ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टान नेतृत्वका लागि चुनावी दौडधुपमा चार जना, यस्ता छन् उम्मेदवार

२०७९ साउन, १४  
समाचार
Image Not Found

साउन १४, काठमाडौं । पर्वतीय पर्यटन व्यावसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदका लागि चारजना व्यावसायीबीच चुनावी दौडधुप चलेको छ ।  

यही साउन ३० मा तय गरिएको टानको ४४औं साधारणसभा एवं निर्वाचनका लागि पर्यटन व्यावसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटाले उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा जुटिसकेका छन् । उनीहरूले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधुप र छलफललाई तीव्रता दिएका छन् । 

प्रत्यासीमध्येका बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले पनि टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । होटल तथा ट्रेकिङ व्यवसायमा चारैजना अब्बल गनिन्छन् । 

टान निर्वाचनको मिति तय भएसँगै आकांक्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित प्रचारप्रसारमा जुटेको टानका अध्यक्ष खुम सुवेदीले बताए । टानको नेतृत्व चयन सहमतिमा गर्ने प्रयास गरिए पनि व्यावसायीले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेकाले निर्वाचनबाटै नेतृत्व चयन हुने उनको भनाइ छ । 

टानको २५ सदस्यीय कार्यसमितिमध्ये पदाधिकारीसहित १७ जना निर्वाचित हुन्छन् । बाँकी सदस्य मनोनित गरिने प्रावधान छ । टानमा करिब १ हजार ८०० व्यावसायी आबद्ध छन् ।

यस्ता छन् उम्मेदवार र तिनका एजेन्डा

अध्यक्षका प्रत्यासी बाँस्तोला २६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । उनको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गाे, हस्तकलालगायत उद्योग–व्यवसायमा लगानी छ । 

उनी सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष रहिसकेका छन् । 

उनी टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रूपमा अगाडि बढाउने बताउँछन् । पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गरेर प्रवर्द्धनमा जुट्ने उनको भनाइ छ । 

नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिड–१९ ले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न भूमिका खेल्ने उनले बताए । 

अध्यक्षका अर्का प्रतिस्पर्धी राजेन्द्रप्रसाद सापकोटा पर्यटन क्षेत्रका विभिन्न संस्थाको नेतृत्वमा रहिसकेका छन् । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको ठमेलमा पर्यटकीय होटल सञ्चालनमा छ । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन् ।     

पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले बताए । उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवर्द्धनात्मक कामलाई अघि बढाउने विश्वास व्यक्त गरे । सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई प्रभावकारी बनाएर व्यावसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए । 

पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यावसायी भण्डारीले पनि टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् । स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिका सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् । उनले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धतापत्रको छपाइ खर्च मात्र हुने बताए । 

गाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षसमेत भइसकेका कमल सापकोटाको होटल र ट्राभल व्यवसायमा लगानी छ । उनी माउन्टेन डिलाइन्स ट्राभल एन्ड टुर्सका संस्थापक प्रबन्ध निर्देशक, काठमाडौं गार्डेनका संस्थापक अध्यक्ष हुन् । त्यससँगै सामाजिक काममा पनि सापकोटाको सक्रियता छ । 

टानको संस्थागत सुदृढीकरण र सरकार र निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय हुने उद्देश्यले नेतृत्वमा आउन चाहेको उनले बताए । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement