ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तनहुँमा थपिए उत्पादनमूलक, कृषि, सेवालगायत ५७९ उद्योग

२०७९ साउन, १४  
समाचार
Image Not Found

साउन १४, दमौली । तनहुँमा एक वर्षमा ५७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८\०७९ मा ती उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित ३२०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ १०३ र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताए । “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,” उनले भने । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कुल पुँजी रू. ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू. १ अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ ।

थपिएका उद्योगमा ५३४ महिला र ५०१ पुरुष गरी १ हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा ८०९ उद्यमी छन् । उद्योग दर्ताबापत रू २४ लाख ३ हजार राजस्व संकलन भएको छ ।

सोही अवधिमा ३९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजीवृद्धि गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८\०७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा रू. २ अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६\०७७ मा जिल्लामा ३ हजार ५ सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रू. १ अर्ब ८९ करोड लगानी भएको थियो ।

रू. १ लाखसम्म पुँजी भएका उद्योगले रू. १ हजार १००, रू. तीन लाखसम्म पुँजी भएका उद्योगले रू. ३ हजार १०० बुझाउनुपर्छ ।

त्यस्तै रू. ५ लाखसम्म पुँजी भएका उद्योगले रू. ६ हजार १००, रू. ५० लाखसम्म पुँजी भएका उद्योगले रू. १२ हजार १००, रू. १ करोडसम्म पुँजी भएका उद्योगले रू. २० हजार १०० बुझाउनुपर्छ । -रासस

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement