ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : ब्रोकर थप्नेदेखि सफल कम्पनी बजारमा ल्याउनेसम्मका योजना

२०७९ साउन, १३  
समाचार
Image Not Found
धितोपत्र बोर्डको नीति र कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रमेशकुमार हमाल
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) थप्ने योजना अघि सारेको छ । बोर्डले बिहीवार चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ ब्रोकर कम्पनी थप्ने विषयलाई प्राथमिकतामा राखेको हो । बजारको दायरा फराकिलो हुँदै गएको बेला धितोपत्र दलाल व्यवसायीको संख्यासँगै सेवा, सुविधा बढाउँदै लैजानुपर्ने आवश्यकता देखेर ब्रोकर संख्या थप गर्ने योजना बनाएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए ।

बोर्डले यसअघि नै तीन प्रकारको ब्रोकर लाइसेन्स दिने तयारी गरिसकेको छ । ब्रोकरले दिने सेवाको आधारमा बोर्डले चुक्ता पूँजी २० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म हुने गरी नयाँ ब्रोकर लाइसेन्स वितरणको तयारी गरेको हो । बोर्डले तय गरेको पूँजी संरचनाले साबिकका ब्रोकरलाई समस्या पर्ने गुनासो आए पनि अध्यक्ष हमालले त्यसको खण्डन गरे । पूँजी बजारको मुटु मानिने ब्रोकरले आफ्नो कार्य दायरा बढाउन माग गरिरहेको बेला अवसरको रूपमा बोर्डले पूँजी संरचनाको व्यवस्था गरेको उनको भनाइ छ । कार्य दायरा बढाउन थप पूँजी आवश्यक पर्ने र हालका ब्रोकरले कमाइरहेको नाफा हेर्दा समस्या नहुने तर्क हमालको छ । अहिलेका ब्रोकरले पूँजीको समस्या समाधान गर्न मर्जरको बाटो रोज्न सक्ने उनको भनाइ छ ।

नयाँ ब्रोकर लाइसेन्स दिँदा संख्या नतोकी पूँजी संरचनालाई आधार बनाए कोटामा आफ्ना मान्छेलाई मात्र दियो भन्ने आरोप नआउने विश्वास हमालको छ ।
नीति तथा कार्यक्रमका धेरै बुँदा पुरानै छन् । विगतमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय थियो । यस वर्ष बोर्डले तोकेको पूँजी संरचना र तोकिएको मापदण्ड पूरा गरेका जो कोहीले लाइसेन्स पाउने देखिन्छ ।

व्यावसायिक रूपमा सफल कम्पनीलाई दोस्रो बजारमा सूचीकरण गराउने योजना पनि छ । एक अर्ब रुपैयाँ वा त्योेभन्दा बढी पूँजीको तथा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने, प्राकृतिक स्रोतको उपयोग गर्ने तथा राज्यबाट अनुदान, सहुलियत वा कर छूट पाउने पब्लिक लिमिटेड कम्पनीलाई समेत बजारमा भित्र्याउने योजना छ । वैदेशिक रोजगारीमा भएका नेपालीले प्राथमिक निष्कासनमा आवेदन गर्न सक्ने गरी आस्बा तथा सी–आस्बा प्रणालीमा सुधार गरिनेछ ।

वास्तविक र अन्य क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउन आवश्यक पर्ने नीति, कार्यविधि र प्रविधिको व्यवस्था मिलाउने भनिएको छ । दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाई कारोबार प्रणालीलाई लगानीकर्ताको बैंक र डिम्याट खातासँग आबद्ध गर्न सहजीकरण गर्ने हमालले बताए । बुक बिल्डिङ प्रणाली दिगो एवम् पारदर्शी रूपमा सञ्चालन गर्न अन्तरराष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्शन सिस्टम तयार गरी दिगो र स्थापित कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउने बोर्डको भनाइ छ ।

लामो समयदेखि बोर्डको योजनामा रहेको वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक वेयरहाउससम्बन्धी नियमावली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमावली र राफसाफ तथा फछ्र्योटसम्बन्धी नियमावलीसँगै विनियमावली तयार गर्ने, दरखास्त आह्वान गर्ने र अनुमति प्रदान गरी सञ्चालनको व्यवस्था यो वर्ष मिलाउने बोर्डको भनाइ छ । पर्याप्त पूँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पूँजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति दिने बोर्डको नीति छ ।

साना तथा मझौता उद्योगको धितोपत्र कारोबारका लागि एसएमइज प्लेटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पूँजी बजारमा भित्र्याउने पुरानो योजनालाई यसपालि पनि निरन्तरता दिइएको छ । सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणालीको विकास गर्न समन्वय एवम् सहजीकरण गर्ने विषयले पनि निरन्तरता पाएको छ ।

बोर्डका काम कारबाहीलाई उच्च प्रविधियुक्त तथा सूचनाप्रविधिमैत्री बनाई छिटोछरितो सेवा दिने भनिएको छ । सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित रेग टेकमार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवम् अनुचित क्रियाकलापलाई निरुत्साहित गर्ने योजना छ ।

धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेडको शेयर संरचना सुधारका लागि सहजीकरण गर्ने योजना बनाएको बोर्डले नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति दिने भनेको छ ।

ब्रोकर र लगानीकर्ताको मिश्रित प्रतिक्रिया
बोर्डको नीति तथा कार्यक्रममा ब्रोकर र लगानीकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पुराना धेरै बुँदा दोहोरिए पनि यो वर्ष पूरा हुनेमा विश्वस्त रहेको बताए । पुराना योजना अहिलेको पनि आवश्यकता भएकाले दोहोरिएको उनको भनाइ छ ।

बोर्ड अध्यक्षले पूँजी बजारको विकास र विस्तारका लागि महत्त्वपूर्ण काम गरिसकेको र केही पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढेको अवस्थामा नीति तथा कार्यक्रमका योजना कार्यान्वयन हुने उनको अपेक्षा छ । ‘समग्रमा राम्रो कार्यक्रम आए पनि ब्रोकर लाइसेन्सको विषय स्पष्ट छैन,’ उपाध्यक्ष फुल्लेलले भने ।

त्यसैगरी, स्टक ब्रोकेर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको तर ब्रोकर थप्ने विषय अस्पष्ट रहेको बताए । ‘अध्यक्षले लाइसेन्स वितरणमा संख्या नतोकी पूँजी संरचनालाई आधार बनाएको बताउँदा नेप्सेको सिस्टमले धेरै संख्याको ब्रोकर धान्छ कि धान्दैन, बोर्ड कसरी अघि बढ्न खोजेको हो ? स्पष्ट भएन,’ उनले भने, ‘ नयाँ ब्रोकर लाइसेन्सको मात्र कुरा आएको छ ।’ भइरहेका ब्रोकरलाई शाखा विस्तार र सब–ब्रोकरको सेवा प्रदानका लागि स्वीकृति दिने कुरा यस वर्ष नसमेटिएको उनको भनाइ छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement