काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले आइतवार चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका हुन् । राजदूत मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थिति सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्रले छिट्टै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवालले श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतीपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको बताए । सार्क, बिम्स्टेकजस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुई मुलुकबीच व्यापारका लागि अझै पनि ठूलो सम्भावना रहेको अग्रवालले बताए ।
राजदूत मिश्रले श्रीलंकाको अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफूले पनि आशा गरेको बताए । श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।