमालयको काखमा अवस्थित नदीनाला, पहाड र मधेशका मनोरम दृश्यहरू आकर्षक र मनमोहक छन् । बिहानको झुल्के घाममा सेताम्मे चुचुराहरूले हँसाएको दृश्य पर्यटकका लागि मनमोहक बनिरहेको हुन्छ । मेचीदेखि महाकालीसम्म हिमालयको दृश्यावलोकनका लागि असंख्य डाँडाकाँडा छन् । उदाहरणका लागि नगरकोट र श्रीअन्तु डाँडालाई लिन सकिन्छ । मेचीदेखि महाकालीसम्म अनगिन्ती हिम चुचुराले सजिसजाउ भएको देश हो, नेपाल । विश्वका १० अग्ला हिमालमध्ये आठ अग्ला हिम चुचुरा नेपालमा पर्छन्, जसमा ६ अग्ला चुचुरा नेपाल र चीनको सिमानामा छन् भने बाँकी दुई नेपाली भूमिमै रहेका छन् । यी हिमालको विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिकामा प्रस्तुत हिमालहरू आरोहण गर्न पर्यटक आउने गर्छन्, विशेषगरेर पश्चिमा मुलुकका नागरिक । सीधैभन्दा यूरोप र अमेरिकाबाट पर्यटक आइरहेका हुन्छन् । यीमध्ये कतिपय पर्यटक हिमाल आरोहण गर्छन् भने बाँकीले दृश्यावलोकन गर्छन् । जुन पर्यटक मनोरञ्जन र दृश्यावलोकनका लागि नेपाल आएका हुन्छन् । उनीहरूको नेपालमा बसाइ छोटो हुन्छ । पर्यटकको नेपाल बसाइ अवधि लम्ब्याउन नेपालले इमानदारीका साथ कडा परिश्रम गर्नुपर्छ ।

पूर्वदेखि पश्चिमसम्म मनोरञ्जनात्मक हिमाली शृंखलाहरू फैलिएका छन् । यी हिमाली शृंखलामा आवतजावत गर्न पूर्वाधारको विकास हुन सकेको छैन । विदेशी पाहुनाहरू पदयात्राका लागि आउने गर्छन् । पर्याप्त पदयात्रा गर्ने ट्र्याक वा बाटा अभावले पर्यटकले पदयात्रा गर्न सकेका छैनन् । पदयात्रा गर्ने ट्र्याकको सुविधाले नेपालमा आएका पर्यटकको बसाइलाई लम्ब्याउन मद्दत गर्दै छ । यसको अभावमा उनीहरूको यात्रा छोटो समयमा नै सकिन्छ । पर्यटक जति लामो समय नेपालमा रहे त्यति नेपाललाई फाइदा हुने गर्छ । यी हिमाली शृंखलामा जान पदयात्राको निर्माण गर्नुपर्छ । पदयात्राद्वारा यी हिम शृंखलामा पुग्न महीनांै लाग्न सक्छ । यसले पर्यटकको नेपाल बसाइ अवधि लम्ब्याउन सकिन्छ । पर्यटकलाई सुविधा प्रदान गर्न पर्यटकीय पूर्वाधार आवश्यकता पर्छ । जस्तै पैदल यात्राका लागि पैदल ट्र्याकको निर्माण, घोडापालन र त्यसको व्यापारिक प्रयोजनमा प्रयोग अर्थात् पर्यटक र पर्यटकका लागि आवश्यक पर्ने सामानको ढुवानी, पर्याप्त होटेल तथा रिसोर्टहरूको विकास र स्थापना मनोरञ्जन स्थलहरूको निर्माण, पर्यटकलाई पथप्रदर्शन गर्ने दक्ष जनशक्तिको उत्पादन, अझ भन्ने हो भने पैदल यात्रीहरूका लागि एउटा डाँडाबाट अर्को ठाउँमा जान रज्जुमार्गको विकास गर्ने प्रयत्न गर्नुपर्छ । विश्वभरि प्रचारप्रसार विश्वका विभिन्न मुलुकमा ठूलो धनराशी खर्च गरेर पठाइएका राजदूतहरूलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ । यी सबै कार्यको विकासका लागि पर्याप्त स्रोतसाधनको आवश्यकता पर्छ । अविकसित देश भएकाले पर्याप्त स्रोतसाधनको अभाव छ जुन अनौठो कुरा होइन । एउटा घरपरिवारको आम्दानी सीमित भएजस्तै राज्यको आम्दानी पनि सीमित हुन्छ । सीमित आम्दानीको परिचालन गरेर विकास कार्यमा लगाउन दह्रो आँट, त्याग, प्रयत्न र इमानदारीको आवश्यकता पर्छ । नेपालको सन्दर्भमा भन्दा आँट, त्याग, प्रयत्न र इमानदारीको अत्यन्त अभाव देखिन्छ । पुरातात्त्विक महत्त्वका स्थलहरू नेपालका कुनाकुनामा रहेका छन् । ऐतिहासिक कलाकौशलका लागि काठमाडांै उपत्यका उर्वर थलोका रूपमा रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुर ऐतिहासिक कलाकौशल र संस्कृतिका लागि धनी छन् । विश्वभरिका पर्यटक पौराणिक र ऐतिहासिक कलाकौशल र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि नेपाल आउने गर्छन् ।

परापूर्वकालदेखि चल्दै आएको नेपाली कलाकौशल र संस्कृतिलाई जस्ताको तस्तै राख्न सक्नुपर्छ । यसले विदेशी पाहुनालाई आकर्षण गर्न सक्छ । विशेषगरेर काठमाडौं शहरमा ऐतिहासिक कलाकौशल र संस्कृतिको संरक्षण हुन सकेको छैन । प्राचीन इँटाले बनाइएका टोलटोलका सडकहरू कुरूप भएका छन् । कहीँ आधुनिक सिमेन्ट र ढुङ्गाको प्रयोग गरी गल्लीगल्लीका सडकहरू बनाइएका छन् भने कहीँ मर्मतसम्भारको अभावले क्षतविक्षत छन् । नेपालको राजधानी काठमाडौं शहर अस्तव्यस्त र कुरूप बनाइएको छ । फोहोर व्यवस्थापन हुन नसकेर सडकहरू फोहोरले भरिएका छन् । परम्परादेखि रहँदै आएका खोलाखोल्सा मासेर सडक र घरहरू बनाइएका छन् । पानी बग्ने ठाउँको अभावका कारण सडक नै खोलो बनिरहेको छ । घरघरमा पानी पसिरहेको हुन्छ । बाटोमा बाढी आइरहेका कारण बच्चाबच्ची विद्यालय जान सक्दैनन् । सवारीका साधनहरूको व्यवस्थापन हुन सकेको छैन । सार्वजनिक स्थलहरूको संरक्षण हुन सकेको छैन । कतिपय सार्वजनिक स्थानमा व्यक्तिविशेषका भवनहरू निर्माण भएका छन् भने कतिपय सार्वजनिक स्थलमा व्यक्तिविशेषका भवन बन्दै पनि छन् । उदाहरणका लागि बालुवाटारस्थित सार्वजनिक जग्गालाई लिन सकिन्छ । यही अस्तव्यस्त शहरमा विदेशी पर्यटकको पहिलो पाइला पर्छ । यस प्रकारको अस्तव्यस्तताले विश्वमा नकारात्मक सन्देश जाने कुरा सहजै अनुमान गर्न सकिन्छ । नेपालको पर्यटकीय क्षेत्रमा नकारात्मक सन्देश विश्वमा जानु भनेको पर्यटक आगमनमा ह्रास हुनु हो ।

विदेशी पर्यटकलाई आकर्षण गर्ने पुरातात्त्विक महत्त्वका स्थलहरूको संरक्षण हुन सकेको छैन । उदाहरणका लागि भूकम्पले क्षतिग्रस्त धरहराको निर्माणलाई लिन सकिन्छ । भूकम्प अगाडिको धरहराको निर्माणमा प्रयोग भएको जुन निर्माण सामग्री थियो, त्यसको प्रयोग नगरी आधुनिक निर्माण सामग्री प्रयोग गरेर तयार गरियो । धरहराले ऐतिहासिकता होइन, आधुनिकता झल्काइरहेको छ । जुन धरहराको स्वरूप थियो, त्यो अब लोप भएको छ । यसले के स्पष्ट पार्छ भने ऐतिहासिक स्थलहरूले आधुनिकता प्राप्त गरिरहेछन् । जसले विदेशी पर्यटकलाई आकर्षण गर्न सक्दैन ।

भक्तपुर र ललितपुरमा भने केही हदमा मठमन्दिरहरूको संरक्षण गरिएको छ । ऐतिहासिक स्थलहरूलाई यथावत् राख्ने प्रयत्न गरिएको छ । यी दुवै ठाउँमा भूकम्पले क्षतविक्षत हुन लागेका ऐतिहासिक भवनहरूको पुनर्निमाण हुन नसकेकाले प्रत्येक भवन टेकाले थामेर राखिएको देख्न सकिन्छ । यथेष्ट बजेटको अभावले यसो भएको हुन सक्छ । फोहोरमुक्त शहर बनाउन अनुशासित ढंगले कार्य गरिरहेको देख्न सकिन्छ । त्यही कुरा नेपालका अन्य शहरमा पाउन सकिँदैन । किन हो यसको उत्तर अनुत्तरित छ । जहाँ न उदाहरणीय कार्य हुन सकेको छ न त्यसको सराहना गर्ने गरिन्छ र त्यसबाट सिकेर अनुकरण नै गरिन्छ । बरु भएकोलाई पनि भत्काउने र बिगार्ने प्रयत्न गरिएको हुन्छ ।

माथि उल्लिखित कार्यहरू (रज्जुमार्ग, हिमाली क्षेत्रमा पदयात्राका लागि ट्र्याक निर्माण, ठाउँठाउँमा होटेल र रिसोर्टहरूको स्थापना, ऐतिहासिक र पौराणिक स्थलहरूको संरक्षण, प्याराग्लाडिङ, र्‍याफ्टिङ, मनोरञ्जनात्मक स्थलहरूको विकास आदि) त्याग, तपस्या र इमानदारीका साथ गर्ने गराउने हो भने नेपालको पर्यटकीय क्षेत्रले विकासको फड्को मार्न सक्छ । विदेशी पाहुनाहरूको लर्को नै लाग्न सक्छ । यसबाट पर्याप्त रोजगारीका अवसरको सृजना एकातिर हुन सक्छ भने अर्कोतिर यसले नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउँछ । पर्याप्त होटेल व्यवसायको विकासका लागि प्रतिस्पर्धा हुन थाल्छ । विदेशमा गएर नेपालीहरूले गरेको सोही कार्य नेपालभित्र नै प्राप्त हुन्छ । यसबाट पर्याप्त विदेशी मुद्राको आर्जन हुन्छ । भुक्तानी सन्तुलन अनुकूल बनाउन सकिन्छ भने पर्यटनबाट प्राप्त आम्दानीले अरू सबैथोक किनेर खान पुग्ने हुन्छ ।

लेखक अर्थशास्त्री हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement