ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘केबलकार रोकिनु सामान्य, यात्रुलाई केही हुँदैन’

२०७९ साउन, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चल्दाचल्दैको केबलकार एक्कासि रोकिनु सामान्य घटना भएको र यसो हुँदैमा यात्रुलाई केही नहुने चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स लिमिटेडले स्पष्ट पारेको छ ।

अचानक विद्युत् आपूर्ति बन्द भएर वा अन्य प्राविधिक समस्याले चलिरहेको केबलकार रोकिएको घटनालाई लिएर यसको सुरक्षाप्रति नै सन्देह पैदा हुने गरी समाचार सम्प्रेषण भएपछि कम्पनीले केबलकारको सुरक्षाका विषयमा पत्रकारहरूलाई विस्तृत जानकारी दिएको हो ।

कम्पनीले शुक्रवार सञ्चारकर्मीलाई केबलकारको प्राविधिक पक्ष प्रत्यक्ष देखाएर चल्दाचल्दैको केबलकार रोकिने कारण र रोकिएपछि त्यसलाई पुनः सञ्चालन गर्ने प्रक्रियाबारे जानकारी दिएको हो । त्यस क्रममा कम्पनीले केबलकार रोकिँदा डरलाग्दो स्थिति उत्पन्न हुन्छ कि हुँदैन भन्ने अनुभव गराउन १ सयभन्दा बढी सञ्चारकर्मी चढेको केबलकार करीब १० मिनेट रोकेर राखेको थियो ।

कम्पनीका इन्जिनीयर सरोज चापागाईंका अनुसार अचानक विद्युत् आपूर्ति बन्द भएमा वा स्वचालित प्रणाली र सफ्टवेयरमा समस्या आएको खण्डमा चल्दाचल्दैको केबलकार रोकिन सक्छ । कम्पनीले विद्युत् आपूर्तिका लागि विश्वकै सबैभन्दा बढी भरपर्दो मानिने कम्पनीको जेनेरेटर र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखेको छ । विद्युत् आपूर्ति बन्द भएर रोकिँदा यात्रुले रोकिएको अनुभव गर्न पाउँदा नपाउँदै केबलकार चलिसक्ने चापागाईं बताउँछन् । केबलकारको बटम स्टेशनमा एक मेगावाट क्षमताको जेनेरेटर तयारी अवस्थामा छ । कहिलेकहीँ उक्त जेनेरेटर चलेन वा अन्य प्राविधिक कारणले रोकियो भने ‘इमर्जेन्सी ड्राइभ’मार्फत यात्रुलाई सकुशल टप र बटम स्टेशनमा पुर्‍याइने उनले बताए । इमर्जेन्सी ड्राइभमार्फत ३८ ओटै बाकसमा रहेका यात्रुलाई टप वा बटम स्टेशनमा पुर्‍याउनचाहिँ ४५ मिनेटजति लाग्ने कम्पनीको भनाइ छ ।

सामान्य अवस्थामा केबलकारको गति प्रतिसेकेन्ड पाँच मीटर छ । ‘इमर्जेन्सी ड्राइभमा प्रतिसेकेन्ड १ मिटरको गतिमा चल्छ । त्यसकारण ४० देखि बढीमा ४५ मिनेट लाग्छ,’ चापागाईंले भने । केबलकार रोकिएका बेला हावाहुरी चलेको खण्डमा यात्रु चढेको बाकस हल्लिन सक्ने र केही यात्रु आत्तिने उनको भनाइ छ । ‘तर, जति हल्लिए पनि केबलकार चुँडिँदैन, यात्रु सकुशल रहन्छन्,’ चापागाईंले भने ।

केबलकार रोकिने घटना संसारमा जहाँ पनि हुने चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । जेनेभा भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चढेको केबलकार झन्डै २ घन्टा रोकिएको ढकालको भनाइ छ । ढकाल पनि प्रधानमन्त्री ओलीको भ्रमण दलमा सहभागी भएर जेनेभा गएका थिए ।

चन्द्रागिरिको हकमा रोकिएको केबलकारका यात्रुलाई स्टेशनसम्म पुर्‍याएर ओराल्न ढिलो भएको खण्डमा खाने, बस्ने वा गाडी चढाएर गन्तव्यसम्म पुर्‍याउने व्यवस्था कम्पनीले नै मिलाउने अध्यक्ष ढकालले बताए । चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारको टप स्टेशनभन्दा केही तल सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरेको छ । यसका टप र बटम दुवै स्टेशनमा रेस्टुराँहरू छन् ।

इन्जिनीयर चापागाईंका अनुसार केबलकार स्टेशनमा प्राविधिक जनशक्ति पनि तयारी अवस्थामा हुन्छ । तर, कहिलेकहीँ सफ्टवेयरले काम नगर्दा रोकिएको केबलकार चल्न केही समय लाग्ने उनले बताए । प्रणालीमा आएको समस्या १५ मिनेटभित्र समाधान हुन सक्ने देखियो भने समाधान गरेर केबलकार चलाइने त्यसभन्दा बढी समय लाग्ने भयो भने इमर्जेन्सी ड्राइभ चलाएर यात्रुलाई टप र बटम स्टेशन पुर्‍याएर ओराल्ने उनले जानकारी दिए ।

त्यही घटनालाई सञ्चारमाध्यमले अर्कै किसिमले प्रस्तुत गरिदिँदा सर्वसाधारणको मनमा केबलकारको सुरक्षाप्रति सन्देह पैदा हुन सक्ने अध्यक्ष ढकालको भनाइ छ । यद्यपि केबलकार रोकिएको विषयमा सार्वजनिक भएका समाचारले यसप्रतिको आकर्षण नघटाएको ढकालको दाबी छ ।

कम्पनीले विश्वविख्यात अस्ट्रियन कम्पनी डोपलमेयरले निर्माण गरेको केबलकार सञ्चालन गरिरहेको छ । नेपालकै पहिलो मनकामना केबलकार पनि डोपलमेयरकै हो । डोपलमेयरका २० हजारभन्दा बढी केबलकार संसारका विभिन्न देशमा सञ्चालन भइरहेको ढकालको भनाइ छ ।

केही साताअघि चन्द्रागिरिको केबलकारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितका यात्रु चढेको बेला रोकिएको थियो । उनीहरूलाई इमर्जेन्सी ड्र«ाइभबाट गन्तव्यमा पुर्‍याइएको थियो । इन्जिनीयर चापागाईंका अनुसार हावाहुरी चलेको, चट्याङ परेका बेला पनि केबलकार रोकिन सक्छ । केबलकारको मर्मतसम्भार निर्माता कम्पनीले तोकेको तालिकाअनुसार नियमित रूपमा हुने गर्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement