ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बैंक सञ्चालक : नीति निर्माणभन्दा कर्जा स्वीकृतिमा चासो,जोखिम व्यवस्थापनमा छैन ध्यान

२०७९ साउन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले बैंक सञ्चालनसम्बन्धी नीति निर्माण तथा जोखिम व्यवस्थापनभन्दा कर्जा स्वीकृतिलगायत व्यावसायिक काममा बढी चासो दिने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा गतवर्ष गरेको अनुगमनको प्रतिवेदनमा सञ्चालकहरू ऋण स्वीकृत गर्नेजस्ता व्यावसायिक क्रियाकलापमा सहभागी भएको लगायत त्रुटि औंल्याएको छ ।

प्रतिवेदनमा बैंकहरूले ऋणको आवश्यकता र किस्ता तिर्न सक्ने क्षमता मूल्यांकन नगरी कर्जा प्रवाह गरेकाले त्यसमा जोखिम बढेको उल्लेख छ । बैंकहरू धितोमा आधारित कर्जा प्रवाहमा बढी केन्द्रित छन् । 

प्रतिवेदनमा बैंकहरूले कोभिड महामारीबाट प्रभावित ऋणीलाई दिएको सुविधासमेत दुरुपयोग भएको उल्लेख गरिएको छ । कोभिडप्रभावित उद्योगलाई सञ्चालन पूँजी उपलब्ध गराए पनि उक्त रकम ऋण तिर्नका लागि प्रयोग भएको छ । 

राष्ट्र बैंकले गत आर्थिक वर्षमा सातओटा बैंकहरूको स्थलगत सुपरिवेक्षण गरेको थियो । त्यसमध्ये आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स, सेञ्चुरी, सिभिल र ग्लोबल आइएमई बैंकको र चोथो त्रैमासमा बैंक अफ काठमाण्डू, लक्ष्मी र नबिल बैंकको स्थलगत सुपरिवेक्षण गरेको छ ।

केन्द्रीय बैंकले गत आर्थिक वर्षमै पाँचओटा बैंकको विशेष स्थलगत सुपरिवेक्षण गरेको जानकारी दिएको छ । त्यसमा दोस्रो त्रैमासमा नेपाल बंगलादेश, प्राइम र मेगा, तेस्रो त्रैमासमा सिद्धार्थ तथा चौथो त्रैमासमा एनसीसी बैंकको सुपरिवेक्षण गरेको थियो । 

सुपरिवेक्षण प्रतिवेदनमा कर्जाको जोखिम भारको सही लेखांकन नगरेको, बैंकहरूको जोखिमअनुसार प्राथमिक पूँजीको व्यवस्थापन नभएको लगायत त्रुटि औंल्याइएको छ । बैंकहरूले जोखिम व्यवस्थापन नीति बनाए पनि कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्ने बताइएको छ ।

गत आर्थिक वर्षमा बैंकहरूमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च गरेकाले लगानीयोग्य पूँजी (तरलता) अभाव भएको र यसबाट बैंकहरूलाई कर्जा–निक्षेप अनुपात कायम गर्नसमेत गाह्रो भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकको नियमित प्रक्रियाअन्तर्गत बैंकहरूको सुपरिवेक्षण भएको र भेटिएको त्रुटि सुधार्न निर्देशन दिइएको प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘राष्ट्र बैंकको सुपरिवेक्षणमा त्रुटि भेटिएमा त्यसलाई सुधार गर्न तत्काल निर्देशन दिन्छौं,’ उनले भने, ‘त्यसपछि पनि सुधार नभए थप कारबाही हुन्छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement