काठमाडौं । दुग्धजन्य पदार्थ उत्पादन र विक्री वितरणमा संलग्न सीताराम गोकुल मिल्क्स प्रालिले करीब १५ करोड रूपैयाँको लगानी थपेर उत्पादनको विविधीकरण र सेवा विस्तार गर्ने तयारी गरेको छ ।
लामो समयदेखि दूध संकलन, प्रशोधन तथा दुग्धजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्दै आएको कम्पनीले आफ्ना उत्पादनमा उपभोक्ताको पहुँच अझ सहज बनाउन यसअघि नै काठमाडौंको कुलेश्वरमा विक्री केन्द्र खोलेको छ ।
सोमवारदेखि कम्पनीले कीर्तिपुरको नयाँ बजारमा विक्री केन्द्र सञ्चालनमा ल्याउँदै छ । त्यहाँबाट सीतारामका घ्यू, पनिर, फ्लेभर्ड मिल्क, दही विक्री गर्ने योजना छ । त्यहाँ कम्पनीले क्याफे पनि सञ्चालन गर्नेछ । चिया, कफी र अन्य डेरी उत्पादन विक्री केन्द्रमै बसेर खान सकिने कम्पनीको भनाइ छ ।
क्याफेसहितको विक्री केन्द्र स्थापनाका लागि कम्पनीले करीब १५ लाख रूपैयाँ खर्च गरेको अध्यक्ष सुमित केडियाले बताए । ‘अब चाँडै नै काठमाडौं उपत्यकाभित्रका हरेक टोलमा सीतारामका उत्पादन पुर्याउने गरी विक्री केन्द्र खोल्ने योजना छ,’ केडियाले भने, ‘त्यसका लागि धेरै काम बाँकी रहेकाले कुन–कुन स्थानमा खोल्ने अहिले नै बताउन सकिँदैन ।’
सीताराम गोकुल मिल्कसले आफ्ना उत्पादनमा उपभोक्ताको पहुँच बढाउन अन्य डेरी सञ्चालकलाई आफ्नो फ्रेन्चाइज पनि दिइरहेको छ । हालसम्म कालीमाटी, पाटन, लाजिम्पाट र चाबहिलमा गरी चारओटा डेरीले सीतारामको फ्रेन्चाइज लिइसकेका छन् ।
कम्पनीले आगामी जनवरीदेखि नयाँ परिकार उत्पादन गर्ने योजना बनाएको छ । पछिल्लो समय उपभोक्ताले नै सीतारामका अन्य उत्पादन माग गरेकाले सोहीअनुसार योजना बनेको केडियाको भनाइ छ । पहिलो चरणमा परीक्षणका रूपमा कम्पनीले सानो परिमाणमा दही, लस्सी, आइसक्रिम, पनिर, फ्लेभर्ड मिल्क, छुर्पीलगायत वस्तु उत्पादन गरी बजारमा पठाइसकेको छ । बजारबाट सकारात्मक प्रतिक्रिया आएकाले अब चाँडै नै ठूलो परिमाणमा उत्पादन गर्ने योजना रहेको केडियाले सुनाए । सीतारामको उत्पादन प्लान्ट कीर्तिपुरको भत्क्यापाटीमा छ ।
नयाँ उत्पादन र विक्री केन्द्र विस्तारको कुल लागत करीब १५ करोड रूपैयाँ पुग्ने केडियाको भनाइ छ । नयाँ उत्पादन थप गरेसँगै कम्पनीले १० प्रतिशत जनशक्ति पनि थप्नेछ । अहिले यसका लागि विदेशबाट प्रविधि भित्र्याउने, जनशक्ति थप्ने र विज्ञसँग छलफलको काम भइरहेको छ ।
२५ वर्षअघि कारोबार शुरू गरेको यो उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब साढे ४ सयले रोजगारी पाएका छन् । चितवन, रूपन्देही, नवलपरासी, काभ्रे, मोरङ, बारा र सर्लाहीलगायत जिल्लाका १ लाख परिवार किसान कम्पनीसँग जोडिएका छन् । सीताराममार्फत दैनिक करीब २४ लाख रूपैयाँ गाउँ जान्छ । कम्पनीले करीब २ करोड रूपैयाँको लगानीमा रिर्सच एन्ड डेभलप्मेन्ट ल्याबसमेत स्थापना गरेको केडियाले जानकारी दिए ।