ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घरजग्गाको बृहत्तर विकासमा सरकारले गरेको सहयोग पर्याप्त छैन : राजभण्डारी

२०७९ साउन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली रियल इस्टेट क्षेत्रको व्यावसायिक समूह बृहत् ग्रूपका अध्यक्ष ओम राजभण्डारीले घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउन सरकारले समयसापेक्ष नीति निर्माण गर्नुपर्ने बताएका छन् । आइतवार आर्थिक अभियानसँग कुराकानी गर्दै उनले घरजग्गाको बृहत्तर विकासका लागि सरकारले सहयोग गरेको तर त्यो पर्याप्त हुन अझै बाँकी रहेको बताए ।

जग्गा कित्ताकाट खोल्ने/नखोल्ने विषयमा सरकारले स्पष्ट नीति ल्याए घरजग्गाको मूल्य स्थिर हुने उनको भनाइ छ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन भनेर ल्याएका नीति कार्यान्वयन मात्रै गरिदिए पनि पुग्ने उनको भनाइ छ । नीति कार्यान्वयन गर्ने निकाय सशक्त नहुँदा घरजग्गाको मूल्य आकाशिएको राजभण्डारीले बताए ।

‘घरजग्गा व्यवसायको कारोबार व्यवसायीबाट मात्र गर्ने व्यवस्था सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरिसकेको छ,’ उनले भने, ‘तर, यो व्यवस्था कार्यान्वयन हुनेमा भने अझै आशंका छ ।’

आफैले केही गर्नुपर्छ भन्ने धारणा बोकेका राजभण्डारीले सन् १९९२ मा बहुराष्ट्रिय कम्पनीको रोजगारी छाडेर ६ जनाको सहकार्यमा डी वर्गको सीई कन्स्ट्रक्शन स्थापना गरेको सुनाए । कम्पनी स्थापनाको केही समयमै लुम्बिनीमा विद्युत् ट्रान्समिशन लाइनको काम पाएको र अनुभव नहुँदा पनि सफलतापूर्वक सम्पन्न गरेको उनको भनाइ छ ।

राजभण्डारीका अनुसार कम्पनीले स्थापनाको ९ वर्षपछि काठमाडौंको सीतापाइलामा विभिन्न चरणमा ३४ रोपनी जग्गामा ७६ ओटा भवन निर्माण गरी हाउजिङ व्यवसाय अघि बढायो । यो प्रोजेक्ट शुरू गर्दा ग्राहकलाई हाउजिङबारे बुझाउन २ वर्ष लागेको उनको अनुभव छ । सीतापाइलाको प्रोजेक्ट सफल भएपछि थप साहस बटुलेका उनले बूढानीलकण्ठमा २८ रोपनीमा ४२ ओटा घर निर्माण शुरू गरे । दोस्रो प्रोजेक्ट पनि सफल भएपछि उनले इचंगुमा अर्को शुरू गरे । यसअन्तर्गत पहिलो चरणमा ५९ ओटा विभिन्न प्रकारका घर निर्माण गरे । ‘ती घर त ग्राहकले रातभर लाइनमा बसेर बुक गरे,’ उनले भने । त्यतिखेर कम्पनीप्रति बढ्दो भरोसा र घरको गुणस्तरका कारण चिट्ठा प्रणालीबाट विक्री गर्नुपरेको उनको अनुभव छ । 

काठमाडौंबाहिरका शहरमा पनि हाउजिङ व्यवसाय विस्तार गर्नुपर्छ भन्ने सोचले धरानमा शुरू गरेको प्रोजेक्ट भने अपेक्षाकृत सफल हुन नसकेको उनले बताए । त्यहाँ उनको कम्पनीले १५ ओटा घर निर्माण गरेको थियो । शुरूमा नबिकेका घर पछि विक्री भएको राजभण्डारीले बताए । उनका अनुसार नेपालमा समुदायमा आधारित हाउजिङ व्यवसाय सफल भए पनि भर्टिकल (अग्ला) अपार्टमेन्ट विक्रीमा केही समस्या छ ।

सरकारले छूट सुविधा दिने हो भने गैरआवासीय नेपालीले स्वदेशमा लगानी बढाउने उनको बुझाइ छ । ‘सुविधा बढ्यो भने विदेशमा बस्नेले घरजग्गा पनि किन्छ, सरकारको राजस्वमा पनि वृद्धि हुन्छ,’ राजभण्डारीले भने । 

उनले नेतृत्व गरेको बृहत् ग्रूपअन्तर्गत बृहत् इन्भेस्टमेन्ट्स, बृहत डेभलपर्स एन्ड बिल्डर्स, पायोनियर बिल्डर्स एन्ड डेभलपर्स, बृहत् प्रोपर्टी सोलुसन्स, स्वयम्भू होटेल्स एन्ड अपार्टमेन्ट र आन्त्रप्रेरणा गरी ६ ओटा कम्पनी सञ्चालनमा छन् ।

उनका अनुसार बृहत् ग्रूपअन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी आन्त्रप्रेरणाले उद्यमशील व्यक्तिलाई व्यवसाय सञ्चालन तथा सफलताका लागि आवश्यक वित्तीय सहायतादेखि व्यवस्थापन, मेन्टरशीप, व्यवसाय अभिवृद्धिलगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादन गर्ने उद्देश्य राखेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement