ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वन्यजन्तुबाट क्षति बेहोर्नेलाई ३ करोड राहत

२०७९ साउन, १५  
बागमती प्रदेश
Image Not Found

चितवन (अस) । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले ३ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरेको छ । निकुञ्जले वन्यजन्तुबाट क्षति बेहोरेका परिवारलाई ३ करोड ४ लाख ७३ हजार रुपैयाँ राहत वितरण गरेको हो ।

कार्यालयका अनुसार सो अवधिमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई २ करोड २० लाख रुपैयाँ राहत वितरण गरिएको छ । यस्तै,  गम्भीर घाइते हुनेको परिवारलाई २९ लाख ११ हजार र सामान्य घाइते हुनेको परिवारलाई ५ लाख ३७ हजार रुपैयाँ राहत वितरण गरिएको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार पशुधनको क्षति बेहोर्ने परिवारलाई १७ लाख ८२ हजार, भण्डारण गरेको अन्न क्षति भएका परिवारलाई ५४ हजार, घरगोठको क्षति भएका परिवारलाई १ लाख ४७ हजार र अन्नबालीको क्षति भएका परिवारलाई ३० लाख ९९ हजार रुपैयाँ राहत वितरण गरिएको छ । सो अवधिमा वन्यजन्तुको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो । यस्तै, २४ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएको निकुञ्ज कार्यालयको तथ्यांक छ । अन्य घटनामध्ये पशुधनको क्षति १४८ ओटा, भण्डारण गरेको अन्नको क्षति ६ ओटा, घरगोठको क्षति १९ ओटा र अन्नबालीका क्षतिको घटना ४७६ ओटा भएका थिए ।

कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अघिल्ला वर्षभन्दा गतवर्ष वन्यजन्तु आक्रमण र क्षतिका घटना बढेको बताए । ‘पछिल्लो समय वन्यजन्तुबाट हुने क्षतिका घटना बढेको देखिन्छ,’ उनले भने, ‘वन्यजन्तुको संख्यासँगै बासस्थानको अतिक्रमणले पनि हुन सक्छ ।’ क्षतिका घटना बढेसँगै गतवर्ष राहत वितरणमा पनि वृद्धि भएको उनले बताए । निकुञ्जको मुख्य इलाकामा पनि मानवीय क्षति भएको, तर वन्यजन्तुले मुख्य इलाकाभन्दा बाहिर भएका क्षतिका घटनामा मात्र राहत वितरण गर्ने प्रावधान रहेको उनले जानकारी दिए । कतिपय पीडित परिवारको राहत प्रक्रियामा रहेको र प्रक्रिया पुगेकालाई मात्र राहत वितरण गरिएको उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement