ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

युक्रेनबाट छुट्याे २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ? 

२०७९ साउन, १६  
अन्तरराष्ट्रिय
Image Not Found
ओडेसा बन्दरगाह । फाइल तस्वीर ।

ओडेसा (युक्रेन) । रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेकाे छ । टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो ।

युक्रेनमाथि रुसले फेब्रुअरीकाे अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो । यसको प्रभावले विश्वभर गहुँ, भटमास, मकैलगायत अन्नको आपूर्ति प्रभावित भएर भाउ अकासिएकाे थियो । संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा केही दिनअघि मात्रै सम्झौतामा हस्ताक्षर भएको थियो ।

बन्दरगाहबाट ढुवानी सुचारु भएपछि विश्वव्यापी खाद्य संकट मत्थर हुने र अन्नको भाउ पुनः ओरालो लाग्ने आशा बढेको छ । सम्झौताअन्तर्गत इस्तानबुलमा स्थापित संयुक्त सहकार्य केन्द्र (जेसीसी)का अनुसार जहाजले करीब २६ हजार टन मकै बोकेको छ । जहाज मंगलवार टर्कीको जलक्षेत्रमा निरीक्षणका लागि आइपुग्ने अपेक्षा गरिएको छ ।

बन्दरगाहबाट निर्यात फुकुवा भएपछि अन्न निर्यातबाट युक्रेनले कम्तीमा पनि १ अर्ब डलर विदेशी मुद्रा आर्जन गर्ने र यसले आगामी वर्ष कृषि क्षेत्रमा योजनाको अवसर दिएको युक्रेनका पूर्वाधारमन्त्री आलेक्जान्डर कुब्राकोभले फेसबुक पोष्टमा लेखेका छन् । आगामी हप्ताहरूमा ओडेसाबाट अन्न निर्यातका लागि १६ ओटा जहाज कुरिरहेको पनि उनले बताएका छन् ।

गत महीना रुस र युक्रेनबीच १२० दिनका लागि अन्न निर्यात सम्झौता भएको थियो । दुवै पक्ष सहमत भए सम्झौताको म्याद थप बढाउन सकिने बताइएको छ । युक्रेनी अन्न निकासी हुन नसक्दा विश्वभर गहुँबाट बनेका पाउरोटी, पास्ता लगायत खानेकुराको भाउ महँगो बनेकाे छ । साथै खाने तेल र मलखादको भाउ पनि अकासिएकाे छ । 

सम्झौताअनुसार रुसले अन्न बोेकेका जहाजमा ढुवानी भइरहँदा वा जलमार्गमा रहँदा बन्दरगाहलाई निशाना बनाउने छैन । जहाजमा हातहतियार तस्करी भएको छ कि छैन भनेर रुसको आशंका साम्य पार्न टर्कीले जहाजको निरीक्षण गर्नेछ । दक्षिणी युक्रेनका ओडेसा, चोर्नोमोस्र्क र पिभ्डेन्नीस्थित बन्दरगाहबाट अन्न निर्यात हुनेछ ।

सम्झौतामा हस्ताक्षर भएको एक दिन पनि नबित्दै रुसले ओडेसा बन्दरगाहमा दुई ओटा मिसाइल प्रहार गरेपछि सम्झौता पूरा नहुने भय बढेको थियो । रुसले फेरि पनि आक्रमण गर्ने भय भए पनि जहाज ढुवानीको खबरले केही राहत दिएको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement