ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गण्डकी प्रदेश सरकारको पर्यटन ऐन पारित

२०७९ साउन, १५  
गण्डकी प्रदेश
Image Not Found

कास्की (अस) । गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐन पारित भएको छ । प्रदेश सरकारले पर्यटन व्यवसाय र यससँग सम्बन्धित अन्य क्षेत्रलाई कानूनसम्मत रूपमा सञ्चालन गर्न ल्याएको पर्यटन ऐन प्रदेशसभाबाट पारित गरिएको हो ।

पर्यटन ऐनमा प्रदेशमा दर्ताविना ट्राभल तथा ट्रेकिङ व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ । पर्यटनसँग सम्बन्धित व्यवसाय विनादर्ता सञ्चालन गरे प्रदेश सरकारले कारबाही गर्नेछ । दर्ताविना पर्यटन व्यवसाय गर्नेलाई २० हजार रुपैयाँसम्म जरीवाना हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

ऐनको दफा ३ को उपदफा १ मा प्रदेशभित्र ट्राभल वा ट्रेकिङ एजेन्सीको काम गर्न चाहने व्यक्ति तथा संस्थाले इजाजत लिनुपर्ने व्यवस्था छ । ट्राभल वा ट्रेकिङ एजेन्सीको इजाजत बढीमा ६ महीनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ । तर, मन्त्रालयले इजाजत निलम्बन गर्नुअघि स्पष्टीकरण पेश गर्न सम्बन्धित ट्राभल वा ट्रेकिङ एजेन्सीलाई २१ दिनको म्याद दिनुपर्नेछ ।

ऐनले पर्यटक प्रहरीसम्बन्धी व्यवस्था समेत गरेको छ । ऐनको दफा ३० मा पर्यटकीय क्षेत्र र आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षासम्बन्धी काम गर्न मन्त्रालयले प्रदेश प्रहरीसँग समन्वय गरी पर्यटक प्रहरीको व्यवस्था गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरी ऐनमा पर्यटकको सुविधालाई ध्यानमा राख्दै प्रदेश सरकारले आफैले गाडी किनेर सञ्चालन गर्न पाउनेगरी ऐन ल्याएको छ । पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको प्रदेश सरकारले पर्यटकलाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन पर्यटक यातायात सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

प्रदेशभित्रका ट्राभल तथा ट्रेकिङ, होटल, लज, रेस्टुराँ तथा पर्यटन सम्बन्धी अन्य व्यवसायको नाम राष्ट्रिय विभूतिको नामसँग जोडेर राख्न पाइनेछैन । व्यवसायको नाम वा लोगो, चिह्न पहिले दर्ता भइसकेको कुनै व्यवसायसँग मिल्नेगरी राख्न नपाउने ऐनमा व्यवस्था गरिएको छ ।

विदेशी पर्यटकलाई सेवा दिँदा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने भएको छ । विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउँदा नेपाल राष्ट्र बैंकले तोकेको दरमा विदेशी मुद्रामा भुक्तानी हुनेगरी कारोबार गर्नुपर्ने व्यवस्था ऐनमा छ । इजाजतप्राप्त ट्राभल वा ट्रेकिङ एजेन्सीले उपलब्ध गराएको सेवासुविधाबापत पर्यटकबाट लिइने शुल्कको दर र विवरण सम्बन्धी सूचना मन्त्रालयलाई दिनुपर्नेछ ।

यसैगरी पथप्रदर्शक (ट्रेकिङ गाइड)को काम गर्ने व्यक्तिले मदिरा सेवन गर्न नपाइने व्यवस्था ऐनले गरेको छ । ऐनको दफा १४ देखि १९ सम्म पथप्रदर्शकसम्बन्धी व्यवस्था छ । पथप्रदर्शकले आफ्नो इजाजतपत्र अरूलाई दिन नहुने पनि ऐनमा उल्लेख छ । कसैले गलत कार्य गरेमा इजाजतपत्र खारेज हुनेछ ।

होटल, लज, रेस्टुराँहरू दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्नेछ । होटल, लज, रेस्टुराँ, रिसोर्ट, बार लगायत व्यवसायको स्तर निर्धारण गरिनेछ । त्यसका लागि विभागीय मन्त्रालयका पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा प्रदेश पर्यटन बोर्डका प्रतिनिधि, सम्बन्धित जिल्लाको पर्यटन कार्यालयका प्रमुख, मन्त्रालयले तोकेको पर्यटन सम्बद्ध व्यवसायी संस्थाको प्रतिनिधि सदस्य रहनेगरी स्तर निर्धारण समिति गठन गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement