ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डोलेश्वरमा पर्यटन प्रवर्द्धन्

२०७९ साउन, १५  
लेख | दृष्टिकोण
Image Not Found
author avatar डा. माधव अधिकारी

काठमाडौं उपत्यका, भक्तपुर नगरको आग्नेय कोणमा रहेको डोलेश्वर महादेवलाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनिन्छ । त्यस्तै हिमवत् खण्डमा ‘विमलेश्वर’ भनिएको छ । डोला शिखर पर्वत शृंखलाको दक्षिण भागमा डोल परेको पहाडको काखमा रहेको शिवलिंगलाई प्राचीन कालमा के नामले पुकारिन्थ्यो भन्न गाह्रो छ । मन्दिर परिसरमा रहेको विसं १६२९ को राजा भूपतीन्द्र मल्लले स्थापना गरेको शिलालेखबाट त्यस समयभन्दा अगाडिदेखि नै डोलेश्वरको नामले चिनिने रहेछ भन्ने कुरा प्रमाणित हुन्छ ।

विसं २०६६ भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिर भाग भन्ने घोषणा भइसकेपछि केदारनाथ पनि भन्ने गरिएको छ । बाह्र ज्योतिर्लिंगमध्ये डोलेश्वर पनि पर्छ । विसं २०७० असार २ गते आएको भीषण बाढीले भारतको केदारनाथको पूजा खण्डित हुन गयो । त्यतिबेला केदारनाथको शिर भाग डोलेश्वर महादेवमा क्षमापूजा गरिएको थियो । त्यसयता यहाँ भारतीय पर्यटकको संख्या निकै बढेको छ ।

आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेका छन् । नेपालजस्तो मुलुकले अन्य क्षेत्रको विकासबाट भन्दा पर्यटन क्षेत्रबाट बढी आर्थिक लाभ लिने देखिन्छ । त्यसमा पनि धार्मिक पर्यटन अझ बढी प्रभावकारी हुन सक्छ । भारतमा रहेका करोडौं हिन्दू नेपालका धार्मिक पर्यटकीय स्थल आउन लालायित देखिन्छन् । तिनलाई उचित व्यवस्थापन गर्न सकिएको छैन । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर र पछिल्लो समय मनकामना आदि क्षेत्र पनि भारतीय तीर्थालुहरूका लागि आकर्षणको केन्द्र बनेको पाइन्छ । त्यसमध्ये डोलेश्वर महादेव पनि एक हो ।

नेपालको प्राकृतिक भूधरातल, वातावरण एवं सांस्कृतिक विशेषतालाई सूचना र प्रविधिको आधारमा अधिकतम उपयोग गर्नुपर्छ । यसका लागि सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा ल्याउन आवश्यक छ । पर्यटनमा पनि धार्मिक पर्यटन अझै महत्त्वपूर्ण देखिन्छ ।

तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट गरीबी निवारण कार्यक्रममा सहयोग पुर्‍याउनसमेत सकिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूमा समेत नेपाल चिनिएको छ । जैविक एवं सांस्कृतिक विविधताले भरिपूर्ण भएकाले पर्यटनको सम्भावना पर्याप्त रहेको छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलका रूपमा रहेको छ । यस्तो क्षेत्रलाई त्यसैअनुसार विकसित गरी प्रचारप्रसार गरेमा धार्मिक पर्यटनबाटै मुलुकले ठूलो लाभ लिन सक्छ । हुन त धार्मिक पर्यटक कम खर्चालु भएकाले त्यति महत्त्व नदिने परिपाटी पनि छ । तर, सबै पर्यटक उस्तै हुँदैनन् ।

विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि हुन सकेको छैन । त्यसैले पर्यटन गतिविधिबाट अपेक्षित लाभ लिन सकिएको छैन । उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण डोलेश्वरमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिनुपर्छ । त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै जानुपर्छ । ऐतिहासिक स्थलको संरक्षण र स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटनको विकास, विस्तार र प्रवर्द्धन गर्नु समयको माग हो ।

डोलेश्वर क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभाव छ । सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षक स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधा पनि प्रभावकारी बनाउन अझै सकिएको छैन । पर्यटन क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसाय एक दीगो स्रोत हुन सक्छ । डोलेश्वर महादेव क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

डोलेश्वर मन्दिरकै कारण स्थानीय बासिन्दाको कृषि उत्पादनले बजार पाएको छ । केहीले रोजगारी पाएका छन् । पछिल्लो समय होटेल र रिसोर्ट पनि खुलेका छन् । तर, पर्याप्त प्रचारको अभाव देखिन्छ । त्यस्तै यहाँ रात बिताउने गरी आउने पर्यटकको संख्या खासै देखिँदैन । त्यसतर्फ पनि सोच जानु आवश्यक छ ।

नयाँ पर्यटकीय स्थल बनाउँदै पर्यटकलाई आकर्षण गर्ने तत्त्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आवश्यक छ । पर्यटनको माध्यमबाट रोजगारी सृजना गरी गरीबी न्यूनीकरण गर्न सकिन्छ । डोलेश्वरमा धार्मिक पर्यटक आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement