ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वीरगञ्ज सम्भावनामा अगाडि अवसरमा किन पछाडि ?

२०७९ साउन, १२  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । सीमान्त शहर वीरगञ्जको सापेक्ष विकासका लागि स्थानीय सरकार र सरोकारका पक्षबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । वीरगञ्ज देशको आपूर्तिको स्रोतमात्र नभएर विकासको आपूर्तिकर्ता भएको धारणा एक कार्यक्रममा सहभागीले व्यक्त गरेका छन् ।

औद्योगिक र व्यापारिक सम्भावनामा अगाडि देखिएको वीरगञ्ज शहर आर्थिक र सामाजिक विकासमा निकै पछाडि परेको भन्दै सरोकारका सबै पक्षको सहकार्यमा यो शहरको सम्भाव्यताको सापेक्ष उपयोग गर्न सकिने बताए । नेपाल–भारत सोसियो–इकोनोमिक फोरमले आयोजना गरेको अन्तरसंवादमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा विकासका सम्भावना धेरै भए पनि त्यसको उपयोग हुन नसकेको भन्दै स्थानीय बुद्धिजीवी, व्यापारीलगायतबाट सहयोगको अपेक्षा राखेको बताए ।

वीरगञ्जको विकासका सन्दर्भमा रचनात्मक सुझाव र सहकार्य चाहिएको प्रमुख सिंहको भनाइ थियो । वीरगञ्जको विकासका लागि नगरवासीको साथ र सहयोग चाहिने उनले स्पष्ट पारे ।

फोरमका अध्यक्ष अशोककुमार टेमानीले महानगर नेतृत्वलाई विशिष्ट विशेषतासहितको योजना ल्याउन आग्रह गरे । वीरगञ्जको विकासले गति लिन नसक्नुका कारणको खोजी र त्यसको समाधानमा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले विकासमा नमूना काम गरिरहेका अन्य नगरसँग भगिनी सम्बन्ध विस्तार गर्न आग्रह गरे । सीमावर्ती शहर हुनुका कारण सम्भावनासँगै समस्या पनि विशिष्ट खालका हुने भन्दै उनले समस्यालाई अवसरमा रूपान्तरण गर्न नेतृत्व चनाखो हुनुपर्ने सुझाव दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले शिक्षा नै विकासको आधार भएको भन्दै शिक्षाक्षेत्रको गुणस्तर सुधारमा जोड दिए । उनले वीरगञ्जको विकासमा निजीक्षेत्र सहकार्यका लागि सधैं तत्पर रहेको पनि स्पष्ट पारे ।

लायन्स क्लब इन्टरनेशनलका पूर्वनिर्देशक सञ्जय खेतानले महानगरको विकास योजनामा आफूहरू सहकार्यका लागि तयार रहेको बताए । ससाना समस्याको समाधान हुन सके नगरका बासिन्दाले विकास र परिवर्तन अनुभूति गर्न सक्ने ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्रको भनाइ थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष माधव राजपाल, अधिवक्ता पन्नालाल गुप्ता, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका निवर्तमान अध्यक्ष अनुप अग्रवाललगायतले वीरगञ्जको विकासमा स्थानीय सरकार र स्थानीयको सहकार्यको खाँचो औंल्याए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement