ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गौतमश्री सहकारी समस्याग्रस्त, बचतकर्ताकाे उजुरीपछि सम्पत्ति रोक्का राख्न सहकारी विभागले गर्‍याे पहल

२०७९ साउन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बचतकर्ताको रकम फिर्ता दिन नसक्दा काठमाडौंको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त भएको छ । संस्थाका अध्यक्ष रामबहादुर गौतम सम्पर्कविहीन भएपछि कारबाहीको माग गर्दै आइतवार बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् । बचतकर्ताको उजुरीका आधारमा विभागले सहकारी संस्था, उसले सञ्चालन गरेको डिपार्टमेन्ट स्टोरलगायत चल–अचल सम्पत्ति बेचबिखन गर्न नदिन र सञ्चालकको नाममा रहेको बैंक खाता रोक्का गर्न प्रहरीलाई अनुरोध गरेको छ । 

‘संस्थाको चल–अचल सम्पत्ति रोक्का राख्न तथा सञ्चालकहरूलाई विभागमा उपस्थित गराउन हामीले प्रहरीमा अनुरोध गरेका छौं,’ विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले भने, ‘पीडितको उजुरीमा आधारमा थप कारबाही अघि बढाउन सिफारिश गर्छौं ।’

सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बचतकर्ताको रकम फिर्ता दिन नसक्ने सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउने व्यवस्था छ । सदस्यहरूबाट उजुरी परिसकेको अवस्थामा थप अध्ययन र सञ्चालकहरूसँग छलफलपछि मात्र थप प्रक्रिया अघि बढाउने विभागले बताएको छ । यसअघि सरकारले ओरेन्टलसहित एक दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि समितिले हालसम्म कुनै पनि सहकारीको सम्पत्ति तथा दायित्व फरफारक गर्न सकेको छैन । 

सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी रहेको भवन एभरेस्ट बैंकले शिल गरिसकेको छ । अध्यक्ष गौतमको निजी व्यवसाय तथा भवनमा पनि बैंकको लगानी छ । डिपार्टमेन्ट स्टोर र मेशिनरी सामानको गोदाम र कार्यालयसमेत रहेका कारण शिल गरेको भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ ।

संस्थाले लामो समयदेखि साधारणसभा नगरेको र विभागमा प्रतिवेदनसमेत नबुझाएका कारण उसको कारोबारका विषयमा सरकारी निकायलाई जानकारी छैन । सदस्यहरूका अनुसार अध्यक्ष गौतमले संस्थाको पैसा निजी व्यवसाय र घरजग्गामा लगानी गरेकाले समस्या देखिएको हो । उनले गौतमश्री डिपार्टमेन्ट स्टोर, डेरीका साथै काभ्रेमा गाई फार्म सञ्चालन गरेका छन् । यस्तै विदेशबाट विभिन्न मेशिनरी सामान आयात र विक्रीमा पनि अध्यक्ष गौतम सक्रिय छन् । 

पछिल्लो समय तरलता अभावका कारण सहकारीमा समस्या बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह रोकेपछि सहकारीमा पनि तरलताको अभाव बढेकाले कतिपय संस्था सदस्यलाई बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement