ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हस्तकलाबाट पहिचान र आत्मसन्तुष्टि

२०७९ साउन, १२  
रोजगारी
Image Not Found
अर्चना सिंह, संचालक, क्राफ्टमाण्डु ह्यान्डिक्राफ्ट
author avatar प्रशान्त खड्का

काठमाडौं । निश्चित तहसम्मको अध्ययन सकेपछि व्यक्तिमा पलाउने रहरमध्येको एक जागीर हो । त्यो पनि आकर्षक तलब पाइने, सुरक्षित र अन्तरराष्ट्रिय निकायको भए कसैले दायाँबायाँ मन डुलाउँदैन । अन्तरराष्ट्रिय संघसंस्थाको रोजगारीलाई त जागीरमध्येकै अब्बल मानिन्छ । कारण– आकर्षक पारिश्रमिक । त्यस्तो जागीर छाडेर अन्य पेशामा जाने मान्छे कहाँ भेट्नु ? तर, यस्तै मुश्किलले भेटिने पात्रमध्येकी एक हुन्– अर्चना सिंह । क्राफ्टमाण्डु ह्यान्डिक्राफ्टका सञ्चालक ।

अर्चना संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागू औषध र अपराध न्यूनीकरणसम्बन्धी निकाय यूएन ओडीसीमा जागीरे थिइन् । त्यही जागीर छाडेर हस्तकलाको क्षेत्रमा आएकी हुन् । अर्चना उक्त निकायमा नेपालका लागि कार्यक्रम संयोजक थिइन् । त्यो जागीरले भन्दा हस्तकला व्यवसायले आफूलाई बढी चिनाएको जस्तो लाग्छ रे उनलाई । ‘आत्मसन्तुष्टि पनि यसैमा बढी छ । यहाँ अरूका लागि पनि केही योगदान गर्न पाएकी छु,’ उनले भनिन् ।

उनले यूएन ओडीसी र आईएलओमा गरी करीब १६ वर्ष काम गरिन् । त्यसपछि अब आफैले केही गर्नुपर्छ भन्ने सोचेर बाल्यकालदेखिकै रुचिको क्षेत्र हस्तकला रोजेको उनको भनाइ छ । ‘प्रवेश गर्दा हस्तकलाका विषयमा खासै ज्ञान थिएन तर सानैदेखि रुचिको क्षेत्र भएकाले जागीर छाडेर यता लागेकी हुँ,’ उनले सुनाइन् । उनले जागीर छाडेको घरपरिवार र आफन्तलाई मन परेको थिएन । काम राम्रो हुँदै गएपछि भने सबैले इच्छाअनुसारको काम गर्नुपर्छ भनेर हौसला थपिदिए । परिवार र समाजको हौसलाले व्यवसायमा थप सफलता प्राप्त गर्न सहज भएको उनको अनुभव छ ।

हस्तकला क्षेत्रमा केही गरौं भन्ने हुटहुटीले जागीरमा मन मर्दै गएको उनले बताइन् । ‘जागीरमा कुनै जोखिम थिएन । मासिक रूपमा तलब आउँथ्यो तर पनि हस्तकला क्षेत्रमा केही गरौं भन्ने चाहनालाई मूर्त रूप दिन यो पेशा रोजेँ,’ उनले भनिन् । नयाँ व्यवसाय शुरू गर्दा वर्षौंअघि स्थापित व्यवसायीसँग प्रतिस्पर्धा गर्न निकै चुनौतीपूर्ण थियो । तैपनि उनी हिम्मत नहारी लागिन् । हस्तकला उद्यममा सिक्दै गरेका र नयाँ उद्यमीले उत्पादन गरेका सामान ल्याएर विक्री गर्दै उनीहरूको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउन थालेकाले आफूलाई स्थापित हुन सहज भएको अर्चना सुनाउँछिन् ।

आफूले उत्पादन नगरे पनि अन्य महिला र सडक बालबालिकाका उत्पादन किनेर बेच्ने र त्यस्ता उद्यमीलाई साथ दिने गरेको उनले बताइन् ।

अमेरिकाबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर सकेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर फर्केको उनले सुनाइन् । ‘यहाँ आएर वर्षौं विभिन्न संघसंस्थामा काम गर्दा पनि हस्तकला क्षेत्रमा काम गरेर नेपाली उत्पादनको प्रवर्द्धन गर्ने सपना भने मनबाट हटेन,’ उनले भनिन् ।

आज उनी सफल महिला उद्यमीका रूपमा स्थापित छिन् । अर्चना आफै पनि पेन्ट गर्ने, पोते बनाउने काम गर्छिन् । आफ्नो सपना र व्यापारलाई जोडी मिलाउने क्रममा नेपाली उत्पादनको मात्र प्रवर्द्धन गर्ने गरेको उनले सुनाइन् । ललितपुरको   झम्सीखेलस्थित उनको क्राफ्टमाण्डु ह्यान्डिक्राफ्टमा नेपालमै उत्पादित बच्चाका लुगा, कुर्ता, पश्मिना, गिफ्टका सामान, कप, हातले पेन्ट गरिएका कार्ड, लेदर ब्याग, पर्स, चक्लेट, सिल्भरका सामान विक्री हुन्छ । भूकम्प र कोरोना महामारीअघि करीब ८० प्रतिशत विदेशी ग्राहक आउने गरेकोमा अहिले विदेशी ग्राहकको संख्या केही पातलिएको उनको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement