ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जीटुजीमार्फत १ लाख ७० हजार मेटन मल ल्याइने

२०७९ साउन, १३  
समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालले भारतबाट ‘जीटुजी’ प्रक्रियामार्फत पहिलो वर्ष १ लाख ७० हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने भएको छ । यसका लागि दुई देशका अधिकारीहरूबीच बुधवार सम्झौता भएको छ ।

भारतका तर्फबाट राष्ट्रिय केमिकल फर्टिलाइजरका कार्यकारी निर्देशक एनएच कुरने र नेपालका तर्फबाट कृषि सामग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले मल खरीदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस वर्ष नेपालले १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डीएपी गरी कुल १ लाख ७० हजार मेट्रिकटन मल ल्याउनेछ ।

गत फागुन १६ मा भएको सम्झौता अनुसार जीटुजी प्रक्रियामार्फत पहिलो वर्ष भारतबाट १ लाख ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउने सम्झौता भएको थियो । तर, आर्थिक वर्ष सकिने बेलासम्म पनि आयात हुन सकेन ।

सम्झौता अनुसार भारतले दिने भनेको कुल ९ लाख ३५ हजार मेट्रिकटन मल आगामी ५ वर्षभित्र नेपाल आउनेछ । यो परिमाण भने कटौती नहुने बताइएको छ । सम्झौता अनुसार यस वर्ष १ लाख ७० हजार, दोस्रो वर्ष १ लाख ९५ हजार, तेस्रो र चौथो वर्षमा समान २ लाख १० हजार र पाँचौं वर्षमा १ लाख ५० हजार मेट्रिकटन मल नेपाल आउनेछ ।

जीटुजी प्रक्रियामार्फत भारतबाट मल ल्याउने सम्झौता भए पनि मल यति नै बेला आउँछ वा ल्याइन्छ भन्ने अझै निश्चित भइनसकेको कम्पनीका प्रबन्ध सञ्चालक कार्कीले बताए । ‘मल चाँडै आउनेमा विश्वस्त छौं । हाम्रो आवश्यकता अनुसार हामीले नै अर्डर दिएपछि भारतले हाम्रो वेयर हाउससम्म मल ढुवानी गर्नेछ,’ उनले भने, ‘तर कहिले ल्याउँछ, अहिले नै भन्न सकिने अवस्था छैन ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement