साउन १३, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रूपका अध्यक्ष रविभक्त श्रेष्ठले महासंघ निजीक्षेत्रको अगुवा संस्था भएकाले यसले बृहत्तर हित र विकासका लागि काम गर्नुपर्ने बताएका छन् ।
बिहीवार आर्थिक अभियानसँगको कुराकानीमा उनले कुनै पनि नीति बनाउँदा सरकारले निजीक्षेत्रको संस्थागत सुझाव लिनुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा उद्योग व्यवसायको विकासका लागि अझै काम गर्न बाँकी रहेको र त्यो निजीक्षेत्र र सरकारबीचको सहकार्यमा मात्र सम्भव हुने बताए ।
आफू महासंघको अध्यक्ष भएकै बेला प्रतिस्पर्धी नेपाल उद्योग परिसंघ स्थापना भएको भन्दै उनले जसरी जुन उद्देश्यले स्थापना भए पनि सबैले उद्योग व्यवसायको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनको विचारमा महासंघ राजनीति गर्ने थलो होइन । महासंघको निर्वाचनमा हुने खर्च र अस्वस्थ प्रतिस्पर्धाले ठूलो कमजोरी उजागर गर्छ । निजीक्षेत्रको हकहित र विकासका लागि अगाडि बढ्नुपर्ने बेला राजनीति हावी भएको श्रेष्ठको भनाइ छ ।
अब परम्परागत तरीकाले व्यवसाय गर्न नहुने, नयाँ सोचका साथ विविधतामा आधारित व्यवसायले मात्र फड्को मार्ने श्रेष्ठको भनाइ छ । निजीक्षेत्रको प्रयासस्वरूप अर्थतन्त्र क्रमिक रूपमा अघि बढिरहेको छ । बहुराष्ट्रिय कम्पनीले नेपाली अर्थतन्त्रको विकासमा टेवा दिइरहेका छन् । सरकारको खुला अर्थनीतिले विदेशी लगानीमा उद्योग खुल्ने र नेपालीलाई साझेदार बनाएर लगानी भित्रिन थालेको उनले सम्झिए ।
हिन्दुस्तान लिभरले नेपाल पनि ठूलो बजार हो भन्ने सोचेर लगानी गरेको तथा अहिले आएर त्यो सही र उपयुक्त समयमा गरिएको लगानी पुष्टि भएको उनको भनाइ छ ।
ऊ बेला सरकारको असहयोग हुँदाहुँदै पनि हिन्दुस्तान लिभरसँग कुराकानी गरेर ठूलो प्रयासमा युनिलिभर नेपाल स्थापना गरेको उनले सम्झिए । श्रेष्ठका अनुसार सरकारले असहयोग गरे पनि उद्योग विभागबाट लाइसेन्स लिएर युनिलिभर स्थापना भएको हो । कुशल व्यवस्थापन र संस्थागत सुशासनले कम्पनीले चुक्ता पूँजीभन्दा खुद नाफा बढी आर्जन गरेको श्रेष्ठ बताउँछन् ।
उनी युनिलिभर नेपालका साझेदार हुन् । युनिलिभर नेपाली पूँजी बजारमा सबैभन्दा धेरै शेयर मूल्य भएको कम्पनी हो । नेपाल स्टक एक्सचेन्जमा यसको शेयरमूल्य अहिले प्रतिकित्ता १७ हजार ५४५ रुपैयाँ छ । कम्पनीले शुुरूदेखि नै लगानीकर्तालाई आकर्षक लाभांश दिँदै आएको छ ।
इच्छा नहुँदा नहुँदै पनि राजदरबारको अनुरोधमा एकपटक मन्त्री भएको तर निःस्वार्थ हिसाबले उत्कृष्ट काम गरेको उनले बताए । छोटो समय मन्त्री भए पनि जनस्तरबाट अहिलेसम्म आलोचना भइरहेको गुनासो गरे ।
नेपालको व्यावसायिक वृत्तमा आईजे ग्रूप परिचित नाम हो । उनका अनुसार स्वास्थ्य सेवादेखि होटेल र उत्पादनमूलक उद्योगसम्ममा अग्रणी यो समूहले अन्य क्षेत्रमा पनि व्यावसायिक उपस्थिति बढाउँदै लगेको छ । बैंकिङ, बीमा, उपभोग्य वस्तु, हस्पिटालिटी, घरजग्गा, सूचनाप्रविधि उद्योगमा यो समूहले लगानी विस्तार गरिरहेको छ ।