ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैदेशिक व्यापारको दिशानिर्देश

यसरी कम गर्न सकिन्छ उच्च व्यापारघाटा

२०७९ साउन, १६  
लेख | दृष्टिकोण
Image Not Found

आँकडाले अंक मात्र बोल्दैन परन्तु भावी दिशाबारे पनि निर्देश गरिरहेको हुन्छ । तथ्यांकभित्र एउटा मौन भाषा अन्तर्निहित रहेको हुन्छ । त्यस मौन भाषालाई डिकोड गरेपछि जे सन्देश प्राप्त हुन्छ त्यही सन्देश नै मुलुकको वास्तविक वाणिज्य नीति हो । भन्सार विभागबाट प्रकाशित नेपालको वैदेशिक व्यापार (वस्तु) ले पनि यही संकेत गरेको छ ।

रू. २ खर्बमाथि पुगेको निर्यात व्यापार पुनः खर्बमुनि झर्न नपर्ने स्थिति सृजना गर्न चीन र भारतसँगको निर्यातमा हुने उतारचढावलाई उच्च नेतृत्व तहबाट सम्बोधन हुन जरुरी छ ।

भन्सार विभागले कुल रू. २ खर्बको निर्यात, रू. १९ खर्बको आयात तथा रू. १७ खर्बको व्यापारघाटासहित आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालको वैदेशिक व्यापार तथ्यांक (वस्तु) हालै प्रकाशित गरेको छ । यस तथ्यांकभित्र नेपालको वैदेशिक व्यापारका केही विशेष चित्र विद्यमान छन् जो यसप्रकार छन् ।

कुल गार्हस्थ्य उत्पादनमा आयातको अंश ३९ दशमलव ५८ प्रतिशत तथा निर्यातको अंश ४ दशमलव १२ प्रतिशतमात्र रहनुले नेपालको वैदेशिक व्यापारको चरित्र आयात गतिविधि उन्मुख हुने क्रममा वृद्धि हुँदै गएको यस तथ्यांकले पुष्टि गर्दै गएको छ । केन्द्रीय तथ्यांक विभागबाट प्रकाशित नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गरी हेर्दा आव २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा आयातको अंश ३९ दशमलव ५८ प्रतिशत रहेको छ जबकि यो अंश आव २०७७/७८ मा ३६ प्रतिशत मात्र थियो । यसै गरी कुल गार्हस्थ्य उत्पादनमा निर्यातको अंश आव २०७७/७८ मा ३ दशमलव ३० प्रतिशत रहेकोमा आव २०७८/७९ मा त्यो अनुपात ४ दशमलव १२ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा कुल गार्हस्थ्य उत्पादनमा व्यापारघाटाको अंश ३२ दशमलव ७० प्रतिशतबाट बढेर ३५ दशमलव ४६ प्रतिशत पुगेको छ । यसरी नेपालको कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापारको अंश समीक्षा अवधिमा ३९ दशमलव ३० प्रतिशतबाट बढेर ४३ दशमलव ७१ प्रतिशत पुगेको छ । मुलुकमा उत्पादनका क्रियाकलापहरूमा ह्रास आउँदा र आयातको स्रोत व्यवस्थापन विप्रेषण, वैदेशिक ऋण र सहायताबाट गर्नुपर्ने अर्थतन्त्रमा यस्तो प्रकारको आर्थिक सूचकहरू देखा पर्ने गर्छन् ।

तैपनि नेपालको आयात व्यापार मुलुकमा औद्योगिक क्रियाकलाप वृद्धि गर्ने चरित्रको रहेको छ । नेपालको कुल आयातमा करीब ६२ दशमलव ६ प्रतिशत अंश औद्योगिक कच्चा पदार्थ र पूँजी निर्माणका मेशिनरीलगायत सामान रहेको सन्दर्भमा नेपालको आयातले औद्योगिक गतिविधिहरू वृद्धि गर्न भूमिका खेलिरहेको देखिन्छ । नेपालको कुल आयातका करीब ३७ दशमलव ४ प्रतिशत अंश मात्र अन्तिम उपभोगका रूपमा आयात हुने गरेको देखिन्छ । यो आयातलाई कुन रूपमा ग्रहण गर्ने र कुन रूपमा नियमन गर्ने भन्ने विषय अहिलेको व्यापार विश्लेषणको प्रमुख विषय बन्न गएको छ ।

नेपालको कुल आयातमा कृषिजन्य उत्पादनको अंश करीब २० प्रतिशतको हाराहारीमा रहेको छ । यो अंश आजभन्दा १४ वर्षपहिले करीब १४ प्रतिशतको हाराहारीमा रहेको थियो । यसरी कुल आयातमा कृषिजन्य वस्तुको अंश बढ्नु अर्को चिन्ताको विषय हुन गएको छ । कृषियोग्य भूमिको विनाश, वैदेशिक रोजगार सृजित कृषि मजदूरको कमी तथा स्वदेशमा कृषि व्यवसायमा रहेको संरचनागत समस्याका कारण यो अवस्था सृजना भएको हो ।

नेपालको आयातमा प्रमुख स्थान ओगटेको अर्को वस्तु पेट्रोलियम पदार्थको आयातमा वृद्धिको क्रम आव २०७८/७९ मा यथावत् रहेको छ । आव २०७७/७८ मा नेपालको कुल व्यापारमा करीब ११ प्रतिशत रहेको पेट्रोलियम पदार्थको आयात आव २०७८/७९ मा भने १७ प्रतिशत बराबर रहेको छ । अन्तरराष्ट्रिय जगत्मा भएको मूल्य वृद्धिका कारण यो अंश बढ्न गएको देखिन्छ । वैकल्पिक खपतको योजना नहुँदा यो सृजना भएको हो । यही गति कायम रहेमा मुलुकमा उपलब्ध वैदेशिक मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थको आयातमा खर्च हुने खतरा उत्पन्न भएको छ ।

सारमा भन्नुपर्दा अन्न, तेलहन, दलहन, तरकारी, फलफूल, तयारी खाद्य वस्तु तथा पशु आहार यी ६ ओटा वस्तुको आयात प्रतिस्थापन रणनीति अंगीकार गरी अघि बढ्ने हो भने यस क्षेत्रमा छोटा समयमै आयात न्यून गर्न सकिन्छ । यी क्षेत्रमा प्रयास नगरिएका कारण मात्र ठूलो परिमाणको आयातको अवस्था सृजना भएको हो । उत्पादन वृद्धि, सम्यक् उपभोग, उपभोग नियन्त्रण र वैकल्पिक उपभोगका माध्यमबाट यी ६ ओटा क्षेत्रको आयातलाई व्यवस्थापन गर्न सकिने देखिन्छ । यसो गर्न सकेको खण्डमा कृषिक्षेत्रको विशाल आयातलाई धेरै कम गर्न सकिन्छ ।

कृषिजन्य उत्पादनपछि नेपालको आयात बास्केटमा दोस्रो स्थान ओगटेको पेट्रोलियम पदार्थमा पनि कृषिजन्य वस्तुमा झैं सम्यक् उपभोग, उपभोग नियन्त्रण र वैकल्पिक उपभोगका उपाय प्रयोग गरी यस क्षेत्रमा रहेको आयातलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ । यातायात प्रणाली, पाकशाला र उद्योगको ऊर्जा आपूर्तिलाई विद्युतीय प्रणालीमा लैजाँदा साथ पेट्रोलियम पदार्थको भीमकाय आयातलाई अपेक्षित आकारमा ल्याउन कुनै कठिनाइ छैन । परन्तु यातायात प्रणाली, पाकशाला र उद्योगको ऊर्जा आपूर्तिलाई विद्युतीय प्रणालीमा लिने सम्बन्धमा व्याप्त उदासीनताका कारण मात्र पेट्रोलियम पदार्थको आयातको आकार यसरी विशालकाय हुँदै गएको हो ।

यसै गरी सानोभन्दा सानो प्रयास हुँदा साथ तयारी पोशाक, कपडा, जुत्ता, मार्बल र सेरामिक्स, शृंगारका साधन, कागज, फर्निचर, औषधिजस्ता क्षेत्रमा चाँडै नै आत्मनिर्भर बन्न सक्ने अवस्था विद्यमान छ । विशेष गरी अल्लोलगायत प्राकृतिक रेशालाई वस्त्र उद्योगको मेरूदण्डका रूपमा स्वीकार गर्दै यसको प्रयोगमा संरक्षणका विशेष नीति अंगीकार गर्ने हो भने सिंगो मुलुक वस्त्र क्षेत्रमा आत्मनिर्भर हुन कुनै ठूलो कसरत गरिरहनुपर्ने देखिँदैन । तयारी पोशाक, जुत्ता, फर्निचर औषधि, मार्बल, सेरामिक्स कागज शृंगारका सामग्रीलगायत क्षेत्रमा चोरीपैठारी, न्यून बिलबीजकजस्ता समस्या समाधान गर्दै कोरिडोर अवधारणामा यी उद्योगको विकास गर्न रणनीति अंगीकार गर्ने हो भने यी वस्तुहरूमा आत्मनिर्भर हुन पनि धेरै ठूलो समय र मेहनत लाग्ने देखिँदैन ।

आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा मुख्य निर्यातयोग्य वस्तुमध्ये भटमासको तेल, अलैंची, चिया, टेक्स्टाइल, टुथपेस्ट र सारयुक्त तेलको निर्यातमा ह्रास आएको छ । नेपालको कुल निर्यातमा नवप्रवेशी वस्तुहरू (भटमासको तेल, पामतेल र सूर्यमुखी तेलको अंश करीब ४९ प्रतिशत रहेको छ । भारतमा हुने सानोभन्दा सानो नीतिगत परिवर्तनले पनि यी तीनओटा वस्तुको निर्यातमा तीव्र गतिको उतारचढाव आउने यी वस्तुको निर्यातले नेपालको समग्र निर्यात अवस्थालाई निर्धारण गर्ने गरेको छ ।

नेपालबाट भारत र चीनबाहेकका देशमा निर्यात हुने अधिकांश वस्तुको निर्यातको वृद्धिदर सन्तोषजनक रहेको पाइन्छ । तुलनात्मक रूपमा मूल्ययोग राम्रो रहेका र आर्थिक लाभको वितरण पनि राम्रो रहेको सन्दर्भमा आव २०७८/७९मा यो सकारात्मक पक्ष रहेको देखिन्छ ।

परन्तु वर्तमान रू. २ खर्बमाथि पुगेको निर्यात व्यापार पुनः खर्बमुनि झर्न नपर्ने स्थिति सृजना गर्न चीन र भारतसँगको निर्यातमा हुने उतारचढावलाई उच्च नेतृत्व तहबाट सम्बोधन हुन जरुरी छ । भारततर्फ गैरभन्सार अवरोधहरूको उचित समाधान निकाल्न सकेको खण्डमा यसतर्फका निर्यातका अनिश्चितताहरू अन्त्य हुने देखिन्छ । यसैगरी चीनतर्फ नाकाहरूको सहज सञ्चालन मात्रै हुन सकेको खण्डमा चीनतर्फको निर्यातमा रहेको वर्तमान व्यवधानको पनि समस्या समाधान हुने देखिन्छ ।

यूरोप, अमेरिका, जापान, द.कोरिया लगायत विकसित देशहरूमा गुणस्तरका प्रावधानहरूको सम्बोधन हुन सकेको खण्डमा ती देशमा वर्तमान समयमा स्थिर रहेको निर्यातमा वृद्धि गर्न सकिने सम्भावना अधिक रहेको छ । यसका लागि मुलुकभित्रका गुणस्तर प्रमाणीकरण निकायहरूको क्षमता अभिवृद्धि गर्न जरुरी छ । यीबाहेकका मुुलुकमा विद्यमान भुक्तानीजन्य समस्यालाई जीटुजी विधिबाट व्यापार सञ्चालन हुने मोडबाट समाधान गरी ती देशमा नेपालको निर्यात प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको छ ।

समग्रमा भन्नुपर्दा स्वदेशी उद्योगको संरक्षण, उत्पादन वृद्धि, आयात व्यवस्थापन, वैकल्पिक उपभोग तथा अनावश्यक उपभोग नियन्त्रणका माध्यमबाट वर्तमान भीमकायी आयातलाई धेरै हदसम्म न्यून गर्न सकिने देखिन्छ । दोस्रो भारत र चीनमा राजनीतिक पहलकदमी, विकसित मुलुकमा गुणस्तरयुक्त क्षमता अभिवृद्धि तथा अन्य मुलुकमा जीटुजीका माध्यमबाट निर्यात व्यापार गर्ने रणनीति अंगीकार गर्ने हो भने नेपालको वर्तमान निर्यात व्यापारमा गुणात्मक वृद्धि हुने देखिन्छ । भन्सार विभागबाट हालै प्रकाशित नेपालको वैदेशिक व्यापारको सन्देश यही नै हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement