ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

श्रीलंकाकै हालतमा पुगेको हो बंगलादेश ? किन माग्यो आईएमएफसँग ऋण ?

२०७९ साउन, १२  
अन्तरराष्ट्रिय
Image Not Found

काठमाडौं । पछिल्लो समय विश्वभर आर्थिक संकटसँग जुध्ने अर्थतन्त्रको संख्या बढिरहेको छ । विशेषगरी एशिया क्षेत्रका देशहरूमा श्रीलंकाकै अवस्था देखिन्छ कि भन्ने चिन्ता चुलिएको छ । यसैमध्येकाे एक देश हाे- बंगलादेश । 

केही वर्ष अघिसम्म भने बंगलादेश एशियामै मात्र नभएर विश्वमै सबैभन्दा उच्च दरमा बढ्ने अर्थतन्त्रमध्ये एउटा थियो । तर, अहिले त्यहाँ विदेशी विनिमय सञ्चिति सुक्दै गएपछि बहुपक्षीय कर्जादाताहरूसँग ऋण नै माग्नु पर्ने अवस्थामा पुगेको छ । 

कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्र उब्री नसकेकै समयमा रुसले युक्रेनमाथि गरेका आक्रमण र यसले विश्वभर उत्पन्न गरेको प्रभावबीच बंगलादेशको अर्थतन्त्रको समस्या टड्कारो बन्दै गइरहेको छ । बंगलादेशका अर्थमन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ अर्ब ५० करोड डलर कर्जा मागेका छन् ।

विदेशी सञ्चिति घट्न थालेपछि आयात महसुल कम गर्न डिजेलबाट चल्ने ऊर्जा केन्द्र नै बन्द गरिएको छ । दिनमै १३ घन्टासम्म बिजुली काटिने अवस्था छ । सञ्चिति घट्ने क्रम सुस्त पार्न अत्यावश्यकबाहेक अन्य कयौं सामानको आयातमा रोक लगाइएको छ । पछिल्लो समय विश्वभर महँगी बढेपछि विदेश गएका बंगलादेशीहरूले पठाउने रकममा कमी आएकोे छ । विश्व अर्थतन्त्र मन्दीमा जाने भयबीच बंगलादेशको निर्यात पनि खुम्चिएको छ । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर इन्धन, खाद्यान्नको भाउ बढेर महँगी दशकौंयताकै उच्च स्तरमा उक्लिएको छ । यसले विशेषगरी आयातित इन्धनमा निर्भर विकाशोन्मुख देश मारमा परेका छन् । डिजेल, पेट्रोल र खाने तेल लगायतको आयात बढेर व्यापार घाटा फराकिलो बनेको र भुक्तानी सन्तुलन बिग्रिँदै गएको अवस्थामा विदेशी विनिमय सञ्चिति सुक्न नदिन आयात नै बन्द गर्नु पर्ने अवस्था सृजना भएको छ ।

विगत एक वर्षमा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ६ अर्ब डलर घटेर ३९ अर्ब डलरमा आएको छ । सञ्चार माध्यमहरूमा छापिएका समचारअनुसार यो पैसाले ५ महीनासम्मको आयात मात्रै धान्न पुग्ने बताइएको छ । विश्वभर महँगी बढ्ने क्रम जारी रह्यो भने यो सञ्चितिले ५ महीनाको आयात पनि धान्दैन ।महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर आक्रामक रूपमा बढाइरहेको छ ।

बुधवार सकिएको नीतिगत बैठकमा फेडले लगातार दोस्रो महीना पनि ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको छ । फेडले सो स्तरमा यसरी लगातार ब्याजदर बढाएको यो इतिहासमै पहिलो पटक हो । महँगी निन्यत्रणमा आएन भने फेडले ब्याजदर वृद्धि आक्रामक बढाउने संकेत गरेको छ । यस्तोमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका मन्दीमा जाने खतरा पनि बढेको छ ।

यसको प्रभावले अमेरिका र यूरोपमा बंगलादेशको मुख्य निर्यात वस्तु तयारी पोशाकको विक्री घट्नेछ । मन्दी नै भए पनि विप्रेषण प्रवाह पनि थप घट्ने छ र अवस्था झनै भयावह बन्ने देखिन्छ । यसको प्रभाव बंगलादेशमा मात्रै नभएर नेपाल, पाकिस्तानलगायत एशिया क्षेत्रमा पनि पोखिनेछ । दक्षिण एशियामा श्रीलंकाकै बाटोमा बंगलादेशसँग सँगै नेपाल र पाकिस्तान पनि उभिइसकेका छन् ।

विदेशी सञ्चिति सुक्दै गइरहेको छ । विश्वव्यापी महँगीका कारण आयातित महँगी बढेर व्यापार घाटा फारकिलो हुँदै गइरहेको छ । कोरोना भाइरसको महामारी कारण पयर्टक आगमनमा उच्च कमी आउँदा पनि यी देशमा विदेशी विनियम सञ्चिति घटेका छन् । श्रीलंकाको अवस्थाले यस क्षेत्रका कयौं देशलाई झस्काएको छ । समय छँदै स्थितिलाई  नियन्त्रणमा लिन अत्यावश्यकबाहेक अन्य वस्तुको आयातमा रोक लगाउने जस्ता उपाय नेपालले मात्रै नभएर बंगलादेश र पाकिस्तानले पनि अपनाएका छन् । एजेन्सीहरू

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement