ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अलपत्र

२०७९ साउन, १६  
प्रदेश ०१
NA

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग हुने उक्त सडक ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीयको गुनासो छ ।

मध्यपहाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी र सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने सडक अहिले हिलो र खाल्डाखुल्डीले अवरुद्ध छ ।

भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दा समेत सडक कालोपत्रको काम पूरा नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।

रू. ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको बताएको छ । देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको भौतिक प्रगति करीब ५९ प्रतिशत भएको सडक विभागको अनुमान छ ।

रू. ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्र सम्पन्न गर्ने शर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने अपेक्षा रहेको उक्त सडकको निर्माणको काम गत चैतदेखि ठप्प छ ।

शुरूदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत प्रशन उठेको छ । महुरे–सिम्पानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा २०७६ पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइ दिएका थिए ।

सडकको काममा चरम ढिलासुस्ती भएको, काम गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीयले २०७६ पुस २० गतेदेखि सडक निर्माणको काम ठप्प पारेका थिए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement