ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ब्याजदर वृद्धिमा थप आक्रमक बन्यो अमेरिकी केन्द्रीय बैंक, लगातार दोस्रो पटक ०.७५ प्रतिशत वृद्धि

२०७९ साउन, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार दोस्रो पटक पनि प्रमुख ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको छ । आर्थिक मन्दी सकेसम्म टारेर मुद्रास्फीति नियन्त्रण गर्न खोजिरहेको फेडले जुन र जुलाईमा ब्याजदर बढाएर २ दशमलव २५ प्रतिशतदेखि २ दशमलव ५ प्रतिशत बीचमा पुर्याएको हो ।

फेडको ब्याजदर वृद्धिले बैंकहरुले एक अर्कालाई छोटो अवधिमा लागि दिने कर्जा प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । मोर्टगेज, गाडी कर्जा र क्रेडिट कार्ड जस्ता अनेकौं उपभोग्य सामानमा पनि ब्याजदर वृद्धिको प्रभाव देखिन्छ । योसँगै ब्याजदर सन् २०१८ यताकै उच्च स्तरमा उक्लिएको छ । जुनको नीतिगत बैठकमै फेडले आक्रामक रुपमा ब्याजदर बढाउने संकेत गरेको भएपनि पछिल्लो वृद्धि अपेक्षा गरिए अनुरुप नै रहेको छ ।

फेडले यसरी लगातार दोस्रो पटक शून्य दशमलव ७५ प्रतिशतका दरले ब्याजदर बढाएको यो इतिहासमै पहिलो पटक हो । फेडले आर्थिक मन्दी ननिम्त्याइकन महँगी नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने चाँहि अहिले सबैभन्दा ठूलो चिन्ता र चासोको विषय रहेको छ ।

सेप्टेम्बरमा ब्याजदर वृद्धि आगामी आर्थिक तथ्यांकमा भर पर्ने फेड अध्यक्ष जेरोम पावेलले बताएसँगै शेयर बजार उकालो लागेका छन् । अर्थतन्त्र सुस्त बनाएर वा मन्दी नै निम्त्याएर भएपनि महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरु लागि परेका छन् ।

ब्याजदर वृद्धिको प्रभावका कारण पछिल्लो समय खर्च र उत्पादनसम्बन्धी सूचकांक घट्न थालेको बैठकपछि जारी विज्ञप्तिमा फेडको ब्याजदर निर्धारण समिति खुला बजार समितिले बताएको छ ।

हालैका महीनामा रोजगारी सृजना सुदृढ रहेको भएपनि बेरोजगारी दर न्यून नै रहेको बताइएको छ । पहिलो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिएकोमा दोस्रो त्रैमासमा अर्थतन्त्र झिनो भएपनि सकारात्मक क्षेत्रमै रहने र अर्थतन्त्र मन्दीमा नजाने पावेलले बताएका छन् । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement