ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साउन पहिलो सातासम्म ७४ प्रतिशत रोपाइँ

२०७९ साउन, १२  
विविध
Image Not Found

काठमाडौं (अस) । यस वर्ष साउन पहिलो सातासम्म ७४ प्रतिशत हाराहारी धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातओटै प्रदेशबाट संकलित विवरणको आधारमा यस वर्षको धान रोपाइँको तथ्यांक सार्वजनिक गरेको हो ।

मुलुकमा १५ लाख ४४ हजार हेक्टर जमीनमा धानखेती हुन्छ । त्यसमध्ये ११ लाख ३२ हजार ९ सय हेक्टरमा रोपाइँ सकिएको छ । मन्त्रालयका अनुसार साउन पहिलो सातासम्मको रोपाइँ अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १५ प्रतिशत कम हो ।

गतवर्ष उक्त अवधिमा ८८ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । केही ठाउँमा ढिलो गरी मनसुन शुरू भएकाले यस वर्ष रोपाइँको प्रतिशत घटेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिला गरी शुरू भएकाले रोपाइँ ढिला भएको हो । मनसुन पुनः सक्रिय हुनासाथ साउन १५ सम्म ती प्रदेशमा सामान्य हिसाबले रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको उनले बताए ।

मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष प्रदेश १ मा ७७ दशमलव ९ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ गतवर्ष यही अवधिमा ८० प्रतिशत रोपाइँ सकिएको थियो । प्रदेश १ मा कुल ३ लाख ४० हजार ८२९ हेक्टरमा धान रोपाइँ हुन्छ ।

मधेश प्रदेशमा पोहोरभन्दा २५ प्रतिशत कम रोपाइँ भएको छ । यहाँ गतवर्ष ८८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६३ प्रतिशतमा सीमित छ । मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा धानखेती हुन्छ ।

बागमती प्रदेशमा पोहोर ९० प्रतिशतभन्दा धेरै रोपाइँ सकिएकोमा यस वर्ष ७६ प्रतिशत मात्र सकिएको छ । यहाँ १ लाख २० हजार हेक्टरमा धान रोपाइँ हुन्छ ।

गण्डकी प्रदेशमा पोहोर ८७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष ८४ प्रतिशतमा सीमित छ । यहाँ १ लाख ३ सय हेक्टरमा धानखेती हुन्छ ।

लुम्बिनी प्रदेशमा ७५ प्रतिशत र कर्णाली प्रदेशमा ७८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेशमा गतवर्ष ९२ प्रतिशत र कर्णालीमा ९४ प्रतिशत रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख २० हजार हेक्टर जमिनमा धानखेती हुन्छ । कर्णाली प्रदेशमा धानखेती हुने क्षेत्रफल ३८ हजार ८ सय हेक्टर छ । सुदूरपश्चिम प्रदेशमा करीब ९३ प्रतिशत रोपाइँ सकिएको छ । यो प्रदेशमा गतवर्ष साउन पहिलो सातासम्ममा करीब ९७ प्रतिशत रोपाइँ सकिएको थियो । सुदूरपश्चिममा १ लाख ७८ हजार १ सय हेक्टरमा धानखेती हुन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement