काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा ग्रूपका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रको बृहत्तर हित र विकासका लागि सरकारसँग समन्वय गरेर काम गरिरहेको बताएका छन् ।
बुधवार आर्थिक अभियानसँग कुराकानीमा उनले साना तथा मझौला उद्योगमा समस्या रहेकाले समाधानका लागि सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको बताए । उनले निजीक्षेत्रको अभिभावक नै महासंघ भएकोले विनास्वार्थ आफ्नो व्यवसायलाई थाती राखेर काम गरिरहेको बताए ।
गोल्छाले निजीक्षेत्रको मनोबल उकास्न सरकारले सहयोग गर्नुपर्ने पनि बताए । साना तथा मझौला उद्योगको हितका लागि आफूले सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ । आफूप्रति मुलुकभरका उद्योगी तथा व्यवसायीले आशा र भरोसा राखेको भन्दै उनले आफ्नो कार्यकालमा निजीक्षेत्रको हितका लागि उत्कृष्ट काम गर्ने सोचका साथ अगाडि बढिरहेको बताए ।
उद्योगी व्यवसायीका लागि काम गर्न पाउनुलाई जीवनकै महत्त्वपूर्ण पक्ष भनेका गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्वअध्यक्षहरू र सबै पदाधिकारीको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफूले काम गर्ने बताए ।
उनले व्यापार, व्यवसायको क्रममा सधैं नाफामात्र नहुने, घाटालाई पनि पाठको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए । उनका अनुसार गोल्छा ग्रूपका उद्योग, प्रतिष्ठानले २० हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । उनले अबको केही समयमै हायरपर्चेजको कारोबार गर्दै आएको हुलास फिन्सर्भले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रिया शुरू गर्ने बताए । यो कम्पनीले हाल मोटरसाइकल र अन्य सवारीका लागि हायरपर्चेज कर्जा उपलब्ध गराइरहेको छ ।
झन्डै १०० वर्ष लामो व्यापारिक इतिहास बोकेको गोल्छा ग्रूपले जुट खरीदविक्रीबाट व्यवसाय शुरू गरेको थियो । विराटनगर जुट मिल्स स्थापनामा समेत योगदान गरेको ग्रूपले खाद्यान्न, स्टील उद्योग, वायर, अटोमोबाइल्स, चिनीमिल, कागज कारखाना, फाइनान्स, बीमा, बायो साइन्सजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । उनले भारतसँगको संयुक्त लगानीमा लुब्रिकेन्ट उद्योग स्थापना गर्ने योजना पनि सुनाए ।