ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटनमन्त्रीद्वारा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुरू

२०७९ साउन, १५  
विविध
NA

काठमाडौं (अस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको शुभारम्भ गरेका छन् । पशुपति क्षेत्रमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको थालनी गरेका हुन् । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । धार्मिक पर्यटकलाई आकर्षित गर्नेगरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गरिनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

रोपिएका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन उनले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन समेत दिएका छन् । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।

कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र कोषका पदाधिकारीले वृक्षरोपण गरेका छन् । सो अवसरमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले वृक्षरोप अभियानका लागि रुद्राक्षका १ लाख बिरुवा उपलब्ध गराउने घोषणा गरेका छन् । वृक्षरोपण अभियान निरन्तर सञ्चालन हुने कोषले बताएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement