ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सार्वजनिक खरीद नियमावलीको १२ औं संशोधन सकारात्मक : निर्माण व्यवसायी

२०७९ साउन, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । निर्माण व्यवसायीहरुले सार्वजनिक खरीद नियमावलीको १२ औं संशोधन सकारात्मक भएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ एशोसिएट समन्वय समितिको ११ औं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरीद नियमावलीको १२औं संशोधन सकारात्मक भएको बताएका छन् । एशोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा आयोजित भएको भेलामा उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा बताए । 

उक्त अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरीद नियमावलीको १२ औं संशोधन आएसँग संकटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । उनले भने, ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेशालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ ।’ 

समृद्धिका सारथी निर्माण व्यवसायीहरू विना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने पनि उनले बताए । महासंघका मानार्थ सदस्यसमेत रहेका सांसद् जीप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको बताए । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । 

महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । यसैगरी महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो ।

महासंघका उपाध्यक्ष समेत रहेका एशोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाखभन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने बताए । निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाव दिए ।

उक्त भेलाले समितिको सहसंयोजक सहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जसअनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन भएका छन् । सचिवद्वयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भएका ।

कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भएका छन् । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर  बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement