साउन १२, काठमाडौं । आकर्षक पारिश्रमिक पाइने भएकाले अन्तरराष्ट्रिय संघसंस्थाको रोजगारीलाई जागीरमध्येकै अब्बल मानिन्छ । त्यस्तो जागीर छाडेर अन्य पेशामा जाने मान्छेलाई त नेपाली समाजमा मुर्खको उपमा नै दिइन्छ ।
त्यस्तो मुर्खता गर्ने मध्ये एक हुन् अर्चना सिंह । क्राफ्टमाण्डु ह्यान्डिक्राफ्टकी सञ्चालीका सिंह १६ वर्ष संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गतका विभिन्न निकायमा काम गरिसकेपछि यो क्षेत्रमा आएर स्थापित भएकी हुन् ।
अर्चना संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागू औषध र अपराध न्यूनीकरणसम्बन्धी निकाय यूएन ओडीसीमा जागीरे रहँदा उक्त जागीर छाडेर हस्तकलाको क्षेत्रमा आएकी हुन् ।
अहिले भने उनलाई त्यो जागीरले भन्दा हस्तकला व्यवसायले बढी चिनाएको जस्तो लाग्छ रे । ‘आत्मसन्तुष्टि पनि यसैमा बढी छ । यहाँ अरूका लागि पनि केही योगदान गर्न पाएकी छु,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा भनिन् ।
‘प्रवेश गर्दा हस्तकलाका विषयमा खासै ज्ञान थिएन तर सानैदेखि रुचिको क्षेत्र भएकाले जागीर छाडेर यता लागेकी हुँ,’ उनले सुनाइन् । उनले जागीर छाडेको घरपरिवार र आफन्तलाई मन परेको थिएन । काम राम्रो हुँदै गएपछि भने सबैले इच्छाअनुसारको काम गर्नुपर्छ भनेर हौसला थपिदिए । परिवार र समाजको हौसलाले व्यवसायमा थप सफलता प्राप्त गर्न सहज भएको उनको अनुभव छ ।
नयाँ व्यवसाय शुरू गर्दा वर्षौंअघि स्थापित व्यवसायीसँग प्रतिस्पर्धा गर्न निकै चुनौतीपूर्ण थियो । तैपनि उनी हिम्मत नहारी लागिन् । हस्तकला उद्यममा सिक्दै गरेका र नयाँ उद्यमीले उत्पादन गरेका सामान ल्याएर विक्री गर्दै उनीहरूको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउन थालेकाले आफूलाई स्थापित हुन सहज भएको अर्चना सुनाउँछिन् ।
आफूले उत्पादन नगरे पनि अन्य महिला र सडक बालबालिकाका उत्पादन किनेर बेच्ने र त्यस्ता उद्यमीलाई साथ दिने गरेको उनले बताइन् ।
अमेरिकाबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर सकेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर फर्केको उनले सुनाइन् ।
आज उनी सफल महिला उद्यमीका रूपमा स्थापित छिन् । अर्चना आफै पनि पेन्ट गर्ने, पोते बनाउने काम गर्छिन् । आफ्नो सपना र व्यापारलाई जोडी मिलाउने क्रममा नेपाली उत्पादनको मात्र प्रवर्द्धन गर्ने गरेको उनले सुनाइन् ।
ललितपुरको झम्सीखेलस्थित उनको क्राफ्टमाण्डु ह्यान्डिक्राफ्टमा नेपालमै उत्पादित बच्चाका लुगा, कुर्ता, पश्मिना, गिफ्टका सामान, कप, हातले पेन्ट गरिएका कार्ड, लेदर ब्याग, पर्स, चक्लेट, सिल्भरका सामान विक्री हुन्छ । भूकम्प र कोरोना महामारीअघि करीब ८० प्रतिशत विदेशी ग्राहक आउने गरेकोमा अहिले विदेशी ग्राहकको संख्या केही पातलिएको उनको भनाइ छ ।