ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

थपिँदै छ १७३ ट्रेकिङ पिक

२०७९ साउन, १६  
लेख | दृष्टिकोण
Image Not Found

नेपाल सरकारले १७३ ओटा ससाना (ट्रेकिङ पिक) हिमाल विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका लागि खुला गर्दै छ । हुन पनि केही समयअघि नयाँ पर्यटनमन्त्री नियुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा पर्यटनसम्बन्धी विविध कार्यक्रम ल्याउने भनी जानकारी गराएका थिए । गएको आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन पुनरुत्थान गर्न कार्ययोजना सार्वजनिक गरेको छ । उक्त कार्ययोजनामा ७३ ओटा कार्यक्रम समेटिएका छन् । त्यसमा नेपालका नयाँ हिमाल खुला गर्ने योजना पनि परेको छ । कार्ययोजनाअनुसार आगामी ६ महीनाभित्र नेपालमा रहेका ५ हजार मीटरभन्दा अग्ला लगभग १ हजार ७ सय हिमालमध्ये १७३ ओटा थप नयाँ हिमाल पर्वतारोहीहरूका लागि आरोहण गर्न खुला गरिनेछ ।

नेपाल सरकारले खोल्ने नयाँ १७३ ओटा हिमालले नेपालको पर्यटन उद्योगमा थप टेवा दिने छ । लामो समय नेपालमा बिताउन नसक्ने र धेरै पैसा खर्च गर्न पनि नसक्ने पर्वतारोहीका लागि खुला हुन लागेका ससाना हिमाल (ट्रेकिङ पिक) ले पर्यटकको संख्या बढाउनेछ ।

अहिलेसम्म विश्वमा मान्यताप्राप्त १४ ओटा हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । ती १४ ओटा ८ हजार मीटरभन्दा अग्ला हिमालमध्ये ८ ओटा त हाम्रै देश नेपालमा रहेका छन् । उता ढिलो चाँडो ८ हजार मीटरभन्दा माथिका हिमाल बढेर चाँडै २० ओटा हुँदै छन् । त्यसरी थपिने ६ ओटै हिमाल संयोगले नेपालमै रहेका छन् । नेपालमा ७ हजार ५ सय मीटरदेखि ८ हजार मीटरमुनिका हिमाल ४० ओटा रहेका छन् भने ६ हजार मीटरदेखि ७ हजार ५ सय मीटरसम्मका १ हजार २५३ ओटा हिमाल पनि नेपालमै रहेका छन् ।

यसरी हेर्दा ‘हिमाल हाम्रो शान’ भएको छ । त्यसैले यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहास र थोरै सगरमाथाको नाम र उचाइबारे पनि लेख्ने प्रयास गरिएको छ । ऊ बेलाको समयमा ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औं चुली’लगायत डेढ दर्जनभन्दा बढी नामको चर्चा भएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमाल अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरूले ‘चोमोलुङमा’ भनी लेखेको/बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । माथिका विभिन्न नाममध्ये केही नाम ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो भने ‘चोमोलुङमा’को नेपाली नाम सगरमाथा नामचाहिँ इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।

त्यस्तै ‘चोमोलुङमा’को उचाइका सम्बन्धमा पनि शुरूमा एक रूपता थिएन । कहिले ८ हजार ८८८ मीटर, कहिले ८ हजार ८४० मीटर, कहिले ८ हजार ८५० मीटर, कहिले ८ हजार ८७२ मीटर, कहिले ८ हजार ८४४.४३ मीटर, कहिले ८ हजार ८४८ मीटर आदि भनी प्रचारमा ल्याइने गरिन्छ । यस्तो काम बढी जसो यूरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोही र लेखकहरूले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै र मान्यता दिँदै आएको उचाइ ८ हजार ८४८ मीटर जुन छ, त्यो सन् १९५४ मा सर्वे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाइ थियो ।

स्मरणीय छ, चीनतर्फबाट सगरमाथा चढ्ने पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा अझै पनि (पोहोरसम्म) ८ हजार ८४४ मीटरकै प्रमाणपत्र दिने गरेको थियो । यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’मा ८ हजार ८४८.८६ मीटर सगरमाथाको नयाँ उचाइ कायम भएकाले गर्दा अबका दिनमा चीनतर्फबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई पनि चीन सरकारले दिने प्रमाणपत्रमा ८ हजार ८४८.८६ मिटर नै कायम होला भन्ने आशा गर्न सकिन्छ । गत मेको सिजनमा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको नापजाँच गरिसकेको छ । त्यसो त सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मीटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मीटर लेखिएको छ भने एक पे्रmन्च जोडीले लेखेको किताबमा सगरमाथाको उचाइ ८ हजार ८४२ मीटर लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, त्यस वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले सगरमाथाको शिरमा पाइला राख्न पहिलोपटक सफल भएका थिए । यही त्यहाँ मानवको पहिलो पाइला थियो ।

त्यसअघि सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जीलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हँुदै नेपालतर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् ।

अन्त्यमा आशा गरौं, नेपाल सरकारले खोल्ने नयाँ १७३ ओटा थप हिमालले नेपालको पर्यटन उद्योगमा थप टेवा दिनेछ । खासगरी आजको जस्तो व्यस्त जीवनमा लामो समय नेपालमा बिताउन नसक्ने र धैरै पैसा खर्च गर्न पनि नसक्ने पर्वतारोही तथा पर्यटकका लागि नयाँ खुला हुन लागेको ससाना हिमाल (ट्रेकिङ पिक) ले हाम्रो देशमा घुम्न आउने विदेशी पर्यटक तथा पर्वतारोहीहरूको संख्या अरू बढ्नेमा कुनै शंका छैन ।

लेखक पर्यटनकर्मी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement